आइआरएसबाट राहत चेक पठाउने काम समाप्त, नपाएकाले के गर्ने?
प्रकाशित मिति : फाल्गुन ५, २०७७ बुधबार
अमेरिकामा आइआरएसबाट दोश्रो चरणको राहत चेक पठाउने काम समाप्त भएको छ । आईआरएसले सिधै बैंकमा, कार्डमार्फत र चेकमार्फत झण्डै ३ सय ७ मिलियन राहत चेक पठाएको जनाएको छ ।
पहिलो र दोश्रो चरणमा गरेर राहत चेकका रुपमा ४१२ बिलियन डलर पठाएको आईआरएसले जनाएको छ । अब राहत चेक पठाउने काम समाप्त भएकाले यो सातासम्म पनि राहत चेक प्राप्त नगरेकाले अब उक्त रकम ट्याक्स फाइल गर्दा दावी गर्नुपर्नेछ ।
आफू राहत चेकका लागि योग्य भएको वा आफूले राहत चेकबापतको पाउनुपर्ने पूरै रकम नपाएको लागेको खण्डमा ट्याक्स फाइल गर्दा रिकभरी रिबेट क्रेडिट दावी गर्नुपर्नेछ । अमेरिकामा शुक्रबारदेखि व्यक्तिगत ट्याक्स फाइल सुरु भइसकेको छ भने अप्रिल १५ सम्म ट्याक्स फाइल गरिसक्नुपर्नेछ ।
आईआरएसले पहिलो चरणमा १६० मिलियनलाई राहत चेक प्रदान गरेको थियो । जुन झण्डै २७० बिलियन रहेको थियो । दोश्रो चरणमा भने १४७ मिलियनलाई राहत चेक प्रदान गरेको छ । जुन झण्डै १४२ बिलियन रहेको छ ।
चार श्रेणीका व्यक्तिलाई यथाशीघ्र ट्याक्स फाइल गर्न सुझाव
केही श्रेणीका व्यक्तिलाई यथाशीघ्र ट्याक्स फाइल गर्न सुझाव दिइएको छ । तेश्रो चरणको राहत चेक संसदबाट पारित भइनसकेपनि हुने सम्भावना भएकाले राहत चेकको सम्पूर्ण अंश प्राप्त गर्न केही व्यक्तिले यथाशीघ्र ट्याक्स फाइल गर्न आवश्यक छ ।
पहिलो, सन् २०२० मा अमेरिका आएका र राहत चेक प्राप्त नगरेकाहरुले विगतका राहत चेक प्राप्त गर्नमात्र होइन, आगामी राहत चेक प्राप्त गर्नसमेत यथाशीघ्र ट्याक्स फाइल गर्न जरुरी छ । उनीहरुले आम्दानीको थ्रेसहोल्डको मापदण्ड पूरा गरेमा विगतका दुईवटा राहत चेक रिफण्डका रुपमा पाउनेछन् भने आगामी राहत चेक बैंक एकाउन्टमा प्राप्त गर्नेछन् ।
दोश्रो, सन् २०१९ मा धेरै आम्दानी गरेका कारण राहत चेक नपाएका वा कम पाएकाहरुले सन् २०२० मा कोरोनाको महामारीका कारण आम्दानी गुमाएका हुनसक्छन् । उनीहरुले पनि यथाशीघ्र ट्याक्स फाइल गरेमा तेश्रो चरणको राहत चेकको उचित मात्रा प्राप्त गर्नेछन् । यदि संसदबाट बिल पारित हुने बेलासम्म ट्याक्स फाइल नगरेमा आईआरएसले सन् २०१९ कै ट्याक्स फाइलमा भर परेर रकम पठाउने सम्भावना छ ।
तेश्रो, सन् २०२० मा बच्चा जन्माएकाहरुले पनि यथाशीघ्र ट्याक्स फाइल नगरे बच्चाका लागि प्राप्त हुने राहत चेक प्राप्त गर्न अर्को बर्ष कुनुपर्ने हुनसक्छ । सन् २०२० मा जन्मेको बच्चालाई समावेश गरेर यथाशीघ्र ट्याक्स फाइल गर्दा विगतका दुईवटै राहत चेक प्राप्त हुनेमात्र नभई आगामी राहत चेक पनि नियमित समयमै प्राप्त गर्न सकिनेछ । नत्र २०२२ मा ट्याक्स फाइल गर्दामात्र तेश्रो राहत चेकको रकम दावी गर्ने अवस्था आउनसक्छ ।

