न्युयोर्क सिटी काउन्सिल चुनाव: नेपाली अमेरिकन मतदातासँग पहुँच कायम गर्दै उम्मेदबार


प्रकाशित मिति : चैत्र १९, २०७७ बिहीबार

– किशोर पन्थी

न्युयोर्क सिटी काउन्सिलको चुनावको प्राइमरी नजिकिदै गर्दा उम्मेदबारहरुको दौडधुप पनि बढेको छ । न्युयोर्क सिटी काउन्सिलको चुनावमा अल्पसंख्यक समुदायका मतदाताहरुको भोट समेत निर्णायक हुनसक्ने भएकाले उम्मेदबारहरुले नेपाली अमेरिकन लगायत अल्पसंख्यक समुदायका मतदाताहरुसँगको पहुच बढाउन थालेका छन् ।

न्युयोर्क सिटी अमेरिकामा नै नेपाली समुदायको सबैभन्दा धेरै बसोबास रहेको मध्येको एउटा सिटी हो । सेन्सनको विवरणमा नेपालीहरुको संख्या अण्डरकाउन्ट रहेपनि केहीबर्षयता न्युयोर्कमा नेपाली र नेपालीभाषी समुदायको संख्यामा उल्लेख्य बृद्धि भएको छ । चुनावमा एकएक भोटको महत्व हुने भएकाले कैयन उम्मेदबारहरुले न्युयोर्कको क्वीन्समा रहेको नेपाली समुदायलाई निर्णायक मतदाताको रुपमा लिएका छन् ।

न्युयोर्कको क्वीन्समा नेपाली अमेरिकन मतदाताहरुको बाक्लो बसोबास रहेको छ । खासगरी न्युयोर्क सिटी काउन्सिलको डिस्ट्रिक्ट २५ मा पर्ने ज्याक्सनहाइट र एल्महस्र्टमा नेपाली अमेरिकनहरुको बाक्लो बसोबास रहेको छ । ज्याक्सनहाइट क्षेत्रलाई नेपालीहरुले मिनी नेपालका रुपमा समेत चिन्छन् । त्यस्तै डिस्ट्रिक्ट २५ का अधिकांश उम्मेदबारहरुले नेपाली मतदाताहरुसँग पहुच बढाएका छन् ।

डिस्ट्रिक्ट २५ बाट डेमोक्रेटिक प्राइमरीमा उम्मेदबार फतिमा बर्याबले पनि नेपाली समुदायको ध्यान खिचिरहेकी छिन् । फतिमाका पिता आगा मोहम्मद सालेह उक्त क्षेत्रमा बस्ने कैयन नेपालीहरुका लागि परिचित नाम हो । फतिमाले नेपाली समुदायका दोश्रो पुस्ताका मतदातासमक्ष पहुच कायम गरिरहेकी छिन् । फतिमा डिस्ट्रिक्ट २५ बाट यसपटकको डेमोक्रेटिक प्राइमरीमा एकमात्र दक्षिण एसियाली मुलकी महिला उम्मेदबार हुन् । २२ बर्षकी फतिमा पाकिस्तानी मुलकी मुस्लिम समुदायकी उम्मेदबार समेत हुन् । उनले चुनाव जीतेको खण्डमा उनी न्युयोर्क सिटी काउन्सिलमा पाकिस्तानी मुलकी पहिलो महिला हुनेछिन् ।

डिस्ट्रिक्ट २५ बाट डेमोक्रेटिक प्राइमरीमा उम्मेदबार फतिमा ।

नेपालीहरु जस्तै आफू पनि अल्पसंख्यक आप्रवासी समुदायको भएका कारण नेपालीका समस्या जरैबाट बुझ्न र अनुभव गर्नसक्ने फतिमा बताउँछिन् । चुनावको बेलामा मात्र हैन, कैयन बर्षदेखि उनी नेपाली समुदायको नजिक रहेकी छिन् । विद्यालयमा जाँदादेखि आफू दोश्रो पुस्ताको पाकिस्तानी मुलको अमेरिकनका रुपमा हुर्कदा भोग्नुपरेका समस्याहरु बाल्यकालदेखि नै अनुभव गरेको र त्यसको सम्बोधन गर्नका लागि उम्मेदबारी दिएको उनको भनाई छ ।

