सिनोफार्मले बनाएको खोपलाई नेपालमा प्रयोगको अनुमति, कोभिशिल्डको २० लाख डोज भारतबाट
प्रकाशित मिति : फाल्गुन ५, २०७७ बुधबार
नेपाल सरकारले कोरोना भाइरसविरूद्धको चाइनिज खोप ‘भेरो सेल’लाई प्रयोगका लागि अनुमति दिएको छ । उक्त खोप चाइनिज कम्पनी सिनोफार्मले बनाएको हो ।
उक्त खोपलाई नेपालको औषधि व्यवस्था विभागले बुधबार अनुमति दिएको हो । बेइजिङ इन्स्टिच्युट बायोलिजकलबाट उत्पादन भइरहेको यो खोपको चीनमा पनि आपतकालीन प्रयोगको अनुमति पाइसकेको छ ।

यसअगाडि चीनले नेपाललाई ३ लाख डोज कोरोनाबिरुद्धको भ्याक्सिन अनुदान दिने बताइसकेको छ । नेपालस्थित चिनियाँ दूतावासका अधिकारी लुआन सीउतानले चीन सरकारले एक लाख ५० हजार नेपाली जनतालाई लगाउन पुग्ने गरी ३ लाख डोज खोप उपलब्ध गराउन लागेको बताएका थिए ।
चीनले नेपाललाई उपलब्ध गराउने पतिवद्धता जनाएको भ्याक्सिन सिनोफार्मकै उत्पादन हो ।

सिनोफार्म खोपले विश्व स्वास्थ्य संगठनले तोकेको सम्पूर्ण मापदण्ड पूरा गरेको चीनको दाबी छ । चीन सरकारले उक्त खोपलाई ससर्त अनुमति दिएको र हालसम्म ३ करोड बढीलाई दिइसकेको जनाइएको छ ।
उक्त खोपको प्रभावकारिता ७९ दशमलव ३४ प्रतिशत रहेको दावी गरिएको छ । यूएई, ईजिप्ट, हंगेरी र पाकिस्तानलगायत विश्वका कैयन राष्ट्रमा यसले आपत्कालीन प्रयोग अनुमति प्राप्त गरिसकेको छ ।
अहिले नेपालमा माघको दोश्रो सातादेखि भारतले अनुदानमा दिएको कोभिशिल्ड खोप लगाउने क्रम जारी रहेको छ । अक्सफोर्ड आष्ट्राजेनेकाले विकाश गरेको र सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप गत ८ माघमा भारतले १० लाख डोज नेपाललाई अनुदानस्वरूप दिएको थियो ।
पहिलो चरणमा फ्रन्टलाइनर स्वास्थ्यकर्मीहरुलाई दिइएको उक्त खोप दोश्रो चरणमा पत्रकार र कुटनीतिज्ञहरुलाई दिइएको छ । खोप अभियान आरम्भ भएको तीन साता पुग्न लाग्दा हालसम्म दुई लाखभन्दा बढीले खोप लगाएका छन्।
विश्व स्वास्थ्य संगठनले पनि यो खोपलाई प्रयोगको अनुमति दिइसकेको छ । नियामक निकाय राम्रो नभएको देशहरुलाई मध्यनजर गरेर विश्व स्वास्थ्य संगठनले खोपको प्रयोगको अनुमति दिएको हो ।

विश्व स्वास्थ्य संगठनबाट अनुदान स्वरुप उपलब्ध हुने कोभ्याक्स सुविधाअन्तर्गत अन्तरिम खोप वितरण योजनामा सिरम इन्स्टिच्युटमा उत्पादित २२ लाख ५६ हजार खोप नेपाललाई फेब्रुअरी महिनाको अन्त्यबाट उपलब्ध गराउने जनाइएको थियो । तर उक्त खोप आउनमा ढिलाई हुने भएपछि नेपाल सरकारले भारतको कोरोना भाइरसविरुद्धको खोप उत्पादक कम्पनीको सर्तअनुसार नै अग्रिम भुक्तानी गरेर कोभिसिल्ड खोप खरिद गर्ने निर्णय गरिसकेको छ ।
अग्रिम भुक्तानीको विषयमा सहमति नबन्दा रोकिएको प्रकृया गत मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कम्पनीको प्रस्तावबमोजिम नै खोप खरिदमा अग्रिम भुक्तानी दिने निर्णय गरेपछि सल्टिएको हो । सेरमको सर्तअनुसार २० लाख डोज खोप खरिदका लागि करिब ९३ करोड ६० लाख रुपैयाँ नेपालले खोप आउनुपूर्व नै पठाउनुपर्नेछ ।
एउटा खोपको ४ डलरका दरले खरिद गरिने जनाइएको छ । कम्पनीले भुक्तानी गरेको दुई हप्ताभित्र खोप पठाउने प्रतिबद्धता जनाएको जनाइएको छ ।
नेपालमा लगाइएको आष्ट्राजेनेका भ्याक्सिन किन अमेरिकामा स्वीकृत छैन ?
यूकेमा उत्पादन गरिएको ‘अक्सफोर्ड आष्ट्राजेनेका कोभिड- १९’ भ्याक्सिनको भारतीय उत्पादन ‘कोभिशिल्ड’ नेपालमा लगाउने काम जारी छ । भारतले भ्याक्सिन कुटनीति अन्तरगत १० लाख डोज नेपाललाई उपहार दिएपछि नेपालमा यो भ्याक्सिन दिन सुरु गरिएको थियो ।
यो भ्याक्सिन यूकेमा स्वीकृत भइसकेको छ तर अमेरिकामा भने यो भ्याक्सिन अझै प्रयोगमा आएको छैन । अष्ट्राजेनेकाले अमेरिकामा भ्याक्सिनको प्रयोगको स्वीकृतिका लागि अझै केही महिना आवेदन नदिने जनाइएको छ । यूकेमा गरिएको परीक्षणमा केही अनौठा र अमिल्दा तथ्यांकहरु देखिनुका साथै यसमा एउटा गम्भीर प्रकारको गल्ती देखिएका कारण अमेरिकामा आपतकालिन प्रयोगको अनुमतिका लागि आवेदन दिनमा समेत ढिलो भएको अमेरिकाका भ्याक्सिन विज्ञहरुले बताएका छन् ।
यूकेमा डिसेम्बर ३० मा नै प्रयोगको स्वीकृति पाएको यो भ्याक्सिनले लगत्तै भारत, मेक्सिको, अर्जेन्टिना र अन्य केही देशमा पनि जाने अनुमति पाएको थियो । सेरम इन्स्टीच्युट अफ इन्डियाले भारतमा भ्याक्सिनको आपतकालिन प्रयोगका लागि अनुमति पाएको थियो । र लगत्तै नेपालमा पनि भ्याक्सिनको प्रयोगका लागि अनुमति दिइएको थियो ।

