आजदेखि अमेरिकामा ट्याक्स फाइल सुरु, ध्यान दिनुहोस् ३ प्रकारका क्रेडिट
प्रकाशित मिति : माघ ३०, २०७७ शुक्रबार
अमेरिकाको आन्तरिक राजस्व सेवा आईआरएसले आजदेखि कागजी र विद्युतीय ट्याक्स फाइल स्वीकार्न सुरु गर्ने भएको छ । अमेरिकामा कोरोनाको महामारीका कारण पहिलो र दोश्रो चरणको राहत चेकका लागि योग्य भएका तर कुनै कारणवश राहत चेक प्राप्त गर्न नसकेकाहरुले ट्याक्स फाइल गर्दा उक्त रकमको क्रेडिट प्राप्त गर्नेछन् ।
यसपटक सकभर विद्युतीय रुपमा नै ट्याक्स फाइल गर्न सुझाव दिइएको छ । छिटो रिफण्ड प्राप्त गर्न चाहनेहरुले पनि विद्युतीय रुपमा ट्याक्स फाइल गर्नुपर्ने र डिपोजिटका लागि बैंक एकाउन्ट दिंदा उपयुक्त हुने आईआरएसको सुझाव रहेको छ ।
यसपटक कोरोनाको महामारीका कारण कैयनले बेरोजगारी विमा रकम वा महामारी बेरोजगारी सहायता रकम प्राप्त गरेकाले १०९९ जी समेत रिपोर्ट गर्नुपर्नेछ । ट्याक्स विथहोल्ड नगरी पूरै रकम लिएकाहरुले ट्याक्स फाइल गर्दा रकम तिर्नुपर्ने अवस्था समेत आउनसक्छ ।
सन् २०२० मा जन्मिएको बच्चाका लागि पनि सुरुको ५ सय डलर र दोश्रोपटकको ६ सय डलरको राहत चेक प्राप्त हुनेछ । तर उक्त बच्चाको विवरण ट्याक्स फाइल गर्दा समावेश गर्नुपर्छ ।

रकम प्राप्त गर्नका लागि तपाईले रिफण्डयुक्त रिकभरी रिबेट क्रेडिट दावी गर्नुपर्छ । त्यसपछि तपाईले रिफण्ड प्राप्त गर्नुपर्ने अवस्था भएमा उक्त रकम रिफण्डमा जोडिएर प्राप्त हुन्छ । ट्याक्स तिर्नुपर्ने अवस्था भएमा उक्त रकम घटाएर ट्याक्स रकम कम बनाइनेछ । यदि तपाईले आईआरएसलाई तिर्नुपर्ने रकमको तुलनामा राहतको रकम धेरै भएमा भने बाँकी रकम रिफण्डका रुपमा प्राप्त हुनेछ ।
तपाई अर्नड इन्कम ट्याक्स क्रेडिटका लागि पनि योग्य हुनसक्ने सम्भावना रहन्छ । तर त्यसका लागि तपाईसँग भएका बालबच्चाका आधारमा आम्दानीको थ्रेसहोल्ड तोकिएको हुन्छ ।
अर्नड इन्कम ट्याक्स क्रेडिटका लागि योग्य भए नभएको थाहा पाउन यहाँ क्लीक गर्नुहोला ।
सामान्यतया यदि तपाई बच्चा नभएका विवाहित दम्पत्ति हुनुहुन्छ भने तपाईको कुल आम्दानी सन् २०२० मा २१ हजार २१० भन्दा धेरै हुनुहुँदैन । तर तपाईका तीनवटासम्म बच्चा छन् भने ५६ हजार ८ सय ४४ डलरभन्दा कम आम्दानी हुनेहरु पनि योग्य हुनसक्छन् । यसमा आईआरएसका अरु मापदण्डहरु पनि पूरा गर्नुपर्छ ।
अर्नड इन्कम ट्याक्स क्रेडिटबारे थप जानकारीका लागि यहाँ हेर्नुहोला ।
यो क्रेडिट बच्चा नभएकाहरुले एकजनाले ५३८ डलरसम्म र बच्चा हुनेहरुले ६ हजार ६ सय ६० डलरसम्म प्राप्त गर्नसक्छन् । कोरोना महामारीबाट प्रभावितलाई बढी रकम प्रदान गर्न यो नियम केही ट्वीस्ट समेत गरिएको छ । अर्थात् तपाईले बढी क्रेडिट प्राप्त गर्न २०२० वा २०१९ मध्ये जुनसुकै बर्षको आम्दानीको आधार छनौट गर्न सक्नुहुनेछ ।
यदि तपाई रिफण्डयुक्त चाइल्ड ट्याक्स क्रेडिटका लागि योग्य हुनुहुन्छ भने पनि त्यस्तै नियम लागु हुनेछ ।
चाइल्ड ट्याक्स क्रेडिटका लागि योग्य भए नभएको थाहा पाउन यहाँ क्लीक गर्नुहोला ।
यदि साना व्यवसायीहरुले अनुदानमा रुपान्तरण भइसकेको पेचेक प्रोटेक्सन प्रोग्राम अन्तरगतको रकम प्राप्त गरेर विजनेश खर्चमा लगाएको भएमा आम्दानी बाहिरबाट भुक्तान गरेको सन्दर्भमा संघीय ट्याक्स रिटर्नमा त्यो खर्च घटाउन पाउनेछन् । मिनाहा दिइएको ऋण ट्याक्स फ्रि रकमका रुपमा रहनेछ ।






