यसपटक सकभर विद्युतीय रुपमा ट्याक्स फाइल गर्न सुझाव, छिटो रिफण्ड पाउने तरिका यस्तो
प्रकाशित मिति : माघ १८, २०७७ आईतबार
अमेरिकाको आन्तरिक राजस्व सेवा आईआरएसले फेब्रुअरी १२, २०२१ देखि कागजी र विद्युतीय ट्याक्स फाइल स्वीकार्न सुरु गर्नेछ । डिसेम्बर २७ मा परिवर्तन भएको ट्याक्स कानुन अनुशार थप प्रणालीको परीक्षणका लागि समय लाग्ने भएकाले ट्याक्स फाइल गर्ने मितिमा यो बर्ष ढिलाई भएको छ ।
विद्युतीय रुपमा इन्टरनेटमार्फत फाइल गर्ने र डाइरेक्ट डिपोजिटको तरिका दिनेहरुले एकदेखि तीनसाताभित्र रिफण्ड रकम प्राप्त गर्नसक्ने आईआरएसले जनाएको छ ।
हुलाकमार्फत फाइल गर्ने र चेकमार्फत रिफण्ड प्राप्त गर्ने करदाताका सन्दर्भमा भने केही लामो समय लाग्न सक्नेछ । कागजी फाइल गर्ने र कागजको चेक प्राप्त गर्ने करदाताका हकमा रिफण्ड प्राप्त गर्न दुईमहिनासम्म समेत लाग्नसक्ने जनाइएको छ ।
इन्टरनेटमार्फत फाइल गर्ने र बैंकमा डाइरेक्ट डिपोजिटको विकल्प दिने करदाताले एकदेखि तीनसाताभित्र रिफण्ड रकम प्राप्त गर्न सक्नेछन् । कागजमार्फत हुलाकबाट फाइल गर्ने तर बैंकमा डाइरेक्ट डिपोजिटको विकल्प दिने करदातालाई रिफण्ड प्राप्त गर्न कम्तीमा तीनसाता लाग्नसक्नेछ ।
इन्टरनेटमार्फत फाइल गर्ने तर रिफण्डका लागि चेकको विकल्प दिने करदाताले रिफण्ड चेक प्राप्त गर्न एकमहिना लाग्नेछ । कागजमार्फत हुलाकबाट फाइल गर्ने र रिफण्डका लागि चेकको विकल्प दिने करदाताले रिफण्ड चेक प्राप्त गर्न २ महिना लाग्नेछ ।

त्यसैले सकभर छिटो रिफण्ड प्राप्त गर्नका लागि इन्टरनेटमार्फत फाइल गर्ने र बैंकमा डाइरेक्ट डिपोजिटको विकल्प दिन सुझाव दिइएको छ । कोरोनाको महामारीका कारण पनि यसपटक सकभर विद्युतीय रुपमा नै ट्याक्स फाइल गर्न सुझाव दिइएको छ ।
कतिपय कम्पनीहरु र पेशाकर्मीहरुले फेबु्रअरी १२ अगाडि नै अग्रिम फाइलका लागि आव्हान गरेपनि उक्त मितिभन्दा अगाडि विवरणमात्र संकलन हुने र वास्तविक रुपमा फाइल भने फेबु्रअरी १२ पछाडि नै हुने जनाइएको छ । आईआरएसको प्रणाली खुला भएपछिमात्र ती कम्पनी र ट्याक्स सम्बन्धी काम गर्ने पेशाकर्मीहरुले ट्याक्स फाइल गर्न सक्नेछन् ।
गतबर्ष औषत ट्याक्स रिफण्ड रकम प्रतिव्यक्ति २५ सय डलर रहेको थियो । यो बर्ष १५० मिलियन भन्दा धेरै ट्याक्स रिटर्न फाइल गर्ने अपेक्षा गरिएको छ । ट्याक्स फाइल गर्नुपर्ने डेडलाइन अप्रिल १५ सम्म रहेको छ । डेडलाइन थप हुनसक्ने सम्भावना रहेपनि अहिलेका लागि भने अप्रिल १५ कै डेडलाइन कायम गरिएको हो ।
यसपटक कोरोनाको महामारीका कारण कैयनले बेरोजगारी विमा रकम वा महामारी बेरोजगारी सहायता रकम प्राप्त गरेकाले १०९९ जी समेत रिपोर्ट गर्नुपर्नेछ । ट्याक्स विथहोल्ड नगरी पूरै रकम लिएकाहरुले ट्याक्स फाइल गर्दा रकम तिर्नुपर्ने अवस्था समेत आउनसक्छ ।






