ट्याक्स फाइल गरिसकेकाले बेरोजगारी विमाको ट्याक्स नलाग्ने १० हजार २ सयको सुविधा कसरी लिने?
प्रकाशित मिति : चैत्र ३, २०७७ मंगलबार
अमेरिकी राष्ट्रपति जो बाइडेनले हस्ताक्षर गरेको १ दशमलव ९ ट्रिलियन डलरको प्याकेजमा सन् २०२० मा बेरोजगारी विमाको रकम लिएकाहरुका सन्दर्भमा १० हजार २ सय सम्मको रकममा ट्याक्स नलाग्ने व्यवस्था रहेको छ । तर बाइडेनले बिलमा हस्ताक्षर गर्नु अगाडि नै ट्याक्स फाइल गरेकाहरु यो सुविधा कसरी लिने भन्ने सन्दर्भमा अन्यौलमा परिरहेका छन् । आईआरएसले यो अन्यौल अन्त्य गर्नेगरी स्पष्ट पारिदिएको छ ।
पहिले ट्याक्स फाइल गरिसकेकाहरुलाई ट्याक्स नलाग्ने १० हजार २ सय डलरका लागि अहिले तुरुन्तै ट्याक्स परिमार्जन फाइल नगर्न आईआरएसले सुझाव दिएको छ । उक्त १० हजार २ सय डलरको समेत ट्याक्स तिरिसकेको अवस्थामा उक्त रकम फिर्ता पाउनका लागि आईआरएसले निकट भविश्यमा अतिरिक्त निर्देशिका जारी गर्ने स्पष्ट पारेको छ ।

आईआरएसले निर्देशिका जारी गरिसकेपछि उनीहरुले कदम चालेपछि पहिले तिरेको बेरोजगारी विमाको १० हजार २ सय डलरको ट्याक्स रकम फिर्ता पाउनेछन् । बार्षिक आम्दानी १ लाख ५० हजारभन्दा कम रहेकाहरुको सन्दर्भमामात्र बेरोजगारी विमाको सुरुको १० हजार २ सय डलरमा ट्याक्स नलाग्ने प्रावधान सरकारले ल्याएको हो ।
सन् २०२० मा बेरोजगारी विमा रकम लिएका तर ट्याक्स फाइल नगरेकाहरुलाई समेत ट्याक्स नलाग्ने १० हजार २ सय डलरको फाइदा लिनका लागि केही समय प्रतिक्षा गर्न आईआरएसले सुझाव दिएको छ । कागजीरुपमा फाइल गर्नेहरुका लागि छिट्टै वर्कसिट उपलब्ध गराउने र अनलाइनबाट फाइल गर्नेहरुका सन्दर्भमा सफ्टवेयर अपडेटका लागि सफ्टवेयर कम्पनीसँग काम गर्ने आईआरएसले जनाएको छ ।

प्रणालीमा अपडेट गरिसकेपछि ट्याक्स फाइल गर्ने व्यक्तिले कसरी बेरोजगारी विमाको ट्याक्स नलाग्ने रकम रिपोर्ट गर्ने भन्ने सन्दर्भमा विकल्पकहरु प्राप्त गर्नेछन् । नयाँ चरणको राहत चेक, बिस्तारित चाइल्ड ट्याक्स क्रेडिट, अगाडि नै प्राप्त गर्न सकिने चाइल्ड ट्याक्स क्रेडिटको रकम र अन्य ट्याक्सका प्रावधानहरु अपडेट गर्ने आईआरएसले जनाएको छ ।
मार्च ५ सम्म आईआरएसले ५६ मिलियन व्यक्तिका ट्याक्स रिटर्नहरु प्राप्त गरेको छ भने ४९ मिलियन व्यक्तिका फाइल प्रकृयामा लगिसकेको छ । गतबर्ष झण्डै ४० मिलियन व्यक्तिले अमेरिकामा बेरोजगारी विमा रकम प्राप्त गरेका थिए । औषतमा एकजना १४ हजार डलर सहायता प्राप्त गरेका थिए ।