चौथो, डिभोर्स वा विवाह गरेकाहरुले पनि ट्याक्स फाइल यथाशीघ्र गर्नु उपयुक्त हुनेछ । यसो हुँदा आईआरएसले तेश्रो राहत चेक पठाउँदा पछिल्लो वैवाहिक अवस्थाका आधारमा पठाउनेछ । अन्यथा डिभोर्स भएको व्यक्तिको खातामा आफ्नो सबै रकम जानसक्ने सम्भावना समेत रहनेछ ।
३ प्रकारका क्रेडिट
योग्य हुँदा हुँदै पनि कुनै कारणवश राहत चेक नपाएकाहरुले रकम प्राप्त गर्नका लागि तपाईले रिफण्डयुक्त रिकभरी रिबेट क्रेडिट दावी गर्नुपर्छ । त्यसपछि तपाईले रिफण्ड प्राप्त गर्नुपर्ने अवस्था भएमा उक्त रकम रिफण्डमा जोडिएर प्राप्त हुन्छ । ट्याक्स तिर्नुपर्ने अवस्था भएमा उक्त रकम घटाएर ट्याक्स रकम कम बनाइनेछ । यदि तपाईले आईआरएसलाई तिर्नुपर्ने रकमको तुलनामा राहतको रकम धेरै भएमा भने बाँकी रकम रिफण्डका रुपमा प्राप्त हुनेछ ।
तपाई अर्नड इन्कम ट्याक्स क्रेडिटका लागि पनि योग्य हुनसक्ने सम्भावना रहन्छ । तर त्यसका लागि तपाईसँग भएका बालबच्चाका आधारमा आम्दानीको थ्रेसहोल्ड तोकिएको हुन्छ ।
अर्नड इन्कम ट्याक्स क्रेडिटका लागि योग्य भए नभएको थाहा पाउन यहाँ क्लीक गर्नुहोला ।
सामान्यतया यदि तपाई बच्चा नभएका विवाहित दम्पत्ति हुनुहुन्छ भने तपाईको कुल आम्दानी सन् २०२० मा २१ हजार २१० भन्दा धेरै हुनुहुँदैन । तर तपाईका तीनवटासम्म बच्चा छन् भने ५६ हजार ८ सय ४४ डलरभन्दा कम आम्दानी हुनेहरु पनि योग्य हुनसक्छन् । यसमा आईआरएसका अरु मापदण्डहरु पनि पूरा गर्नुपर्छ ।
अर्नड इन्कम ट्याक्स क्रेडिटबारे थप जानकारीका लागि यहाँ हेर्नुहोला ।
यो क्रेडिट बच्चा नभएकाहरुले एकजनाले ५३८ डलरसम्म र बच्चा हुनेहरुले ६ हजार ६ सय ६० डलरसम्म प्राप्त गर्नसक्छन् । कोरोना महामारीबाट प्रभावितलाई बढी रकम प्रदान गर्न यो नियम केही ट्वीस्ट समेत गरिएको छ । अर्थात् तपाईले बढी क्रेडिट प्राप्त गर्न २०२० वा २०१९ मध्ये जुनसुकै बर्षको आम्दानीको आधार छनौट गर्न सक्नुहुनेछ ।
यदि तपाई रिफण्डयुक्त चाइल्ड ट्याक्स क्रेडिटका लागि योग्य हुनुहुन्छ भने पनि त्यस्तै नियम लागु हुनेछ ।
चाइल्ड ट्याक्स क्रेडिटका लागि योग्य भए नभएको थाहा पाउन यहाँ क्लीक गर्नुहोला ।
यदि साना व्यवसायीहरुले अनुदानमा रुपान्तरण भइसकेको पेचेक प्रोटेक्सन प्रोग्राम अन्तरगतको रकम प्राप्त गरेर विजनेश खर्चमा लगाएको भएमा आम्दानी बाहिरबाट भुक्तान गरेको सन्दर्भमा संघीय ट्याक्स रिटर्नमा त्यो खर्च घटाउन पाउनेछन् । मिनाहा दिइएको ऋण ट्याक्स फ्रि रकमका रुपमा रहनेछ ।






