वाहक सम्पर्क कार्यक्रम अपडेट: एक्सपायर ग्रिनकार्डमा थप कागजात विना अमेरिका आउन सकिने


प्रकाशित मिति : चैत्र २७, २०७७ शुक्रबार

अमेरिकाको कस्टम एण्ड बोर्डर प्रोटेक्सन सीबीपीले अहिलेको बोर्डिङ नीति अन्तरगतको वाहक सम्पर्क कार्यक्रममा नयाँ निर्देशिका जारी गरेको छ । नयाँ निर्देशिका अनुशार अमेरिका प्रवेश गर्न चाहने ग्रिनकार्डवाहकहरुले केही सन्दर्भमा म्याद सकिएका कागजातहरु समेत पेश गर्न सक्ने भएका छन् ।

एक्सपायर नभएका ग्रिनकार्डवाहकलाई विमानहरुले अन्य कुनै कागजात विना नै विमान चढाउनसक्ने निर्देशिकामा जनाइएको छ । जस अन्तरगत यदि कुनै ग्रिनकार्डवाहक एकबर्षभन्दा लामो समय अमेरिकाबाहिर बसेको छ भने पनि उसको ग्रिनकार्ड एक्सपायर भएको छैन भने विमानहरुले अमेरिका आउनका लागि अनुमति दिनेछन् ।

तर उनीहरु एकबर्ष भन्दा लामो समय अमेरिकाबाहिर बसेको खण्डमा र रिटर्निङ रेसिडेण्ड भिसा नलिएको खण्डमा विमानस्थलमा आइसकेपछि अमेरिका प्रवेश दिने वा नदिने सीबीपीका अधिकारीसमक्ष तजविज अधिकार हुनेछ । एकबर्षभन्दा लामो समय अमेरिकाबाहिर बसेका कैयन ग्रिनकार्डवाहकलाई विना रिटर्निङ रेसिडेण्ड भिसा आउँदा पनि कोरोनाको महामारीका कारण सीबीपीका अधिकारीहरुले प्रवेश दिइरहेका छन् ।

एक्सपायर नभएको रिइन्ट्री परमिट आई ३२७ भएको खण्डमा विमानहरुले अन्य कुनै कागजात विना नै अमेरिका आउनका लागि अनुमति दिने सीबीसीले जनाएको छ । तर कागजात सक्कली हुनुपर्ने र फोटोकपी भने स्वीकार नगरिने जनाईको छ ।

त्यस्तै विगतमा १० बर्षको अवधि भएको ग्रिनकार्ड भएको तर अहिले ग्रिनकार्ड एक्सपायर भएको छ भने पनि त्यस्ता व्यक्तिलाई अमेरिका आउनका लागि विमान चढ्ने अनुमति दिइने भएको छ । विगतमा १० बर्षको अवधिका लागि जारी भएको तर अहिले म्याद सकिएको ग्रिनकार्डमा विमान चढ्नका लागि पनि अतिरिक्त कागजात नचाहिने र एयरलाइन्सलाई पनि कुनै जरिवाना नहुने स्पष्ट पारिएको छ ।

विगतमा एक्सपायर भएको ग्रिनकार्डमा अमेरिका आउँदा दूतावासबाट ट्राभल फोइल आवश्यक पर्ने भएतापनि नयाँ निर्देशिका अनुशार सिधै विमान चढेर आउन सकिने भएको छ । तर उनीहरु एकबर्षभन्दा लामो समय अमेरिकाबाहिर बसेको भएमा भने अमेरिका आइसकेपछि विमानस्थलबाट अमेरिका प्रवेश गर्न दिने नदिने तजविज अधिकार सीबीपीलाई हुनेछ ।

नविकरणका लागि आवेदन दिएका म्याद सकिएका ग्रिनकार्डका सन्दर्भमा पनि युएससीआईएसमा नविकरणको लागि आवेदन दिएपछि प्राप्त रिसिप्ट नोटिसले ग्रिनकार्डको म्याद सकिएको १२ महिनासम्म ग्रिनकार्डको अस्थायी प्रमाणका रुपमा काम गर्नेछ । उक्त रिसिप्ट म्याद सकिएको ग्रिनकार्डसहित बोकेर यात्रा गर्न सकिनेछ । रिसिप्ट नोटिस भने सक्कली हुनुपर्नेछ, फोटोकपीलाई मान्यता दिइने छैन ।

गत जनवरीदेखि लागु हुनेगरी नविकरणका लागि आवेदन दिएका म्याद सकिएका ग्रिनकार्डका सन्दर्भमा नयाँ ग्रिनकार्ड नआउँदासम्मका लागि युएससीआईएसले छुट्टै स्टीकर जारी गर्न छाडेको छ । नविकरणका लागि आवेदन दिएको रिसिप्ट नोटिसले नै उक्त स्टीकर सरह काम गर्ने भएकाले उक्त नोटिस सहित यात्रा गर्दा कुनै समस्या नहुने सीबीपीले जनाएको छ ।

त्यस्तै २ बर्षको लागि जारी भएका शर्तसहितको ग्रिनकार्डका सन्दर्भमा पनि शर्त हटाउनका लागि आवेदन दिएको छ भने म्याद सकिएको ग्रिनकार्डमा पनि रिसिप्ट नोटिससहित यात्रा गर्न वा अमेरिका आउन सकिनेछ । उक्त नोटिसले सामान्यतया जारी भएको मितिले १८ महिनासम्म काम गर्नेछ । तर फर्म आई ७९७ सुचना नभएकाहरुलाई भने विमानमा चढाइनेछैन ।

रिटर्निङ रेसिडेण्ड भिसा वाहकका सन्दर्भमा एक्सपायर नभएको उक्त भिसा सहित अन्य कुनै थप कागजात विना अमेरिका आउन सकिनेछ । यो निर्देशिका एयरलाइन्सहरुलाई जारी गरिएको हो ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com