संसद विघटनविरुद्ध परेका सबै रिटमाथि आज संवैधानिक इजलासमा सुनुवाइ हुँदै


प्रकाशित मिति : पुस ९, २०७७ बिहीबार

प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयविरुद्ध दायर भएका १३ वटा रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस ५ गते संसद विघटन गर्दै आगामी वैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन मिति घोषणा गरेकी थिइन् । त्यसपछि उक्त निर्णय नेपालको संविधानको धारा १३३ को उपधारा २ र ३ बमोजिम बदर गर्न साधारणतर्फका १२ वटा र संवैधानिक इजलासमा १ वटा रिट परेको थियो ।

गत बुधबार प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासले साधारणतर्फका १२ वटै रिटहरु प्रारम्भिक सुनुवाइपछि संवैधानिक इजलासमा पठाउन आदेश दिएको थियो । आज सबै रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ ।

संवैधानिक इजलासतर्फ सन्तोष भण्डारी र साधारणतर्फ अधिवक्ताहरु कञ्चनकृष्ण न्यौपाने, सुलभ खरेल, लोकेन्द्रबहादुर ओली, ज्ञानेन्द्र आरण, शालिकराम सापकोटा, कलमबहादुर खत्री, मनिराम उपाध्याय, दिनेश त्रिपाठी, अमिता गौतम पौडेल र कृष्णप्रसाद शर्मालगायतले रिट दायर गरेका छन् ।

संवैधानिक इजलासमा प्रधानन्यायाधीशसहित ९ न्यायाधीश छन्। जसमा प्रधानन्यायाधीश जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा, प्रकाशमान सिंह राउत र सपना प्रधान मल्ल रहेका छन्। संवैधानिक इजलासमा सिफारिस भएका न्यायाधीशहरू क्रमशः वरिष्ठताको क्रममा रहेका छन्। यीमध्ये प्रधानन्यायाधीश जबरासहितका ५ न्यायाधीशको इजलासले प्रतिनिधिसभा विघटन विरुद्धको निवेदनको सुनुवाइ गर्ने छ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com