गतमहिना अमेरिकाको भिसा पाउने नेपालीको विवरण सार्वजनिक, जम्मा ९४५


प्रकाशित मिति : चैत्र १६, २०७७ सोमबार

अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले गत महिना अमेरिकाको आप्रवासी र गैर आप्रवासी भिसा पाउने नेपालीहरुको विवरण सार्वजनिक गरेको छ । फेब्रुअरी महिनामा जम्मा ९४५ जना नेपालीहरुले अमेरिकाको भिसा पाएका छन् । उनीहरुले नेपाल लगायत विश्वका विभिन्न देशका दूतावास र कन्सुलरबाट भिसा पाएका हुन् ।

फेब्रुअरीमा भिसा पाउनेहरुमध्ये मध्ये ६४० जना गैरआप्रवासी र ३०५ जना आप्रवासी भिसा पाउनेहरु छन् । जसमा सबैभन्दा धेरै भिजिटर भिसा बीवान बी टु पाउनेहरु छन् । फेब्रुअरीमा ५१३ नेपालीले अमेरिकाको भिजिटर भिसा पाएका छन् । उनीहरुमध्ये अधिकांश पहिले नै भिसा रहेका र अहिले विना अन्तरवार्ता नविकरण गर्नेहरु हुन् ।

काठमाडौंमा रहेको अमेरिकी दूतावासले  भने फेब्रुअरीमा ८४४ जनालाई भिसा जारी गर्न सफल भयो । काठमाडौं  दूतावासले  फेब्रअरीमा ४९४ जनालाई भिजिटर भिसा जारी गरेको छ । काठमाडौं दूतावासले ४ जनालाई कुटनीतिक भिसा, ६ जनालाई क्रु मेम्बर भिसा, १ जनालाई विद्यार्थी भिसा, एकजनालाई कामदार भिसा एचवानबी, २ जनालाई एक्सचेन्ज भिजिटर जे वान भिसा र २८ जनालाई अमेरिकी नागरिकसँग विवाह गर्न आउने मंगेतर भिसा जारी गरेको छ ।

काठमाडौंबाट एकजनालाईमात्र विद्यार्थी भिसा जारी भएपनि फेब्रुअरीमा विद्यार्थी भिसा पाउने कुल नेपालीहरु ३७ जना रहेका छन् भने उनीहरुका डिपेन्डेन्टहरु ११ जना छन् । उनीहरुमध्ये अधिकांशले भारतको दिल्लीमा रहेको अमेरिकी दूतावासबाट भिसा प्राप्त गरेका हुन् । मार्चदेखि भने अमेरिकी दूतावास काठमाडौंले पनि विद्यार्थी भिसा जारी गर्न सुरु गरिसकेको छ ।

काठमाडौंमा रहेको दूतावासले फेब्रुअरीमा अमेरिकी नागरिकका २७१ जना दम्पत्तिहरु र १६ जना उनीहरुका छोराछोरीहरुलाई आप्रवासी भिसा जारी गरेको छ । मार्चबाट भने दूतावासले अमेरिकी नागरिकका दम्पत्ति बाहेक अन्य श्रेणीका परिवार, रोजगार र डिभीमा आधारित भिसा समेत जारी गर्न सुरु गरेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com