प्रचण्ड-नेपाल पक्षको आज काठमाडौँमा शक्ति प्रदर्शन, २ लाख जनता उतार्ने तयारी
प्रकाशित मिति : माघ २८, २०७७ बुधबार
संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध नेकपाको प्रचण्ड–नेपाल पक्षले आज काठमाडौँमा बृहत विरोध प्रदर्शन गर्दैछ ।
सभा भृकुटीमण्डपमा हुनेछ । सो पक्षले बुधबार बिहान ११ बजे काठमाडौँका पाँच ठाउँबाट जुलुस निकाल्ने छ। जसमा पुल्चोक, माइतीघरमण्डला, केशरमहल, त्रिपुरेश्वर र जमलबाट जुलुस निकाल्ने रुट तय भएको छ ।
पुल्चोकबाट निस्कने जुलुसको नेतृत्व कृष्णबहादुर महरा, पम्फा भुसाल र रघुजी पन्तलगायतले गर्नेछन्। यस्तै, त्रिपुरेश्वरबाट निस्कने जुलुस अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल र जनार्दन शर्मा लगायतले गर्नेछन् भने माइतीघरबाट निस्कने जुलुसमा अमृतकुमार बोहरा, गिरिराजमणि पोखरेल लगायत नेताहरु सहभागी हुने भएका छन् ।
केशरमहलबाट सुरु हुने जुलुसको नेतृत्व देव गुरुङ, देवेन्द्र पौडेल, भीम रावल, शक्ति बस्नेत लगायत केन्द्रीय नेताहरुले गर्नेछन् भने जमलबाट निकाल्ने जुलुसमा लिलामणि पोखेल, केन्द्रीय कमिटी सदस्यहरु रहनेछन् । मुल जुलुस भने सुनधाराबाट सुरु हुनेछ ।
त्यसपछि भृकुटीमण्डपमा पुगेर परिणत हुने सभालाई अध्यक्षद्वय प्रचण्ड-नेपाललगायत शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् । आजको प्रदर्शनमा दुई लाख जनता सडकमा उतार्ने दाबी प्रचण्ड-नेपाल पक्षको छ ।






