अमेरिका आइपुगे सेप्टेम्बरमा डाइभर्सिटी भिसा पाएर रोकिएका नेपाली, ४०४ मध्ये कैयन आउन बाँकी


प्रकाशित मिति : फाल्गुन २९, २०७७ शनिबार

ट्रम्पले कार्यकारी आदेशमार्फत आप्रवासन रोक लगाएकोमा संघीय अदालतले त्यसको बिरुद्धमा फैसला गरेपछि सेप्टेम्बरमा सयौ नेपालीहरुले डाइभर्सिटी भिसा प्राप्त गरेका थिए । बाइडेनले कार्यकारी आदेशमाथि ट्रम्पको आप्रवासन रोक खारेज गरेपनि सेप्टेम्बरमा भिसा पाएका नेपालीहरु भिसा सकिनै लाग्दा अमेरिका आइपुगेका छन् ।

फेबु्रअरी २४ मा बाइडेनले कार्यकारी आदेशमार्फत आप्रवासन रोक खारेज गरे लगत्तै भिसा पाइसकेका २०२० का नेपाली डिभी विजेताहरुले अमेरिका आउने बन्दोबस्त गरेका थिए । उनीहरु केहीले आफूहरु विना कुनै व्यवधान अमेरिका आइपुगेको जानकारी दिएका छन् ।

सेप्टेम्बरको दोश्रो सातादेखि भिसा पाएका डिभी विजेताहरुमध्ये अधिकांशको भिसा मार्चको दोश्रोसातादेखि अन्तिमसम्ममा एक्सपायर हुने तय भएको छ । उनीहरुका लागि उक्त भिसाको सट्टामा नयाँ भिसा स्टीकर जारी नगरिने तर एक्सपायर भएकै भिसामा यात्रा गर्न सकिने अमेरिकी विदेश मन्त्रालयले स्पष्ट पारेपछि कतिपय भिसा वाहकहरु विमानले आफूलाई एक्सपायर भएको भिसामा नचढाउने हो कि भनेर पहिले नै हतारमा अमेरिका आउने बन्दोबस्त गरेका हुन् ।

तर अमेरिकी सरकारको विदेश मन्त्रालयको कन्सुलर अफेयर्स अन्तरगत भिसा सेवाका लागि एक्टीङ डेपुटी एसिस्टेण्ट सेक्रेटरी जुली एम स्टफ्टले त्यस्तो समस्या नहुने जानकारी दिएकी छिन् । स्टफ्टले खसोखाससँग भनिन् – ‘हामीले यात्रा गर्न सकिने उक्त भिसा श्रेणीको सन्दर्भमा एयरलाइन्सहरुसँग समन्वय गरेका छौं । डिभी २०२० का सन्दर्भमा उक्त श्रेणीभित्र पर्ने २०२० का भिसावाहकलाई अमेरिका यात्रा गर्न अनुमति दिने नीतिको विदेशमन्त्रीले सुरुवात गरिसक्नुभएको छ ।’

अदालतको आदेशपछि सेप्टेम्बरमा भिसा पाएकाहरुको भिसा स्टीकरको म्यादमा मार्चमा सकिने भएपनि उनीहरुको भिसा आगामी अगस्त २४ सम्म मान्य हुनेछ । अर्थात् उनीहरु उक्त मितिसम्म अमेरिका आउन सक्नेछन् ।

अमेरिकी विदेश मन्त्रालयले थप स्पष्ट पारेको छ – ‘अदालतले यी सकिएका भिसालाई कहिलेसम्म अद्यावधिक मान्ने भन्ने सन्दर्भमा निर्दिष्ट गरेको छैन। अदालतले यो आदेशमा परिवर्तन गर्न वा केही महत्वपूर्ण आदेशमा परिवर्तन गर्नसक्छ । त्यसकारण अदालतको आदेशबाट फाइदा लिन चाहने आवेदकलाई आदेश परिवर्तन हुनसक्ने भएकाले सक्दो व्यवहारिक रुपमा यात्रा गर्न प्रोत्साहन गरिन्छ ।’

अदालतको आदेशपछि सन् २०२० का डिभी विजेता ४०४ जना नेपालीहरुले भिसा पाउन सफल भएका थिए । जसमध्ये २२५ जना प्राथमिक डिभी विजेता नेपाली रहेका थिए भने १०५ जना उनीहरुका दम्पत्ति थिए । त्यस्तै ७४ जना उनीहरुका छोराछोरीहरु रहेका थिए ।

आर्थिक बर्ष २०२० का लागि ३६९६ जना नेपालीहरुले डिभी लोटरी पारेका थिए । तर उनीहरुमध्ये झण्डै साढे १३ सय जना प्राथमिक डिभी विजेताहरुलेमात्र अमेरिकाको भिसा प्राप्त गर्न सफल भए । अमेरिका आउने आशामा रहेका बाँकी झण्डै २३ सय नेपालीहरुको आशा भने अझै मरेको छैन ।

अदालतले ९०९५ भिसा छुट्याउन आदेश दिएकाले मुद्दा जितेमा भिसा पाइएला कि भन्ने आशा अझै मरेको छैन । तर उनीहरुले भिसा पाउने नपाउने टुंगो भने अदालतको अन्तिम फैसलापछिमात्र हुनेछ ।

उनीहरुमध्ये कतिपयको त भिसाका लागि अन्तरवार्ताको मिति समेत तय भइसकेको थियो । उनीहरु अमेरिका आउन पाउनेमा लगभग ढुक्क रहेका थिए । तर कोरोना महामारी र ट्रम्पको कार्यकारी आदेशका कारण अन्तरवार्ता हुन सकेको थिएन ।

आर्थिक बर्ष २०२० का डिभी विजेताहरुमा भिसा पाउनेहरुको तुलनामा नपाउनेहरुको संख्या बढी छ । अमेरिकी दूतावास र कन्सुलेटहरुले सन् २०२० को नभई आर्थिक बर्ष २०२१ का डिभी विजेताहरुको भिसा जारी गर्न सुरु गरेका छन् ।

सन् २०२१ का लागि डिभी विजेता नेपालीहरुको संख्या भने ३८०१ रहेको छ ।  सन् २०२१ का डिभी लोटरी पारेकाहरुले गत अक्टोबर १ देखि भिसा पाउन सुरु गर्ने नियम भएपनि  ट्रम्पको आव्रवासन रोकका कारण भिसा पाउन सकेका थिएनन् । तर अब भने उनीहरुले पनि भिसा पाउन सुरु गरेका छन् ।

सन् २०२१ का डिभी विजेताहरुमा नेपाल एसियामा दोश्रो भएको छ । सबैभन्दा धेरै डिभी विजेताहरु इरानका ६ हजार १ जना रहेका छन् । सन् २०२१ का लागि विश्वमै सबैभन्दा धेरै डिभी विजेताहरु भने इजिप्टका ६ हजार २ जना रहेका छन् । त्यस्तै अल्जेरियाका ६ हजार १ जना र सुडानका ६ हजार १ जना रहेका छन् ।

आर्थिक बर्ष २०२२ का गत अक्टोबर ७ देखि डिभीका लागि आवेदन खुलेकोमा नोभेम्बर १० सम्म डिभी लोटरी भरिएको थियो । यो डिभीको नतिजा भने सन् २०२१ को मे ८ मा सार्वजनिक हुनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com