विभेदसँग लडन प्रेरणा दिने मेरा ‘बा’ रुपबहादुर परियार


प्रकाशित मिति : पुस २८, २०७७ मंगलबार

❒  गाउँमा प्रौढ कक्षा संचालन गर्दा लाल्टिन बालेर हामी बाबुछोरी राती अबेर सम्म बसेर गाउका महिलालाई पढाउने काम गर्थ्यौ । दिनभर लुगा सिलाएर थाकेका मेरा बा सुरक्षा कवच र सहकर्मी बनेर बस्नुहुन्थ्यो ।

❒ हामी ११ जना छोराछोरीलाई खुवाई पियाइ गर्दा कसौडी र कराइमा भात तरकारी सकिए पछि ‘आज खान मन छैन’ भन्ने मेरा बा ।

❒  मेरा बालाई थाहा थियो आफू दलित हुनुको कारण तसर्थ आफ्ना सन्तान पढाएर यो निक्रिस्ट जात संरचना विरुद्द लडन जीवन पर्यन्त प्रेरित गर्नु भयो ।

 

– डा. बिष्णुमाया परियार

मलाई मेरो जन्म संयोगमा गर्व छ । म जस्तै हरेक मान्छेलाई आफ्नो जन्म संयोगमा गर्व हुन्छ । म मेरा बाआमा प्रति जति नतमस्तक हुन्छू,सबै मान्छे आफ्ना मातापिता प्रति श्रद्दावत हुन्छन् ।

हरेक सन्तानको लागि आफ्ना बाआमा आदर्श र संसारकै महान व्यक्ति लाग्छन् । मलाई पनि मेरा बा त्यस्तै आदर्श र महान लाग्छन् जसले अभाव र दुखका बीच पनि हामीलाई हुर्काएर बढाएर, पढ़ाएर आफ्नो कर्तव्य पालना गर्नु भयो ।

आफ्ना ११ जना सन्तानलाई तपाईले हुर्काउने बढाउने र पढाउने क्रममा जे गर्नु भयो त्यो संसारकै उत्कृस्ट कार्य गर्नु भयो जसको कसैसँग तुलना गरेर म अपमान गर्न सक्दिन । यदि भगवान छन् भने ति मेरा बाको रुपमा अवतरित भएर मलाई हेरेका हुन् । मेरा बा मेरो ईश्वर हुन् जसले रोपिदिएको पसिना,लगानी, श्रम या कर्तव्य जे भने पनि म जेछु जेगर्छु मलाई मान्छेहरुले जे भनेर चिन्छन त्यो मेरा बाको प्रतापी कार्यको कारण सम्भव भएको हो ।

मलाई मेरो जीवन यहाँसम्म ल्याई पुर्याउन जजसले टेको र भरोषा दिए ती सबै मेरा बाका सुकर्मका फल हुन् । मेरा बा सम्भ्रान्त परिवार धन सम्पतिले सामाजिक प्रतिष्ठान, कुल धर्म, घरानाका व्यक्ति होइनन् । समाजको कथित तल्लो जात अछुत एक सीमान्तकृत दमै हुन् ।

गाउँ घरमा काइला दमै भनेर बोलाइने, बिस्टका लुगा सिलाएर तिनले दिने अन्नपात सर सहयोगले पेट पाल्ने अत्यन्त निम्न वर्गका मान्छे । श्रम पसिना र मेहनतमा बिश्वास गर्ने श्रमजीवी । यद्दपि मेरा लागि मेरा बा संसारकै महान आदर्श प्रेरणा र उर्जा हुन् जसले मलाई समाजको विभेदसँग लडन प्रेरणा दिए ।

संसारको उज्यालो देखाउन पढाउनु पर्छ,पढेलेखेका मान्छेले मात्र केही गर्न सक्छन भन्ने अन्तर प्रेरणा भरिदिए । जबकी अरु उपल्लो भनिने जात र वर्गका मान्छेहरुकै छोरी चेलीले पनि पढनै पर्छ भन्ने समाजिक चेत थिएन, छोरी जति पढे पनि अर्काको घर जाने जात र उसलाई अर्कैले पाल्छ भन्ने आम धारणा थियो । तर दलित रुपबहादुर परियारमा छोराछोरी पढाउनु पर्छ भन्ने प्रबल चेतना थियो सोही चेतनाको साकार रुप हो हामी उनका जीवित सन्तान ।