दुई डोज दिनुपर्ने यो भ्याक्सिन अमेरिकामा भने तत्कालै प्रयोगमा आउने सम्भावना देखिएको छैन । अमेरिकाको खाद्य तथा औषधी प्रशासनले कुनै पनि भ्याक्सिनलाई प्रयोगको अनुमति दिनु अगाडि खोपको स्वतन्त्र छानविन गर्नुका साथै भ्याक्सिनको सुरक्षा र प्रभावकारिता तथ्यांकको आफ्नौ वैज्ञानिक समिक्षा गर्छ ।
अमेरिकामा यसबारे अध्ययन गर्ने स्वतन्त्र सल्लाहकार समिति समेत रहेको छ । यो स्वतन्त्र समितिले एफडीए र भ्याक्सिन कम्पनीबाट आएका तथ्यांकको स्वतन्त्र रुपमा विश्लेषण गर्छ । बेलायतमा भने स्वीकृति प्रदान गर्ने नियामक एजेन्सी भ्याक्सिन सुरक्षित र प्रभावकारी भएको निष्कर्ष निकाल्न कम्पनीको तथ्यांकमा भरपर्छ ।
अमेरिकाको एफडीएले आष्ट्राजेनेका भ्याक्सिनको पेपरवर्क प्राप्त गर्नका लागि प्रतिक्षा गरेपनि आष्ट्राजेनेका भ्याक्सिनले उचित पेपरवर्क तयार गर्न अझै सकेको छैन । बेलायत, दक्षिण अफ्रिका र ब्राजिलमा झण्डै ५ हजार ८ सयमा गरिएको परीक्षणमा यो भ्याक्सिन लक्षण सहितको कोरोना रोकथामका लागि ६२ प्रतिशत प्रभावकारी रहेको निष्कर्ष निकालिएको थियो ।

आष्ट्राजेनेका परीक्षणमा एउटा गम्भिर गल्ती समेत भएको थियो । ५५ बर्षभन्दा कम उमेरका परीक्षणमा सहभागी एउटा समुहलाई गल्तीले भ्याक्सिनको पहिलो डोजको पूरै मात्रा नभई आधामात्रा प्रदान गरिएको थियो । त्यसपछि दोश्रो डोजको भने पूरै मात्रा प्रदान गरिएको थियो । अमेरिकाको भ्याक्सिन स्वीकृतिका लागि अनुमति दिने निकाय एफडीएका सल्लाहकार समितिका सदस्य समेत रहेका भ्याक्सिन विज्ञ डाक्टर कोडी मेस्नरले यसलाई गम्भिर प्रकारको गल्ती भएको बताएका छन् ।
यहाँ अनौठो त के छ भने पहिलो डोज आधा र दोश्रो डोज पूरै प्राप्त गरेका परीक्षणमा सहभागीहरुमा कोरोनाको संक्रमणबाट बच्नमा प्रभावकारिता बढी अर्थात् ९० प्रतिशतसम्म देखिएको थियो । पहिलो डोज पूरै लगाएकाहरुको तुलनामा आधा लगाएकाहरुमा भ्याक्सिन बढी प्रभावकारी देखिएपछि विज्ञहरु नै अलमलमा परेका छन् । तर पहिलो डोज गल्तीले आधा र दोश्रो डोज पूरै लगाएकाहरु १४ सयजनामात्र रहेका थिए ।
अर्कोतर्फ अमेरिकामा यो भ्याक्सिन स्वीकृतिका लागि भ्याक्सिनको तेश्रो चरणको परीक्षण बाँकी नै रहेको छ । आष्ट्राजेनेकाले भ्याक्सिनको अमेरिकामा तेश्रो चरणको परीक्षणका लागि ३० हजार व्यक्ति तयार पारिसकेको जनाएको छ । उनीहरुलाई २८ दिनको अन्तरमा दुईवटा डोज दिने बताइएको छ । अमेरिकाको एफडीएले कम्तीमा १५ हजारमा परीक्षण गर्न भनेको छ ।






