नेपालमा पहिलो दिन झण्डै ९ हजारलाई खोप, फ्रन्टलाइनरले लगाउँदै गरेका केही तस्बिर


प्रकाशित मिति : माघ १४, २०७७ बुधबार

नेपालमा कोरोनाबिरुद्धको खोप अभियानको पहिलो दिन बेलुका ५ बजेसम्म कुल ९,०४८ जनालाई खोप दिइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। खोप लगाइएका व्यक्तिमा तत्कालै कुनै स्वास्थ्य समस्या नदेखिएको जनाइएको छ ।

भारतबाट अघिल्लो साता प्राप्त १० लाख कोभिशील्ड खोप पहिलो चरणमा वितरणका लागि ६४ जिल्लाका ९३ केन्द्रमा खोप कार्यक्रम सञ्चालन गरिएको छ । भारतबाट अनुदानमा प्राप्त खोप स्वास्थ्यकर्मी सहित अग्रमोर्चामा खटिने चार लाख ३० हजार व्यक्तिहरूलाई दिन लागिएको छ ।

भारतको औषधि नियामक निकायले अक्सफर्ड(आस्ट्राजेनेकाले विकसित गरेको खोपको स्थानीय नाम कोभिशील्ड हो। अक्सफर्ड(आस्ट्राजेनेकाको खोप स्थानीय रूपमा उत्पादन गरिरहेको सिरम इन्स्टिट्यूट अफ इन्डिया संसारकै सबैभन्दा ठूलो खोप उत्पादक हो।

कोभिशील्ड नाम दिइएको खोप चिम्पान्जीबाट निकालिएको सामान्य रुघाखोकीको कमजोर पारिएको भाइरसमा आधारित छ। सो भाइरसलाई कोरोनाभाइरसजस्तै बनाइएको छ तर त्यसले सङ्क्रमण गर्दैन।

एक जना मानिसलाई यो खोपको दुई मात्रा चारदेखि १२ साताको फरकमा दिइन्छ र यसलाई २ देखि ८ डिग्री सेल्सीअस तापक्रममा सुरक्षित राख्न सकिन्छ।

त्यो तापक्रम भनेको सामान्य फ्रिजको तापक्रम हो र यसलाई अन्य खोप सरह दिन सकिन्छ। यसकारण यो फाइजर वा मोडेर्ना खोपभन्दा ओसारपसार र वितरणका लागि सहज छ। क्लिनिकल परीक्षणमा यो खोप पुरै मात्रामा दिइएको अवस्थामा ९० प्रतिशतसम्म प्रभावकारी देखिएको छ।

नेपालमा आज सुरु खोप अभियानका क्रममा थापाथलीमा बनाइएको खोप केन्द्रमा फ्रन्टलाइनर स्वास्थ्यकर्मीहरुलाई खोप दिइदैगर्दाका केही तस्वीरहरु । यो अन्य तोकिएका केही प्राइभेट अस्पतालका फ्रन्टलाइनरहरुका लागि पनि खोप लगाउने केन्द्र हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com