कोरोनाबिरुद्धको भ्याक्सिन लिएपछि न्युयोर्कका डा. विनोद शाहको आव्हान: ‘भ्याक्सिन सबैले लिऔं’


प्रकाशित मिति : पुस १४, २०७७ मंगलबार

अहिलेसम्म अमेरिकामा २१ लाख भन्दा बढीले कोरोनाबिरुद्धको भ्याक्सिनको पहिलो डोज प्राप्त गरिसकेको सीडीसीले जनाएको छ । सीडीसीका अनुशार अहिलेसम्म २१ लाख २७ हजार १ सय ४३ जनाले कोरोनाबिरुद्धको भ्याक्सिनको पहिलो डोज लगाइसकेका छन् ।

सबैतिरको संख्या जोड्दा योभन्दा अझ धेरै संख्या हुनसक्ने जनाइएको छ । अहिलेसम्म झण्डै १ करोड १४ लाख भ्याक्सिनका डोजहरु विभिन्न स्थानमा डेलिभरी गरिसकिएको छ । सीडीसीका अनुशार १ करोड १४ लाख ४५ हजार १ सय ७५ डोज भ्याक्सिन डेलिभर भइसकेको छ ।

अमेरिकामा रहेका नेपाली चिकित्सकहरु, नर्सहरु तथा फ्रन्टलाइनमा स्वास्थ्य क्षेत्रमा खट्नेहरुले पनि उल्लेख्य संख्यामा भ्याक्सिनको पहिलो डोज प्राप्त गरेका छन् । त्यस्तै दीर्घकालिन हेरचाह केन्द्रमा खट्ने र बुढाबुढीको हेरचाहमा खट्ने नेपालीहरुले पनि भ्याक्सिनको पहिलो डोज प्राप्त गरिसकेका छन् ।

मंगलबार भ्याक्सिनको पहिलो डोज लिंदै न्युयोर्क निवासी नेपाली मूलका डाक्टर विनोद शाहले सबैलाई भ्याक्सिन लिन आव्हान गर्नुभयो । न्युयोर्कको वेष्टचेस्टर काउन्टीको स्कारडेल निवासी डाक्टर शाह न्युयोर्कको योंकर रिभरसाइडमा रहेको सेन्ट जोन्स अस्पतालमा समेत कार्यरत हुनुहुन्छ ।

कोरोनाबिरुद्धको भ्याक्सिन लगाउँदै डाक्टर विनोद शाह

भ्याक्सिन लिंदै गर्दाको भिडियो:

डाक्टर शाह कोरोना संक्रमण भएर सिकिस्त बिरामी भई अस्पतालमा भर्ना समेत हुनुभएको थियो । केही समयको उपचारपछि उहाँ निको भएपनि लामो समय फोक्सोमा समस्या देखिएको थियो ।

त्यस्तै केहीदिन अगाडि भ्याक्सिनको पहिलो डोज लिनुभएका न्युयोर्क निवासी मेडिकल ल्याब वैज्ञानिक रायन लाम्गादेले आफूलाई केही घण्टा सामान्य पाखुरा दुखेपनि कुनै साइड इफेक्ट नभएको बताउनुभयो । उहाँ न्युयोर्कको बु्रकलिनमा रहेको अमेरिकी सरकारको डिपार्टमेन्ट अफ भेटेरान अफेयर्समामा मेडिकल ल्याब बैज्ञानिकका रुपमा कार्यरत हुनुहुन्छ भने बु्रकलिनको माउन्ट साइनाई हस्पिटल र न्युयोर्कको नर्थशोर युनिभर्सिटी हस्पिटलमा समेत ल्याब टेक्नोलोजिस्ट र मेडिकल टेक्नोलोजिस्टका रुपमा कार्यरत हुनुहुन्छ ।

अमेरिकामा भ्याक्सिनको पहिलो डोज लिएका कुनै पनि नेपालीमा गम्भीर प्रकारको साइड इफेक्ट देखिएका कुनै घटना सार्वजनिक भएका छैनन् । कतिपय नेपालीहरु भ्याक्सिनको दोश्रो डोज लिने तयारीमा समेत रहेका छन् ।

अमेरिकामा डिसेम्बर १४ बाट फाइजरको र डिसेम्बर २१ बाट मोडेर्नाको भ्याक्सिन वितरण सुरु गरिएको हो ।

