जनवरी १ वा अगाडि अमेरिकामा रहेका कागजपत्रविहिनलाई दिने ६ बर्षे ‘एलपीआई’ स्टाटस के हो ?


प्रकाशित मिति : फाल्गुन ७, २०७७ शुक्रबार

संसदमा सार्वजनिक गरिएको बृहत अध्यागमन बिलमा डाका, टीपीएसवाहक र कृषि कामदारहरुले बिल पारित हुने बित्तिकै ग्रिनकार्डका लागि आवेदन दिन पाउने उल्लेख छ । तर अन्य कागजपत्रविहिनहरु जो सन् २०२१ को जनवरी १ वा त्योभन्दा अगाडिदेखि अमेरिकामा नै रहेका छन्, उनीहरुका लागि बैध भावी आप्रवासी स्टाटस अर्थात् एलपीआई स्टाटस प्रदान गर्ने बिलमा उल्लेख छ ।

बिल पारित भएमा सन् २०२१ को जनवरी १ वा त्योभन्दा अगाडिदेखि अमेरिकामा नै रहेका र आवेदन दिंदा अमेरिका रहेका कागजपत्रविहिनहरुले यो स्टाटसका लागि आवेदन दिन पाउनेछन् । तर उनीहरुको आवेदन स्वीकृत हुँदासम्म अमेरिकामा आवासीय निरन्तरता हुन जरुरी हुनेछ ।

शुल्क तिरेर आवेदन दिएपछि र पृष्ठभूमि परीक्षण उत्तिर्णपछि उनीहरु बैध भावी आप्रवासी स्टाटस अर्थात् एलपीआई स्टाटस प्राप्त गर्न योग्य हुनेछन् । सुरुमा उनीहरुले ६ बर्षका लागि यस्तो स्टाटस प्राप्त गर्नेछन् । ६ बर्षपछि पनि उक्त स्टाटसका लागि योग्य रहेको खण्डमा उनीहरुले अर्को ६ बर्ष थपका लागि आवेदन दिन सक्नेछन् ।

बैध भावी आप्रवासी स्टाटस अर्थात् एलपीआई स्टाटस आवेदन स्वीकृत भइसकेपछि सरकारले ६ बर्षको म्यादसहित कागजात जारी गर्नेछ । उक्त कागजातका आधारमा उनीहरु अमेरिकाबाहिर समेत यात्रा गर्न पाउनेछन् । यो कागजातले झण्डै ग्रिनकार्डकै जस्तो काम गरेपनि अमेरिकाभित्र ग्रिनकार्डबाहकले पाउने ट्याक्स क्रेडिट लगायतका कैयन सुविधा भने प्राप्त हुनेछैन ।

बैध भावी आप्रवासी स्टाटस अर्थात् एलपीआई स्टाटसको कागजात हराएको, नष्ट भएको वा चोरी भएको खण्डमा नयाँ प्राप्त नहुँदासम्म ट्राभल डकुमेन्टमा समेत अमेरिकाबाहिर यात्रा गर्न सकिनेछ । यो स्टाटसमा रहनेहरु एक क्यालेण्डर बर्षमा बढीमा १८० दिनसम्ममात्र अमेरिकाबाहिर बस्न पाउनेछन् ।

यो स्टासटमा रहनेहरुले अमेरिकाको सोसल सेक्युरिटी नम्बर समेत प्राप्त गर्नेछन् । यो नम्बरबाट अमेरिकामा काम गर्न, बैंक खाता खोल्न, ट्याक्स फाइल गर्न लगायतका सुविधाहरु प्राप्त हुनेछ ।

कम्तीमा ५ बर्ष बैध भावी आप्रवासी स्टाटस अर्थात् एलपीआई स्टाटसमा रहेपछि उनीहरुले ग्रिनकार्डका लागि आवेदन दिनसक्नेछन् । तर उनीहरुले ग्रिनकार्ड पाउन ट्याक्स तिरेको, राम्रो चालचलन भएको, अपराध नगरेको, एक क्यालेण्डरबर्षमा १८० दिनभन्दा धेरै अमेरिकाबाहिर नबसेको लगायतका मापदण्ड पूरा गर्नुपर्नेछ । आफ्नो नियन्त्रणबाहिर रहेको अवस्थामा १८० दिनभन्दा धेरै बस्नु परेको भएमा भने छुट पाउन सक्नेछन् ।

यसरी ग्रिनकार्ड प्राप्त गरेको तीनबर्षपछि उनीहरुले अमेरिकी नागरिकताका लागि आवेदन दिन सक्नेछन् । ट्रम्प कार्यकालमा देशनिकालामा परेका तर देशनिकालामा पर्नु अगाडि अमेरिकामा कम्तीमा तीनबर्ष बसेका, अपराधको कुनै पृष्ठभूमि नभएकाहरुलाई पनि बैध भावी आप्रवासी स्टाटस अर्थात् एलपीआई स्टाटस प्राप्त गर्नका लागि विशेष सुविधाको व्यवस्था गरिएको छ ।

डाका, टीपीएस र कृषि कामदारहरुले भने बैध भावी आप्रवासी स्टाटस अर्थात् एलपीआई स्टाटसका लागि आवेदन नदिई सिधै ग्रिनकार्डका लागि आवेदन दिन सक्नेछन् । ग्रिनकार्ड प्राप्त गरेको तीनबर्षपछि उनीहरुले अमेरिकी नागरिकताका लागि आवेदन दिन सक्नेछन् ।

कृपया याद गर्नुहोला, यो बिल संसदमा सार्वजनिक मात्र भएको हो । पारित भएको छैन । पारित हुनका लागि प्रतिनिधिसभामा बहुमत र सिनेटमा फिलिबस्टर ६० भोटको आवश्यकता पर्छ । प्रतिनिधिसभामा डेमोक्र्याट्सको बहुमत भएकाले पारित हुन सहज छ तर सिनेटमा पारित गर्न एकसय सिटमध्ये डेमोक्र्याट्सका ५० सिटमात्र भएकाले कम्तीमा १० जना रिपब्लिकनको समर्थन जुटाउन आवश्यक छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com