एसाइलमका फर्मभर्दा २०१९ अक्टोबर अगाडिकै नियम, लाइन खाली छाड्दैमा अस्वीकार नगरिने


प्रकाशित मिति : चैत्र १९, २०७७ बिहीबार

अमेरिकामा युएससीआईएसले एसाइलमका वा देशनिकाला रोक्ने फर्म आई ५८९ भर्दा अब सन् २०१९ को अक्टोबरभन्दा अगाडि कै नियम लागु गरेको छ । २०१९ को अक्टोबरमा युएससीआईएसले फर्म अस्वीकार गर्ने मापदण्ड विस्तार गरेर आवेदकले कुनै प्रश्नको जवाफ खाली राखेको खण्डमा पनि आवेदन फर्म अस्वीकार गर्दै आएको थियो ।

तर अब भने आवेदकले आवेदकले कुनै प्रश्नको जवाफ खाली राखेको खण्डमा युएससीआईएसले आवेदन फर्म अस्वीकार नगर्ने भएको छ । एसाइलमको फर्म आई ५८९का साथमा विदेशमा आवासीय अनिवार्यताको मापदण्डका लागि छुट दिने फर्म आई ६१२ र यु भिसाको फर्म ९१८ का सन्दर्भमा पनि यही नियम लागु गरिएको छ ।

तर भर्नैैपर्ने लाइनहरु नभरेर खाली राखेको खण्डमा, फाइलिङ सम्बन्धित प्रश्नहरुको जवाफ दिन नसकेको खण्डमा र कुनै प्रारम्भिक कागजात नै छुटाएको खण्डमा भने युएससीआईएसले फर्म अझै पनि अस्वीकार गर्नसक्ने स्पष्ट पारेको छ । त्यसैले युएससीआईएसका फर्महरु भर्दा राम्रोसँग फर्म भर्न सिकाइएका फर्महरु पनि पढ्न आवश्यक हुन्छ ।

युएससीआईएसले हस्ताक्षर नभएका, उपयुक्त शुल्क नभएका, मान्यताप्राप्त नगरेका तेश्रो पार्टीले आवेदकका तर्फबाट हस्ताक्षर गरेका लगायतका आवेदनहरु पनि अस्वीकार गर्दै आएको छ । त्यसैले सुरुमा नै सबै विवरणहरु ठीक तरिकाले उल्लेख गरेर पठाउन युएससीआईएसले सचेत गराउदै आएको छ ।

युएससीआईएसमा कैयन फर्महरु अनलाइनमा नै उपलब्ध छन् । अनलाइनमा उपलब्ध फर्महरु अनलाइनबाटै भरेर सब्मिट गर्दा साधनश्रोतको बचत हुने र युएससीआईएससँग सम्पर्क गर्न तथा थप कागजात पठाउन समेत सहज हुने गर्छ । साथै त्यस्ता आवेदनका सन्दर्भमा युएससीआईएसका निर्णय र पत्राचार अनलाइनबाट समेत प्राप्त गर्न सकिने भएकाले पत्रहरु हराउने सम्भावना समेत रहदैन ।

‘युएससीआईएसका फर्म भर्दा निलो, रातो वा अन्य रंगको मसी प्रयोग नगर्नुहोला’

अमेरिकी नागरिकता लगायतका युएससीआईएसका कैयन फर्महरु अनलाइनमा उपलब्ध छन् । अनलाइनमा फर्म भरेर अनलाइनबाटै शुल्क समेत तिर्न सकिन्छ । तर तपाईले कागजी फर्म भरेर पनि युएससीआईएसका कैयन आवेदनहरु हुलाकबाट पठाउन सक्नुहुन्छ ।

कागजी फर्म भर्दा पनि कम्प्युटरमा टाइप गरेर भर्न सकिन्छ । त्यसपछि प्रिन्ट गरेर हस्ताक्षर गरेर पठाउन सकिन्छ । तर तपाईले हातैले फर्म भर्न चाहनुहुन्छ भने जहिले पनि कालो मसीभएको कलम प्रयोग गर्नुपर्छ ।

फर्मभर्दा निलो, रातो वा अन्य रंगको मसी भएको कलम प्रयोग नगर्न युएससीआईएसले सुझाव दिएको छ । त्यस्तै सफा तरिकाले लेख्न र तोकिएको ठाउँभित्र जवाफ लेख्न समेत सुझाव दिइएको छ ।

फर्म भरिसकेपछि हस्ताक्षर गर्न अनिवार्य छ । हस्ताक्षर नगरिएका फर्महरु युएससीआईएसले अस्वीकृत गर्दै आएको छ । कागजी फर्म भर्दा फर्मको पछिल्लो भर्सन प्रयोग गर्नुपर्छ । पुरानो भर्सन प्रयोग गरिएको खण्डमा समेत त्यस्तो आवेदन अस्वीकृत हुनसक्छ ।

हाइलाइटर वा टिपेक्सको प्रयोग गर्नुहुँदैन । युएससीआईएसले प्रयोग गर्ने स्क्यानरले ग्रेआउट गरिएको, हाइलाइट गरिएको वा टिपेक्स लगाइएको विवरण राम्रोसँग पढ्न नसक्ने जनाइएको छ । फर्म भर्दा कुनै गल्ती भएमा नयाँ फर्म प्रयोग गर्न युएससीआईएसले सुझाव दिएको छ ।

आवेदन कागजको एकातर्फमात्र प्रिन्ट गर्न युएससीआईएसले सुझाव दिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com