बाइडेनको अध्यागमन प्याकेजः कसले पाउनेछन् ग्रिनकार्ड? कति बर्ष लाग्नेछ? नेपाली कति?


प्रकाशित मिति : माघ ४, २०७७ आईतबार

❒  प्याकेजको केन्द्रमा रहेको मुख्य विषय ११ मिलियन कागजपत्रविहिनलाई ग्रिनकार्ड हुँदै नागरिकता, त्यसका लागि ८ बर्षको बाटो

❒  बाल्यकालमा अमेरिका आएका र डाकाले समेटेका कागजपत्रविहिनहरु, टीपीएसले समेटेकाहरु र अत्यावश्यक कामदारहरु यो प्याकेज अन्तरगत ग्रिनकार्ड हुँदै नागरिकताको बाटोमा जान योग्य हुनसक्ने

❒  बृहत अध्यागमन बिल पारित भएमा अमेरिकामा रहेका २५ हजार भन्दा धेरै नेपालीहरु ग्रिनकार्ड हुँदै अमेरिकी नागरिकताका लागि योग्य हुनसक्ने

❒ खसोखासमा थप समाचारहरुका लागि यहाँ क्लीक गर्नुहोला ।

 

नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले सपथग्रहणको पहिलो दिनमा नै बृहत अध्यागमन सुधारको प्याकेज सार्वजनिक गर्ने प्रतिबद्धता जनाएका छन् । ११ मिलियन कागजपत्रविहिनलाई ग्रिनकार्ड हुँदै नागरिकताको बाटोमा लैजाने उक्त बिल कार्यान्वयन हुनका लागि संसदका दुबै सदनबाट पारित हुन जरुरी छ ।

बृहत अध्यागमन सुधार प्याकेज विस्तारमा अझै सार्वजनिक भएको छैन । तर यो प्याकेजका केही मुख्य विषयहरु भने सार्वजनिक भएका छन् ।

यो प्याकेजको मुख्य विषय के के छ ? हामीले त्यसलाई बुंदागत रुपमा उजागर गर्ने प्रयास गरेका छौं ।

नागरिकता पाउन ८ बर्ष

यो प्याकेजको केन्द्रमा रहेको मुख्य विषय ११ मिलियन कागजपत्रविहिनलाई ग्रिनकार्ड हुँदै नागरिकताको बाटोमा लैजाने नै हो । त्यसका लागि ८ बर्षको बाटो बनाइनेछ । अर्थात् उनीहरुले नागरिकता प्राप्त गर्न ८ बर्ष लाग्नसक्छ ।

योग्य कागजपत्रविहिनहरुले ५ बर्षमा अमेरिकाको ग्रिनकार्ड प्राप्त गर्नेछन् । सामान्यतया अरु व्यक्तिले ग्रिनकार्ड प्राप्त भएको ५ बर्षमा अमेरिकी नागरिकताका लागि आवेदन दिन योग्य हुने भएपनि प्याकेजले समेटेकाहरु भने ३ बर्षमा नै नागरिकताका लागि आवेदन दिन योग्य हुनेछन् । यसरी ग्रिनकार्ड हुँदै नागरिकता प्राप्त गर्दासम्म ८ बर्ष लाग्न सक्नेछ ।

को को योग्य हुनेछन्?

यो प्याकेज अनुशार ग्रिनकार्ड हुँदै नागरिकताको बाटोमा जानका लागि को को व्यक्ति योग्य हुनेछन् भन्नेबारे अहिलेसम्म स्पष्ट छैन । तर बाल्यकालमा अमेरिका आएका र डाकाले समेटेका कागजपत्रविहिनहरु, टीपीएसले समेटेकाहरु र अत्यावश्यक कामदारहरु यो प्याकेज अन्तरगत ग्रिनकार्ड हुँदै नागरिकताको बाटोमा जान योग्य हुनसक्ने जनाइएको छ ।

फोटो: अधिकार

निश्चित अवधिभन्दा अगाडि अमेरिका आएका कागजपत्रविहिनहरु पनि यो प्याकेज अन्तरगत ग्रिनकार्ड हुँदै नागरिकताका लागि योग्य हुनसक्नेछन् । त्यसो भएमा निश्चित मितिभन्दा अगाडि अमेरिका आएका एसाइलम पेन्डिंग रहेका लगायत सबै कागजपत्रविहिनहरु ग्रिनकार्ड हुँदै नागरिकताका लागि योग्य हुनसक्नेछन् ।

को हुन् अत्यावश्यक कामदार ?

कुन कुन श्रेणीका अत्यावश्यक कामदारहरु यो प्याकेजमा समेटिनेछन् भन्ने प्याकेजको पूर्ण पाठ सार्वजनिक भएपछिमात्र थाहा हुनेछ । तर अहिले डेमोक्रेटिक सांसदहरुले खेतीपाती र कृषि उत्पादनमा काम गर्ने, मासु उद्योगहरुमा काम गर्ने लगायतलाई ग्रिनकार्ड हुँदै नागरिकताको बाटोमा लैजानुपर्नेमा जोड दिएका छन् ।

यदि यो प्याकेज पारित भएमा अमेरिकाको इतिहासमा सन् १९८६ यताकै बृहत प्याकेज हुनेछ । सन् १९८६ मा राष्ट्रपति रोनाल्ड रेगनका पालामा अध्यागमन सुधार तथा नियन्त्रण ऐन १९८६ ल्याइएको थियो । उक्त बिलले ३० लाख कागजपत्रविहिनलाई वैद्य स्टाटस प्रदान गरेको थियो ।

को हुन् ११ दशमलव ९ मिलियन कागजपत्रविहिन?

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले सन् २०१८ को डिसेम्बरमा निकालेको एउटा तथ्यांक अनुशार अमेरिकामा सन् २०१५ को जनवरी १ अगाडि अमेरिका आएका ११ दशमलव ९६ मिलियन कागजपत्रविहिनहरु रहेका छन् । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको तथ्यांक सन् २०१५ पछाडिको सार्वजनिक भएको छैन ।

झण्डै ११ मिलियन कागजपत्रविहिनहरुमध्ये झण्डै ५ मिलियन मेक्सिकनहरु रहेका छन् । झण्डै २ मिलियन मध्य अमेरिकनहरु रहेका छन् भने झण्डै डेढ मिलियन एसियनहरु रहेका छन् । कागजपत्रविहिन ११ मिलियनमध्ये झण्डै दुई तिहाई १० बर्षभन्दा बढी अमेरिकामा बस्दै आएकाहरु छन् । ५ बर्षभन्दा कम समयदेखि अमेरिकामा बसेका कागजपत्रविहिनहरु २० प्रतिशत रहेका छन् ।

झण्डै ८ लाख कागजपत्रविहिनलाई डाकाले समेटेको छ । झण्डै ४ लाखलाई टीपीएसले समेटेको छ । डाकाले समेटेका नेपालीहरु झण्डै ५ दर्जन रहेका छन् भने टीपीएसले समेटेकाहरु झण्डै ९ हजार छन् । अध्यागमन अदालतमा एसाइलम पेन्डिंग रहेका नेपालीहरु झण्डै ४ हजार रहेका छन् । यदि बृहत अध्यागमन बिल पारित भएमा अमेरिकामा रहेका २५ हजार भन्दा धेरै नेपालीहरु ग्रिनकार्ड हुँदै अमेरिकी नागरिकताका लागि योग्य हुनसक्नेछन् ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com