फतिमा भन्छिन् -‘म नेपालीहरुकै माझमा हुर्केकी हुँ र उनीहरु मेरालागि परिवारजस्तै हुन् । सुखी न्युयोर्कको सहसंस्थापकका रुपमा म आफै डाइभर्सिटी प्लाजामा नेपाली समुदायका कैयन कार्यक्रममा सहभागी हुँदै आएकी छु ।’

सुखी न्युयोर्क दक्षिण एसियाली समुदायको हितमा काम गर्दै आएको गैर नाफामुलक संस्था हो । डाइभर्सिटी प्लाजामा सन् २०१३ मा नेपाली अमेरिकन महोत्सव गर्दा सुखी न्युयोर्क समेत पार्टनर रहेको थियो । त्यस्तै सुखी न्युयोर्क हरेकबर्ष नेपालीहरुले बुद्ध जयन्ती मनाउँदा सहयोग गर्दै आएको छ । नेपालमा सन् २०१५ को महाभूकम्पपछि डाइभर्सिटी प्लाजामा मैनबत्ति प्रज्ववलन गर्दा फतिमा प्रत्यक्ष सहभागी थिइन् । साथै भूकम्पपीडितलाई राहतका लागि हजारौं डलर संकलनका लागि उनले सहयोग गरेकी थिइन् । अमेरिकामा रहेका कागजपत्रविहिन नेपालीहरुलाई संरक्षण प्रदान गर्ने टेम्पोरेरी प्रोटेक्टेड स्टाटसका लागि पनि उनी कैयन अभियानमा सहभागी थिइन् ।

फतिमा भन्छिन् -‘नेपालीहरुलाई भाषामा पहुँच कायम गर्दै र उनीहरुलाई नै रोजगार दिदै मेरो अभियानले नेपालीहरुलाई आवद्ध गराउने सचेत प्रयास गरिरहेको छ । म मेरा नेपाली दाजुभाई दिदीबहिनीहरुबाट राम्रो समुदाय निर्माण र सँगै काम गर्नसकिने इस्युका लागि सुन्न खुला रहेकी छु । म नेपालीहरुका लागि एउटी छोरी र बहिनी जस्तै हुँ । न्युयोर्कमा रहेको जातीय अल्पसंख्यक नेपाली समुदायको आवाज प्रणालीमा नै हुनका लागि हामीले सुनिश्चित गर्न आवश्यक छ । डिस्ट्रिक्ट २५ नेपालीहरुको दोश्रो घर रहेकाले र यहाँबाट नेपाली समुदायबाट सिटी काउन्सिलमा प्रतिनिधित्व गर्ने व्यक्ति नभएकाले म नेपालीहरुको आवाजको प्रतिनिधित्व गर्न सक्छु ।’

त्यस्तै डिस्ट्रिक्ट २५ बाट डेमोक्रेटिक उम्मेदबार क्यारोलिन ट्रानले पनि नेपाली अमेरिकन मतदातहरुसँग पहुच कायम गरिरहेकी छिन् । उनको अभियानमा पनि नेपाली अमेरिकन स्वयंसेवकको सहभागिता उल्लेख्य रहेको छ । उनी भन्छिन् -‘नेपाली समुदाय समक्ष पहुच कायम गर्नका लागि नेपाली समुदायबाट कर्मचारीहरु राख्नुपर्ने कुरामा हाम्रो अभियान विश्वास गर्छ । नेपाली भएका कारणमात्र होइन किन अभियान अगाडि नेपाली समुदायमा गहिरो गरी काम गरिरहेकालाई आवद्ध गर्नु आवश्यक छ । आवश्यकता, इस्यु र इच्छाहरु बुझने समुदायका नेताहरु नेपाली समुदायमा हाम्रो पहुचका लागि महत्वपूर्ण भाग हुन् । हाम्रो पहुच नेपाली समुदायमा सिधै जानका लागि हुन्छ किनभने उनीहरुलाई जवाफ थाहा छ ।’

