अमेरिकामा ठगहरुको फोनकलको शिकार बन्दै नेपाली, ३० हजार डलर ठगिनेमा न्युयोर्कका नेपाली


प्रकाशित मिति : मंसिर २४, २०७७ बुधबार

केही दिन अगाडि वासिंटन डिसीमा एकजना नेपाली उबर चालकलाई फोन आयो – ‘तिम्रो गाडीमा हामी डंकिन डोनटको स्टीकर लगाइदिन्छौं, उक्त विज्ञापन वापत हामी तिमीलाई हप्ताको ५ सय डलर दिनेछौं । के तिमी त्यसको लागि इच्छुक छौ ?’

गाडीमा एउटा स्टीकर राखेर विज्ञापनवापत साप्ताहिक ५ सय डलर आउने कुराले उनी आकर्षित भए । त्यसपछि उनले त्यसमा स्वीकृति जनाए । फोन गर्नेले भन्यो – ‘हामी २५ सयको चेक पठाउँछौं । त्यो जम्मा गरेपछि हामीलाई स्टीकर बनाउन त्यसबाट २४ सय डलर पठाउनु ।’

केही दिनमा चेक पनि आयो । नेपाली उबर चालकले चेक फोनमार्फत जम्मा गरे । उताबाट फेरी फोन आयो – ‘बैंकमा चेक जम्मा भयो ?’

चेक जम्मा गरेको बताएपछि उनलाई फोन गर्ने व्यक्तिले २४ सय डलर नगद स्टीकर बनाउनका लागि पठाउन भन्यो । ती नेपाली उबर चालकले बैंक खाताबाट २४ सय डलर पठाइदिए । त्यसको भोलिपल्ट चेक बाउन्स भएको सुचना बैंकले दियो । त्यसपछिमात्र उनले चेक नक्कली भएको र आफू ठगिएको थाहा पाए । त्यसपछि आफूलाई विज्ञापनको लोभ देखाउने व्यक्तिलाई उनले फोन गरेर चेक बाउन्स भएको बताए । ती व्यक्तिलाई उनलाई ठगिएको र अब आइन्दा फोन नगर्न भने ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

+++++++++++++++++

नोभेम्बरको अन्तिम साता न्युयोर्क निवासी एकजना नेपालीले ३० हजार डलर गुमाए । उनलाई फेडरल रिजर्भबाट भन्दै फोन गरेर ठगले बैंक खाता ह्याक भएको र तुरुन्तै रकम निकाल्न भने । तत्काल बैंकबाट रकम ननिकालेमा सबै रकम गुम्ने डर देखाएपछि ती नेपालीले बैंकबाट सबै ३० हजार डलर निकाले ।

फोन गर्ने ठगले उनलाई फोन राख्नै दिएन । उक्त रकम नजिकैको बिट क्वाइन एटीएमको ठेगाना दिएर त्यहाँ लगेर हाल्न भन्दै एउटा क्युआर कोड दियो । त्यहाँ रकम हालेपछि नजिकको प्रहरीले उनलाई उक्त रकम दिने समेत ठगले बतायो । ठगले दिएको ठेगानामा रहेको एटीएममा गएर उनले क्वुआर कोड स्क्यान गरे । एटीएम खुलेपछि उनले त्यहाँ सबै ३० हजार डलर हाले । जब उनले त्यहाँ रकम हाले, तब उनी आफू ठगिएको थाहा पाए । उनले आफ्नो पैसा फिर्ता निकै गराउन प्रयास गरेपनि फिर्ता गराउन सकेनन् ।

+++++++++++++++++

गत अक्टोबरमा मेरिल्याण्ड निवासी एकजना रेष्टुरेण्ट संचालकलाई ठगको फोन आयो । ४ हजार डलर विजुलीको बिल तिर्न बाँकी रहेको र लाइन काट्न कर्मचारी खटाइएको बताए । तत्काल मनी अर्डरबाट ४ हजार डलर नतिरे विजुलीको लाइन काट्ने चेतावनी दिएपछि संचालक आत्तिए । विजुलीको लाइन काटेमा रेष्टुरेष्टमा फ्रिजर लगायत नचल्ने भएकाले तत्कालै खानेकुरा खराब हुने स्थीति थियो । त्यस्तै विजुलीको लाइन काटिएमा रेष्टुरेण्टमा नै समस्या हुने ठानेर उनी तत्काल रकम पठाउन मनी अर्डर मनाउन गए ।

ठगहरुले विभिन्न डर देखाएर फोन राख्न दिएका थिएनन् । त्यहीबेला एकजना साथीले हालखबर सोध्न मेसेज गर्दा उनले आफू विजुलीको बिल तिर्नका लागि मनी अर्डर बनाउन लागेको बताए । ठगको यस्तो हर्कतबारे बुझेका उनका साथीले उनलाई तत्काल सचेत गराए र ठगिन लागेको जानकारी दिए । त्यसपछि ती रेष्टुरेण्ट सचालकले फोन काटे र ठगिनबाट बचे ।

