सन् २०२० मा अमेरिका आएकाहरुले दुईवटै राहत चेक पाउने (भिडियोसहित)
प्रकाशित मिति : माघ ३०, २०७७ शुक्रबार
सन् २०२० मा आप्रवासी भिसामा अमेरिका आएकाहरुले दुइवटै राहत चेक पाउने तर त्यसका लागि ट्याक्स फाइल गर्दा उक्त रकम दावी गर्न सकिने अमेरिकाका चर्चित नेपाली सीपीए विराज रिजालले जानकारी दिनुभएको छ । कम आम्दानी भएका कारण ट्याक्स फाइल गर्नु नपर्नेहरुले पनि राहत चेकको रकम दावी गर्न ट्याक्स फाइल गर्नसक्ने उहाँले जानकारी दिनुभएको छ ।
अमेरिकाको आन्तरिक राजस्व सेवा आईआरएसले आजदेखि कागजी र विद्युतीय ट्याक्स फाइल स्वीकार्न सुरु गरिसकेको छ । म्याद नथपिएको खण्डमा अप्रिल १५ सम्म डेडलाइन रहेको छ ।
कोरोनाको महामारीका कारण अमेरिकी सरकारले पहिलो चरणमा १२ सय डलर र दोश्रो चरणमा ६ सय डलरको राहत चेक उपलब्ध गराएको थियो । नन फाइलर्सका रुपमा आईआरएसलाई जानकारी गराउन छुटेकाहरुले पनि ट्याक्स फाइल गर्दा उक्त रकम प्राप्त गर्ने सक्ने रिजाललले जानकारी दिनुभयो । ट्याक्स तिर्नु नपर्नेहरुले रिफण्ड रकममा रुपमा र ट्याक्स तिर्नुपर्नेहरुले क्रेडिटका रुपमा उक्त रकम प्राप्त गर्नेछन् ।
पहिलो वा दोश्रोमध्ये एउटामात्र राहतचेक पाएकाहरु र राहत चेकको सम्पूर्ण अंश प्राप्त नगरेकाहरुले पनि आम्दानीको थ्रेसहोल्ड लगायतका मापदण्डहरु पूरा गरेको खण्डमा बाँकी रकम पाउनसक्ने सीपीए रिजालले जानकारी दिनुभयो । विगतको आम्दानीको आधारमा पूर्णरुपमा राहत चेक पाएका तर सन् २०२० को आम्दानी तोकिएको थ्रेसहोल्डभन्दा बढी भएकाहरुले पाइसकेको रकम फिर्ता गर्नु नपर्ने पनि उहाँले जानकारी दिनुभयो ।
त्यस्तै सन् २०२० मा जन्मेको बच्चाका लागि सुरुको ५ सय डलर र दोश्रोपटकको ६ सय डलरको राहत चेक प्राप्त गर्न सकिने भएको छ । बाबुआमाले अन्य आम्दानीको मापदण्ड पूरा गरेको भएमा सन् २०२० को जनवरी १ देखि डिसेम्बर ३१ भित्र जन्मेका बच्चाका लागि दुबै राहत चेक प्राप्त हुने भएको छ । अर्थात् २०२० भित्र जुनसुकै मितिमा जन्मेका बच्चाका लागि दुबै चेक प्राप्त हुनेछ ।

सन् २०२० मा जन्मेको बच्चाबारे आईआरएसले थाहा नपाएका कारण बच्चा बाहेकको राहत चेक प्राप्त गरेकाले ट्याक्स फाइल गर्दा बच्चाको दुईचरणको ११ सय डलर प्राप्त गर्नेछन् । योग्यता पूगेर पनि अन्य कारणले राहत चेक नपाएका बाबुआमाले बच्चाको समेत रकम जोडेर राहत चेक प्राप्त गर्नेछन् ।
७५ हजार भन्दा कम आम्दानी भएका एकल व्यक्ति, १ लाख १२ हजार ५ सयभन्दा कम आम्दानी भएका घरमूली र १ लाख ५० हजार भन्दा कम आम्दानी भएका दम्पत्तिले बच्चाको राहत चेक पूर्णरुपमा प्राप्त गर्नेछन् । ट्याक्स फाइल गर्दा उक्त रकम रिकभरी रिबेट क्रेडिटका रुपमा प्राप्त हुनेछ ।
तपाईको सन् २०२० को आम्दानी कम भएका कारण आईआएसएको नियम अनुशार ट्याक्स फाइल गर्न नपर्ने भएतापनि तपाईले यसपटक छुटेको राहत चेक प्राप्त गर्नका लागि ट्याक्स फाइल गर्न उचित हुनसक्छ ।

यदि सन् २०२० मा तपाईले डिभोर्स गर्नुभएको थियो भने अवस्था फरक हुनसक्छ । डिभोर्स गरेको अवस्थामा गैर संरक्षक अभिभावकको नाममा पहिले नै चेक गएको थियो भने उक्त चेक आईआरएसलाई फिर्ता गर्नुू पर्दैन । तर बच्चा आफ्नो संरक्षणमा रहेको तर राहत रकम नपाएको पुष्टी गर्ने अभिभावकले भने बच्चाका तर्फबाट रकम प्राप्त गर्न सक्नेछन् ।
रकम प्राप्त गर्नका लागि तपाईले रिफण्डयुक्त रिकभरी रिबेट क्रेडिट दावी गर्नुपर्छ । त्यसपछि तपाईले रिफण्ड प्राप्त गर्नुपर्ने अवस्था भएमा उक्त रकम रिफण्डमा जोडिएर प्राप्त हुन्छ । ट्याक्स तिर्नुपर्ने अवस्था भएमा उक्त रकम घटाएर ट्याक्स रकम कम बनाइनेछ । यदि तपाईले आईआरएसलाई तिर्नुपर्ने रकमको तुलनामा राहतको रकम धेरै भएमा भने बाँकी रकम रिफण्डका रुपमा प्राप्त हुनेछ ।






