बाइडेनबाट राष्ट्रका नाममा पहिलो प्राइम टाइम सम्बोधन, मे १ बाट सबैलाई भ्याक्सिन
प्रकाशित मिति : फाल्गुन २७, २०७७ बिहीबार
अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रका नाममा पहिलो प्राइम टाइम सम्बोधन गरेका छन् । उनले मे १ भन्दा अगाडि नै सबैलाई भ्याक्सिनका लागि योग्य बनाउन राज्यहरुलाई निर्देशन दिने घोषणा गरेका छन् । बाइडेनले सम्बोधनका क्रममा मुलुकलाई संकटबाट मुक्ति दिलाउने योजनाको घोषणा गरेका छन् ।
यसबर्ष जुलाई ४ को स्वतन्त्रता दिवस अमेरिकाको जन्मदिनको सन्दर्भमा मात्र नभई मुलुकले कोरोनाभाइरसबाट मुक्ति पाएको सन्दर्भमा रुपमा समेत मनाउने बाइडेनले बताए । मास्क र प्रतिबन्धका सन्दर्भमा दलगत झगडाबाट मुक्त भएर राष्ट्रिय एकताका लागि समेत बाइडेनले आव्हान गरे ।
बाइडेनले अब कार्यकारी आदेशमार्फत अमेरिकी राज्यहरु र भूभागहरुलाई भ्याक्सिनका लागि मे १ अगाडि नै सबैलाई योग्य बनाउन निर्देशन दिने भएका छन् । उनले अमेरिकनहरु सानो समुहमा भेला हुन पाउने मितिका लागि जुलाई ४ को लक्ष्य तय गरेका छन् ।
बाइडेनले आज कोरोना भाइरसका कारण अमेरिका शटडाउनको बार्षिकीको अवशरमा सम्बोधन गरेका हुन्, जुन मिति यता अमेरिकामा ५ लाख २५ हजारभन्दा धेरैको कोरोनाबाट मृत्यु भइसकेको छ । अमेरिकाका अधिकांश राज्यहरुले भ्याक्सिनका लागि योग्य हुने श्रेणीहरु विस्तार गरेका छन् भने अलास्कामा १६ बर्षभन्दा माथिका सबै व्यक्ति भ्याक्सिनका लागि योग्य भइसकेका छन् ।





