काठमाडौं आइपुग्यो १० लाख डोज कोभिशिल्ड, चीन र कोभ्याक्सबाट छिट्टै आउने
प्रकाशित मिति : फाल्गुन ९, २०७७ आईतबार
कोरोनाविरुद्धको कोभिशिल्ड खोपको थप १० लाख डोज आज भारतबाट नेपाल आएको छ । पहिलोपटकको १० लाख डोज भारत सरकारले उपहार दिएपनि यसपटक भने नेपाल सरकारले भारतस्थित सीरम इन्स्टिट्यूट अफ इन्डियासँग किनेको हो ।
गत बिहीबार कोभिशिल्ड खोप खरिदका लागि नेपाल सरकारले खोप उत्पादक कम्पनी सेरम इष्टिच्युट अफ इन्डियालाई ९३ करोड रुपैयाँ भुक्तानी दिएको थियो ।
विश्व स्वास्थ्य संगठनबाट अनुदानस्वरुप उपलब्ध हुने कोभ्याक्स सुविधाअन्तर्गत अन्तरिम खोप वितरण योजनामा सिरम इन्स्टिच्युटमा उत्पादित २२ लाख ५६ हजार खोप नेपाललाई फेब्रुअरी महिनाको अन्त्यबाट उपलब्ध गराउने जनाइएको थियो । तर उक्त खोप आउनमा ढिलाइ हुने भएपछि नेपाल सरकारले आफै २० लाख डोज भ्याक्सिन खरिद गर्ने निर्णय गरेको हो ।

कम्पनीको सर्तअनुसार नै अग्रिम भुक्तानी गरेर कोभिसिल्ड खोप खरिद गर्ने निर्णय गरेको नेपाल सरकारले एक डोज ४ डलरका दरले रकम पठाएको थियो । अर्को १० लाख डोज पनि नेपाललाई यसैमहिना प्राप्त हुनेछ ।
अब नेपालमा ६० बर्षभन्दा माथि उमेर समूहका मानिसहरूलाई खोप दिन थालिने जनाइएको छ । ६० वर्षभन्दा माथिका नेपालीहरुको संख्या झण्डै ३० लाख भएको अनुमान गरिएको छ ।
अबको चरणमा खोप केन्द्रहरूमार्फत् खोप दिलाइने भएको छ । त्यसको निम्ति ६० वर्ष माथिका मानिसहरूले नागरिकता वा अन्य सरकारी परिचयपत्र बोकेर पायक पर्ने खोप केन्द्रमा जानुपर्नेछ । डाइलायसिस गराइरहेका वा क्यान्सर रोगीहरूलाई पनि प्राथमिकता दिइने भएको छ ।
कोभ्याक्स सुविधाअन्तर्गतको २२ लाख डोज खोप पनि फागुनभरमा नेपाल आउने जनाइएको छ । यसो भएमा फागुनभरमा नेपालसँग थप ४० लाख डोजभन्दा धेरै भ्याक्सिन उपलब्ध हुनेछ । चीनले नेपाललाई ३ लाख डोज कोरोनाबिरुद्धको भ्याक्सिन अनुदान दिने बताएको र चाइनिज खोप भेरो सेललाई नेपाल सरकारले प्रयोगका लागि अनुमति दिएकाले उक्त खोप पनि छिटो आउने अपेक्षा गरिएको छ ।
भेरोसेल खोप चाइनिज कम्पनी सिनोफार्मले बनाएको हो । उक्त खोपलाई नेपालको औषधि व्यवस्था विभागले बुधबार अनुमति दिएको थियो । नेपालस्थित चिनियाँ दूतावासका अधिकारी लुआन सीउतानले चीन सरकारले एक लाख ५० हजार नेपाली जनतालाई लगाउन पुग्ने गरी ३ लाख डोज खोप उपलब्ध गराउन लागेको बताएका थिए ।

सिनोफार्म खोपले विश्व स्वास्थ्य संगठनले तोकेको सम्पूर्ण मापदण्ड पूरा गरेको चीनको दाबी छ । चीन सरकारले उक्त खोपलाई ससर्त अनुमति दिएको र हालसम्म ३ करोड बढीलाई दिइसकेको जनाइएको छ ।
उक्त खोपको प्रभावकारिता ७९ दशमलव ३४ प्रतिशत रहेको दावी गरिएको छ । यूएई, ईजिप्ट, हंगेरी र पाकिस्तानलगायत विश्वका कैयन राष्ट्रमा यसले आपत्कालीन प्रयोग अनुमति प्राप्त गरिसकेको छ ।
नेपालमा माघको दोश्रो सातादेखि भारतले अनुदानमा दिएको कोभिशिल्ड खोप लगाउने क्रम जारी रहेको छ । अक्सफोर्ड आष्ट्राजेनेकाले विकाश गरेको र सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप गत ८ माघमा भारतले १० लाख डोज नेपाललाई अनुदानस्वरूप दिएको थियो ।
पहिलो चरणमा फ्रन्टलाइनर स्वास्थ्यकर्मीहरुलाई दिइएको उक्त खोप दोश्रो चरणमा पत्रकार र कूटनीतिज्ञहरुलाई दिइएको छ ।






