प्रचण्ड-नेपाल पक्षको आमहड्ताले बुटवलको जनजीवन प्रभावित
प्रकाशित मिति : माघ २२, २०७७ बिहीबार
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड माधव पक्षले आहृवान गरेको आमहड्तालले देशभरसहित लुम्बिनी प्रदेशको बुटवलमा कडा प्रभाव परेको छ । बुटवलको बसपार्कबाट छुट्ने् लामो तथा छोटो दुरीका सवारी साधन तथा ठप्प छन् भने मोटरसाइकल लगायत केही निजी सवारी साधन फ्याट्ट फुट्ट मात्रै चलेका छन् । बजार, शिक्षण संस्थाहरु पनि बन्द छन् । आन्दोलनकारीले सडकमा टायर बालेर, ट्रक तेर्स्याएर सवारी साधन चल्न दिएका छैनन् ।
कार्यकर्ताहरूले मूख्य–मूख्य चोकमा ठूलो संख्यामा गाडिहरुलाई रोकेर राखेका छन् । यद्यपि, एम्बुलेन्स, परिक्षार्थी बोकेका सवारी, दुध बोक्ने गाडी तथा बिरामीहरु बोकेका सवारीहरू रोकिएका छैनन् । प्रहरीको उपस्थिति पनि बाक्लो बनाइएको छ ।
शान्ति सुरक्षामा खलल पुग्ने गरी तोडफोड, आगजनी र जबर्जस्तीलगायतका अवाञ्छित गतिविधि गरेको पाइएमा संलग्न हुनेउपर कानूनी कारवाही गरिने मन्त्रालयले चेतावनी दिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटन र संवैधानिक आयोगहरुमा संसदीय सुनुवाईविनै गरिएको नियुक्ति असंवैधानिक,अलोकतान्त्रिक र प्रतिगामी भएको भन्दै त्यसको विरोधमा नेकपाको प्रचण्ड माधव समूहले आम हड्ताल आहृवान गरेको हो ।
बन्दको अवज्ञा गरेको भन्दै चार ट्रकमा तोडफोड
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आयोजना गरेको बन्दका क्रममा सञ्चालन गरेको भन्दै बन्दकर्ताले चार ट्रकमा तोडफोड गरेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेका दुइ र वीरगञ्जबाट पोखरातर्फ जाँदै गरेको एउटा ट्रक तोडफोड गरेका हुन् ।
बन्दकर्ताले ना३ख ३९३, ना१क १४३५ र ना८ख ४४८० नम्बरको ट्रक तोडफोड गरेको प्रहरीले जनाएको छ । मोटरसाइकलमा आएका बन्द कर्ताले भरतपुर महानगरपालिका–१ भतेरीमा ट्रक तोडफोड गरेका हुन् । यस्तै टाँडीबाट नारायणगढतर्फ आउँदै गरेको ना४ख ८८५५ नम्बरको मालबाहक ट्रकलाई भरतपुर महानगरपालिका–१२ मिलनचोकमा तोडफोड गरेको प्रहरीले जनाएको छ ।