पहिलो चरणको पहिलो उपचरणमा अमेरिकामा फ्रन्टलाइनमा खट्ने स्वास्थ्यकर्मी र दीर्घकालिन हेरचाह केन्द्रमा रहेकाहरुलाई भ्याक्सिन दिइएको छ । यो उपचरणमा भ्याक्सिन पाउनेमा अमेरिकामा रहेका नेपाली स्वास्थ्यकर्मीहरुको संख्या पनि उल्लेख्य रहेको छ । उनीहरुलाई भ्याक्सिनको पहिलो डोज दिइएको हो ।

दोश्रो उपचरणमा भ्याक्सिन पाउनेहरुमा ७५ बर्ष र त्योभन्दा माथिका व्यक्ति तथा अग्रपंक्तिमा खटिने अत्यावश्यक कामदार रहेका छन् । त्यस्तै पहिलो चरणको तेश्रो उपचारणमा ६५ देखि ७५ बर्षसम्मकालाई भ्याक्सिन दिइने भएको छ । त्यस्तै १६ देखि ६४ बर्षसम्मका स्वास्थ्य समस्या भएकाहरु र अन्य अत्यावश्यक कामदारहरुलाई यो उपचरणमा राखिएको छ ।

अबको चरणमा भ्याक्सिन पाउनेहरु प्रहरी, अग्नीनियन्त्रक, शिक्षक, ग्रोसरी स्टोरमा काम गर्नेहरु, खाद्य र कृषि कामदारहरु, उत्पादन कामदारहरु, जेलमा काम गर्नेहरु, हुलाकमा काम गर्नेहरु र सार्वजनिक यातायातमा काम गर्नेहरु हुनेछन् । यो संख्या अमेरिकामा झण्डै ३० मिलियन रहेको छ ।

त्यसपछिको चरणमा भ्याक्सिन पाउनेहरुमा जनस्वास्थ्य कामदारहरु, यातायात र लजिस्टिकमा काम गर्नेहरु, खाद्य सेवामा काम गर्नेहरु, निर्माणमा काम गर्नेहरु, बित्त क्षेत्रमा काम गर्नेहरु, आईटी र संचारमा काम गर्नेहरु, उर्जामा काम गर्नेहरु, मिडियामा काम गर्नेहरु, कानुनी क्षेत्रमा काम गर्नेहरु, सार्वजनिक सुरक्षा इन्जिनियरहरु, पानीका क्षेत्रमा काम गर्नेहरु हुनेछन् ।

यो चरणमा भ्याक्सिन पाउने स्वास्थ्य समस्या भएकाहरुमा मोटोपन भएकाहरु, दोश्रो प्रकारको मधुमेह भएकाहरु, दीर्घकालिन पल्मोनरी रोग भएकाहरु, मुटु र मृगौलाका रोगीहरु, अंग प्रत्यारोपण गरेकाहरु, गर्भवती र धुमपानका अम्मलीहरु पर्नेछन् । यो संख्या अमेरिकामा झण्डै ५७ मिलियन रहेको छ ।

पहिलो चरणको दोश्रो उपचरण फरबरीभन्दा अगाडि भने सुरु हुने अपेक्षा गरिएको छैन ।

डिसेम्बरभरमा भ्याक्सिनका २० मिलियन डोज उपलब्ध गराइने भएको छ भने मार्चसम्म ३ सय मिलियन डोज उपलब्ध गराइने भएको छ । अमेरिकाले फाइजरका थप १ सय मिलियन डोज किन्ने सहमति गरेको छ । जुनसम्म ७० मिलियन र जुलाईमा बाँकी भ्याक्सिनका डोजहरु फाइजरले प्रदान गर्नेछ ।

अमेरिकी सरकारले थप डोजका लागि १ दशमलव ९५ बिलियन डलर तिर्ने सहमति भएको फाइजरले जनाएको छ । फाइजरले जर्मन कम्पनी बायोएनटेकसँग मिलेर भ्याक्सिन उत्पादन गरिरहेको छ । नयाँ सहमतिले जुनसम्म भ्याक्सिन लिन चाहने हरेक अमेरिकनका लागि प्रयाप्त भ्याक्सिन प्राप्त गर्न बाटो खुलेको छ ।

अब अमेरिकाले फाइजर र मोडेर्नाका ४ सय मिलियन भ्याक्सिन प्राप्त गर्ने सहमति भइसकेको छ । डिपार्टमेन्ट अफ हेल्थ एण्ड ह्युमन सर्भिसेजका अनुशार अमेरिकी सरकारसँग थप ४ सय मिलियन भ्याक्सिनका डोजहरु किन्नसक्ने विकल्प समेत रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com