चुनावी अभियानको कार्यालय उद्घाटनका क्रममा नेपाली समुदायलाई सम्बोधन गर्दै क्यारोलिन ।

क्यारोलिन भन्छिन् -‘सेवा र प्रतिनिधित्वमा पहुच कायम गर्नका लागि जातीय अल्पसंख्यक नेपाली समुदायले समस्याहरु भोगिरहेको छ । भाषाको पहुच पनि एउटा मुख्य समस्या हो । यदि तपाईले इस्युहरु बुझ्न सक्नुभएन भने वा सिटीका श्रोत वा फण्डिङहरुमा पहुचका लागि कोसँग कुरा गर्ने भन्ने थाहा पाउनुभएन भने यसलाई अगाडि बढाउन सकिदैन । हाम्रो अभियानको प्राथमिकता सिटी काउन्सिल सदस्यको अफिसले के गर्नसक्छ र नेपाली भाषामा कस्तो सहयोग उपलब्ध गराउन सक्छ भन्नेबारे जातीय अल्पसंख्यक नेपाली समुदायलाई शिक्षित गराउनु हो । जसले गर्दा नेपाली समुदायले सेवा र श्रोतमा पहुच कायम गर्न सकोस् ।’

डिस्ट्रिक्ट २५ बाट डेमोक्रेटिक प्राइमरीमा अर्का उम्मेदबार एन्डी चेनले आफ्ना डेपुटी क्याम्पेन म्यानेजरका रुपमा नेपाली मूलका दिपेन्द्र लामालाई राखेका छन् । उनी नेपाली समुदायका कैयन सामुदायिक कार्यक्रमहरुमा सहभागी हुनेदेखि नेपाली सामुदायिक नेताहरुसमक्ष पहुच कायम गर्नमा सकृय रहेका छन् । उनको अभियानमा नेपाली मूलका स्वयंसेवकहरुको संख्या पनि उल्लेख्य रहेको छ ।

एसियाली समुदायमाथि भएका दुब्र्यबहारका घटनाबिरुद्धको प्रदर्शनमा नेपाली समुदायका माझमा एन्डी चेन

झण्डै एकदर्जन नेपाली समुदायका व्यक्ति उनको अभियानमा सकृय रहेका छन् । एन्डी चेनका डेपुटी क्याम्पेन म्यानेजर दीपेन्द्र लामा भन्छन् -‘नेपाली समुदायका तर्फबाट गरिएको सहयोग भविश्यमा नेपाली समुदायको राम्रोको लागि हो । एन्डी चेनको नेपाली समुदायको सेवामा प्रतिवद्ध रहेका छन् ।’

त्यस्तै न्युयोर्क सिटी काउन्सिल डिस्ट्रिक्ट २१ अन्तरगतको इस्ट एल्महस्र्ट, ज्याक्सनाइटको केही भाग, लेफ्राक सिटी र कोरोना पनि नेपाली अमेरिकनहरुको बाक्लो बसोबास रहेको क्षेत्र हो । लेफ्राक सिटीमा नेपालीहरुको बसोबास केहीबर्ष यता ह्वात्तै बढेको छ । डिस्ट्रिक्ट २१ का उम्मेदबारहरु पनि नेपाली अमेरिकन मतदाताहरुसँग पहुच कायम गर्नका लागि खटिरहेका छन् ।

इन्ग्रिड गोमेज

डिस्ट्रिक्ट २१ बाट डेमोक्रेटिक उम्मेदबार इन्ग्रिड गोमेज नेपाली समुदायका तर्फबाट पनि चुनावी अभियानमा उल्लेख्य फण्डरेज गर्न सफल भएकी छिन् । साथै उनको अभियानमा पनि नेपाली अमेरिकन समुदायको सहयोग उल्लेख छ । प्रगतिशिल उम्मेदबारका रुपमा चर्चित इन्ग्रिड गोमेज नेपालीहरुका कैयन कार्यक्रममा समेत सहभागी हुँदै आएकी छिन् ।

