देउवाको आह्वानः ‘संसद विघटनको विरोध प्रदर्शनमा सहभागी बनौँ’


प्रकाशित मिति : पुस ११, २०७७ शनिबार

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटनको विरोधमा हुने प्रदर्शनमा सहभागी हुन आह्वान गरेका छन् ।

कांग्रेसले सोमबार मुलुकका १ सय ६५ वटै निर्वाचन क्षेत्रमा संसद विघटनको असंवैधानिक कदमविरूद्ध प्रदर्शन गर्दैछ । त्यसैक्रममा पूर्व प्रधानमन्त्रीसमेत रहेका देउवाले शनिबार विज्ञप्ति जारी गर्दै प्रदर्शनमा सहभागी हुन अपिल गरेका हुन् ।

‘प्रधानमन्त्री के.पी. शर्मा ओलीको सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको घटनाका विरुद्ध पुस १३ गते सोमबार नेपाली कांग्रेसले १६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन आयोजना गरेको छ । त्यसमा सकृय सहभागिताका लागि म सबैमा हार्दिक अपील गर्दछु ।’ उनले भनेका छन्, ‘विघटनकै दिन मैले पार्टीका वर्तमान र पूर्व पदाधिकारीहरुको बैठक आयोजना गरेर बैठक मार्फत संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरिसकेका छौं । संविधानमा भएको ब्यवस्था प्रतिकुल, जनभावना विपरीतको कार्य विरुद्ध नेपाली कांग्रेस सम्पूर्ण रुपले एकमत साथ उभिएको छ । जारी केन्द्रीय कार्यसमितिको बैठकमा म आफैले १३ गते प्रदर्शन गर्ने प्रस्ताव गरेर, केन्द्रीय कार्यसमितिको निर्णय पश्चात् अहिले हाम्रो सम्पूर्ण ध्यान प्रदर्शनमा केन्द्रित छ ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com