बा सामाजिक आदर्श नैतिकता र ब्यबहारिक इमानका शिक्षालय हुन् हाम्रा लागि । दलित समुदायको भए पनि बा सामान्य पढन, लेख्न सक्षम हुनुहुन्थ्यो, हाम्रो गाउँ जहाँ मगर समुदायको पनि बाहुल्यता छ त्याहाँका मगर दाइभाइ लाहुर अर्थात परदेश जाने विशेषत इन्डियन आर्मी पुलिसमा भर्ति हुने र अन्यत्र पनि कामको शिलशिलामा जाने गर्थे आज पर्यन्त गर्छन ।

लाहुर जानेहरुले आफ्ना घर परिवार र श्रीमतीहरूलाई सन्चो बिसन्चो, खर्चपर्च आदि इत्यादि सोधखोज गरेर चिठी पठाउथे जसलाई पढेर सुनाइ दिनु र जबाफ लेखिदिने काम मेरा बाबाको हुन्थ्यो जसले गर्दा समाजमा बाबा प्रिय हुनुहुन्थ्यो । सामाजिक काम गर्ने,समाजमा सामान्य घर झगडा मिलाई दिने जस्ता सामाजिक काममा बाबाको सक्रियता देखेर मैले सिकेकी हुँ । समाजसेवामा लाग्न उत्प्रेरित गर्ने मेरा बा मेरो सामाजिक सेवाका पहिलो गुरु र अजस्र श्रोत हुन् ।

गाउँमा प्रौढ कक्षा संचालन गर्दा लाल्टिन बालेर हामी बाबुछोरी राती अबेर सम्म बसेर गाउका महिलालाई पढाउने काम गर्थ्यौ । दिनभर लुगा सिलाएर मेलापात गरेर थाकेका मेरा बा थकान बिना मेरा लागि सुरक्षा कवच र सहकर्मी बनेर मध्य रातसम्म प्रौढ कक्षा चलिंजेल बसिरहनु हुन्थ्यो ।

हामी ११ जना छोराछोरी भएको घरमा केटाकेटीलाई खुवाई पियाइ गर्दा कसौडी र कराइमा भात तरकारी सकिएको हुन्थ्यो त्यतिबेला ‘खोइ भात किन नखानु भएको?’  भनेर सोध्दा ‘आज खान मन छैन ‘ भनेर जबाफ दिएको सम्झनाले यो छाती भत्भती पोल्छ र मुटु चस्कन्छ, आँखा अनायास रसाउछन् ।

त्यस्ता अभाव र दुखका दिन झेलेर म आज यहाँ आइपुगेकी छु । आफ्ना सन्तानको खुशी र सुखको लागि अभाव र दुखलाई पचाउने क्षमता हुन्छ बा आमासँग ।

प्रकृतिको नियम नै रहेछ आउनु जानु ,धर्ति लोकको यात्रा संधैको लागि बिसाएर मेरा बा अन्यत्र कतै गइसक्नु भएको पनि आज यतिका वर्ष भए तर बाको याद नआएको कुनै दिन हुन्न डर लाग्छ कतै मेरा बाको आदर्श बिर्सेर कर्तव्य च्युत बन्छु कि भनेर ।

बा भौतिक रुपमा त हुनुहुन्न तर अध्यात्मिक र प्राकृतिक रुपमा यतै कतै हुनुहुन्छ भन्ने लागिरहन्छ । म मेरो घर नेपाल आउदा मेरो बाबाले हामीलाई हुर्काएको पिंढी र दलानको माटो छोएर बस्न मन पराउछु ।

कुनै न कुनै स्वरूप र आकृतिमा मेरा बा जिवितै हुनुहुन्छ भन्ने भान परिरहन्छ । तसर्थ पनि बाप्रति कृतज्ञ बनिरह्न्छु । निराशाका काला बादल मडारिएका बेला मेरो बाको सम्झनाले आशाको दियो बाल्न मदत गर्छ ।

कहिल्यै नगल्ने हातगोडा थिए मेरा बाका टुकीको धिपधिपे उज्यालोमा खुट खुट कल चलाएर लुगा सिएको र सियोको टुप्पोले घोचेर औलाभरी रगत आएको दृश्यले मन कुंडीन्छ बेस्सरी । सिंगै सिशाकलम किनिदिन नसकेर सिंगो शिशाकलमलाई टुक्रा टुक्रा पारेर सबैलाई बाँडीदिने सिपले पनि हामीलाई हाम्रा बाबा माहान लाग्छ ।

प्रकृतिको शितल छहारी र संघर्ष दुख र कस्टक पर्याय हुन् मेरा बा । पिडा र दुखसँग कहिल्यै डराएनन मेरा बा । अभाव सहे तर झुकेनन् । संसारमा निस्वार्थ मायाका कोही उदाहरण छन भने ति मातापिता मात्रै हुन् ।