त्यस्तै डिस्ट्रिक्ट २१ बाट नै अर्का डेमोक्रेटिक उम्मेदबार जर्ज अनयुराहले पनि नेपाली अमेरिकन मतदाताहरु समक्ष पहुच कायम गरिरहेका छन् । आफू नाइजेरियाबाट आएको एउटा आप्रवासी रहेका कारण नेपाली आप्रवासीका कैयन समस्याहरु अनुभव गर्न सक्ने जर्ज अनयुराहको भनाई छ । नेपाली समुदायका कार्यक्रमहरुमा उपस्थीति बढाउँदै लगेका उनले आफू नेपालीहरुको धर्मपुत्रजस्तै अनुभव गर्ने बताउँछन् ।

नेपाली समुदायको एक कार्यक्रममा बोल्दै जर्ज ।

उनी भन्छन् -‘न्युयोर्कमा जातीय अल्पसंख्यकका रुपमा रहेका नेपाली समुदायका समस्याहरु अफ्रिकन लगायत अन्य जातीय अल्पसंख्यक समुदायका भन्द पूर्णरुपमा अलग छैन । हामी प्राय सिमान्तकृत छौैं र राजनीतिक प्रकृयाबाट अलग गराइएका छौं । हामीले सिटी काउन्सिलमा उम्मेदबारी दिएर राजनीतिक प्रकृयामा आउन चाहने अन्यका लागि समेत बाटो खोल्न मद्दत गरेका छौं । हामीले आज बनाएको पुलले भोलि अरुलाई पार गर्न अनुमति दिनेछ । अमेरिकन सपना पूरा गर्नका लागि राजनीतिक सफलता र आर्थिक अवशरहरुको श्रृंखला जारी राख्नेछ ।’

सिटी काउन्सिलको चुनावमा अन्य उम्मेदबारहरु पनि नेपाली अमेरिकन समुदायका मतदाताहरुसमक्ष पहुच कायम गर्नमा प्रयासरत देखिन्छन् । नेपाली समुदायका तर्फबाट सिटी काउन्सिलको चुनावमा एकमात्र र पहिलो उम्मेदबार नवराज केसी हुन् । डिस्ट्रिक्ट १९ बाट उम्मेदबारी दिएका केसीको चुनावी क्षेत्रमा नेपाली अमेरिकनको बसोबास भने कम रहेको छ । तर न्युयोर्कका विभिन्न क्षेत्रमा बस्ने नेपालीहरुले अमेरिकाका स्थानीय, राज्य र राष्ट्रिय चुनावमा महत्वपूर्ण भूमिका खेल्ने उनको भनाई छ ।

केसी भन्छन् -‘नेपाली अमेरिकन समुदाय सानो छ तर उम्मेदबार वा दलको जीतका लागि निर्धारक तत्व बन्नसक्छ । मेरो आफ्नै व्यक्तिगत अनुभवमा पनि फण्डरेज, स्वयंसेवकको सहयोग लगायतमा नेपाली समुदायबाट सबैभन्दा भरपर्दो सहयोग प्राप्त गर्न सफल भएकोमा म गर्व गर्छु । नेपाली समुदायबाट मैले पाएको सहयोग अत्यन्तै महत्वपूर्ण र प्रभावकारी रहेको छ ।’

नवराज केसी

नेपाली समुदायमा अझ एकताको खाँचो रहेको र ठूलो जीत हासिल गर्नका लागि विभिन्न जातीय अल्पसंख्यक समुह र समुदायहरु मुलधारको राजनीतिक पहलमा समाहित हुन आवश्यक रहेको केसी बताउँछन् । केसी भन्छन् -‘एकजुट भयौं भने हामीले जित्छौं । विभाजित भएमा पतन हुन्छौं । एकजुट भएर अडचनहरु हटाउन सम्भव छ र सफलता निश्चित छ।’

 

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com