३५ देशबाट अमेरिका आउनेलाई भिसा प्रतिबन्ध जारी राखेकोमा बाइडेन प्रशासनबिरुद्ध मुद्दा


प्रकाशित मिति : चैत्र २७, २०७७ शुक्रबार

३५ देशबाट अमेरिका आउनेलाई कोरोना महामारीका कारण भिसा प्रतिबन्धहरु जारी राखेकोमा बाइडेन प्रशासनबिरुद्ध मुद्दा दायर गरिएको छ । कोरोनाको महामारी कारण ती देशबाट अमेरिकाका लागि विभिन्न श्रेणीम भिसा स्थगन जारी राखिएकोमा आप्रवासी अधिकारका लागि संयुक्त गठबन्धनका तर्फबाट मुद्दा दायर गरिएको हो ।

यो नीतिलाई ट्रम्पले सुरुवात गरेका थिए भने बाइडेनले निरन्तरता दिएका थिए । बाइडेनले सुचीमा दक्षिण अफ्रिकालाई समेत थपेर कोरोना महामारी सम्बन्धित उक्त भिसा रोकलाई निरन्तरता दिएका थिए । यो मुद्दा झण्डै २ सय जनाका तर्फबाट दायर गरिएको हो । जसमा कामका लागि अमेरिका आउन चाहनेहरु र परिवारलाई भेट्न आउनेहरु समेत रहेका छन् ।

राष्ट्रपतिसँग कोरोनाको महामारीका कारण अमेरिका प्रवेशमा रोक लगाउनसक्ने अधिकार भएपनि भिसा जारी गर्नमा नै रोक लगाउने आवश्यक नभएको वकिलहरुको तर्क रहेको छ । अमेरिकी विदेश मन्त्रालय र ह्वाइटहाउसले यो मुद्दाबारे कुनै प्रतिकृया जनाएको छैन ।

कोरोनाको महामारीका कारण विभिन्न देशबाट आउनेहरुलाई ६ वटा श्रृंखलाबद्ध कार्यकारी आदेशबाट रोक लगाइएको हो । जसमध्ये ५ वटा ट्रम्पले र एउटा बाइडेनले हस्ताक्षर गरेका थिए । इरान, युरोपका २६ वटा देशहरु र दक्षिण अफ्रिका यसमा समावेश छन् ।

यसैबीच अमेरिकी विदेशमन्त्रालयले यो प्रतिबन्धमा केही छुटहरुको घोषणा गरेको छ । ब्राजिल, चीन, इरान, आयरल्याण्ड, युरोपका शेंगेन देशहरु, साउथ अफिका र बेलायतमाथि लगाइएको कोरोना यात्रा प्रतिबन्धका सन्दर्भमा छुटहरुको घोषणा गरेको छ । जस अन्तरगत नयाँ नीति अन्तरगत आप्रवासी र मंगेतर भिसाका लागि छुट दिइएको छ । त्यस्तै निश्चित प्रकारका एक्सचेन्ज भिजिटर भिसाहरुमा पनि छुट दिइएको छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com