मातापिताको निस्वार्थ माया जसले लामोसमय सम्म पाउछन् ति भाग्यमानी सन्तान हुन् । पिडा भुल्ने औसधि मलम पट्टी र पेनकिलर हो बाउआमाको न्यानो काख ।

मेराबाको जन्म जन्मान्तरको हिसाबकिताब हुँ म । मुटु भन्दा प्यारो लाग्छ मलाई मेरो बाको पाइतालाले टेकेको धुलो । तसर्थ मैले जहिल्यै जतनले राखेको छु अमेरिकामा पनि मेरो बाले टेकेको माटो । पवित्र चन्दन हो त्यो माटो जहाँ मेरो साल गाडिएको थियो । हरेक छोराछोरीलाई धर्ति फाटिने र आकाश च्यातिए झैँ लाग्ने असहज स्थितिमा आफ्ना बा आमाको अभिभावकत्वको छाता प्यारो लाग्छ ।

मलाई जस्तै बा सबैका होउन् ।

जन्म मृत्यु र सम्बन्धको हिसाब किताब प्रारब्ध लेख्नेले नै तय गरिसकेको हुन्छ भन्ने विश्वास छ । यदि अर्को जुनी हुन्छ भने मेरा बाकै छोरीको रुपमा पुन जन्मन पाऊ ।

मलाई मेरा बाको त्यही न्यानो काखमा दुई मिनेट मात्रै निदाउन पाए पनि संसार जित्ने सपना देख्ने थिए झैँ लाग्छ । सन्तानको खुशी र रहरका लागि आफ्नै सबै पिडा दुख र बेदना लुकाएर, दबाएर हाँसीहाँसी बस्न सक्ने त्याग निष्ठा र समर्पणका प्रतीक हुन् बा ।

मेरा बाको काँध चढ्न फेरि पाए सगरमाथा भन्दा अग्लो हुनेथिए ।

अब बा हुनहुन्न बा नभए पनि सम्झनामा बा सधै आउनुहुन्छ । सपनामा बा देखिनुहुन्छ । आशिर्वाद दिनुहुन्छ । मेरा बालाई थाहा थियो आफू दलित हुनुको कारण तसर्थ आफ्ना सन्तान पढाएर यो निक्रिस्ट जात संरचना विरुद्द लडन जीवन पर्यन्त प्रेरित गर्नु भयो । म जे छु मेरै बाको कारण छु । त्यसमा थुप्रै संयोगले सहयोगी दाताहरुको हात साथ् र आशिर्वाद छ ।

बा यो धर्तीमा हुनुहुन्न तर बाको सपना हामीले पुरा गर्ने प्रयत्न गरेका छौं । आमा आज हामी सबैको आर्थिक, सामाजिक उन्नति र प्रगतिले दंग हुनुहुन्छ , फुरुंग हुनुहुन्छ । हामी जीवित आठ जना छोराछोरीको समाजमा धेर थोर इज्जत छ पनि ।

आर्थिक हैसियत पनि ठिकै बनेको छ । तिमीहरुका बाले आज यो सम्पूर्ण चिज देख्न पाउनु भएको भए कति खुशी हुनुहुन्थ्यो होला भनेर आमा बालाई स्मरण गरिरहनु हुन्छ । हामीलाई पनि हाम्रा बा यतिबेला हामीसंगै हुनुभएको भए कति रमाइलो लाग्थ्यो ।

बाका दुखका दिन सकिएको देखाउन सकेनौ खिन्नता र अभाव त्यसैमा छ । संसारमा सबैलाई त्यस्तो सौभाग्य काँहा मिल्दो रहेछ र ? सपना साकार हुँदासंगै बसेर सेलिब्रेट गर्ने । अफसोच, मैले बाले देखेको सम्पूर्ण सपना उहाँको जीवनकालमा देखाउन सकिन ।

हाम्रा बा जहाँ हुनुहुन्छ त्यही बसेर हामीलाई आशिर्वाद दिईरहनु हुनेछ । मिस यू बा ।

निरन्तरको संघर्ष दुख र कठिनाइ सहँदै आज म अमेरिकामा छु । अमेरिकामा बसेर मेरो देशलाई अमेरिकासँग जोड्न पाएको छु । सामाजिक काम गर्न पाएको छु । देश बिदेशमा सामाजिक सेवासँग अनुबन्धित भएको छु यो सब मेरा बाको कारण सम्भव भएको हो । मेरा सामाजिक कामका तमाम श्रेयको पहिलो हकदार मेरा बा ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com