+++++++++++++++++

यसरी अमेरिकामा रहेका नेपालीहरु ठगका फोनकलबाट ठगिने क्रम जारी रहेको छ । खसोखासमा आएका नेपालीका केही विवरणमात्र हेर्दा पनि अहिलेसम्म अमेरिकामा नेपालीहरुले लाखौं डलर त्यस्ता ठगहरुलाई बुझाइसकेका छन् । पछिल्ला यी घटनाक्रमले ठगहरुले ठग्नका लागि नयाँ नयाँ जुक्ती लगाउन थालेको स्पष्ट भएको छ । यसअगाडि ठगहरुले आईआरएस, इमिग्रेशन, प्रहरी लगायतका निकायबाट फोन गरेको भन्दै रकम माग्ने गरेकोमा अब भने अरु नयाँ नयाँ जुक्तीहरु समेत लगाउन थालेका छन् ।

अमेरिकामा आईआरएस र युएससीआईएसबाट फोन गरेको भन्दै ठगहरुले सर्वसाधारणलाई धम्क्याएर रकम असुल्ने ठगीधन्दाबारे सरकारले सचेतना जगाउन विभिन्न सुचनाहरु जारी गरेपछि ठगहरुले नयाँ नयाँ उपाय अपनाउन थालेका हुन् । यसअगाडि आईआरएस र युएससीआईएसबाट फोन गरेको भन्दै ठगहरुले अमेरिकामा रहेका कैयन नेपालीहरुलाई ठगिसकेका छन् ।

ठगहरुले फोन गरेर ट्याक्स राम्रोसँग फाइल नगरेको वा अरु विभिन्न कारण देखाउदै तत्काल रकम नतिरे पक्राउ गर्ने वा डिपोर्टेशन गर्नेसम्मका धम्की दिने गर्दैै आएका छन् । त्यस्तै आफू युएससीआईएसबाट बोलेको भन्दै उनीहरुले अध्यागमन सम्बन्धि सुचना नसच्याएको वा अरु विभिन्न कारण देखाउँदै रकम नतिरे पक्राउ गर्ने वा डिपोर्टेशन गर्ने धम्की दिने गरेका छन् ।

केही पहिले आईआरएसबाट फोन गरेको भन्दै रकम माग्ने ठगलाई बोष्टनका एकजना नेपालीले १० हजार अमेरिकी डलर बुझाएका थिए । ठगले उनलाई तुरुन्तै स्टोरमा गएर भौचरमार्फत रकम नतिरे पक्राउ गर्ने र डिपोर्टेशन गर्ने धम्की दिएपछि ति नेपालीले हतासिएर ठगलाई रकम बुझाएका थिए । रकम बुझाइसकेपछि मात्र उनले आफू ठगिएको पत्तो पाए ।

यस्ता ठगहरुले प्राय घरको नम्बरमा फोन गरेर ट्याक्स फाइल नगरेकाले जरिवाना तिर्न धम्क्याउने गरेका छन् । उनीहरुले प्राय फार्मेसीहरुमा गएर ग्रिन डट मनी भौचरबाट रकम तिर्ने उपाय सुझाउने गरेका छन् । तुरुन्तै कसरी रकम तिर्ने भन्ने तरिका पनि उनीहरुले नै सिकाउने गरेका छन् । फोन गर्नेहरु प्राय भारतीय लवजमा बोल्ने गर्छन् ।

यस्ता ठगहरुबाट ठगिनेहरु नेपाली, भारतीय र भर्खर अमेरिकामा आएका अन्य देशका नयाँ आप्रवासीहरु समेत रहेका छन् । त्यसैले यस्ता फोनकलहरु आएमा कुरा नगर्न र आधिकारिक सरकारी निकायहरुमा खबर गर्न आईआरएस र युएससीआईएसले अनुरोध गरेको छ ।

करदाता र भर्खरै अमेरिकामा आएका आप्रवासीहरुलाई लक्ष्यित गरेर अमेरिकाभर फोनमार्फत भइरहेका ठगीका घटनाबारे आन्तरिक राजस्व सेवा आईआरएस ग्राहकहरुलाई सावधान गराएको छ ।

ठगहरुले फोन गरेर पीडितहरुलाई उनीहरुले आईआरएसलाई रकम तिर्न बाँकी रहेको भन्दै डेबिट कार्ड र वायर ट्रान्सफरमार्फत रकम माग्ने गरेका छन् । यदि पीडितले ठगहरुले भने अनुशार गर्न नमानेमा उनीहरुले पीडितलाई गिरफ्तार गर्ने, डिपोर्ट गर्ने , विजनेश र चालक अनुमति पत्र खारेज गरिदिने सम्मका धम्की दिने गरेका छन् । धेरैजसो समयमा फोनगर्नेहरु रुखो वा होच्याउने प्रकृतिका हुने गर्छन् ।

यस्ता ठगहरुले करदातालाई अमेरिकाका प्राय सबै राज्यहरुमा निशाना बनाउने गरेका छन् । आईआरएसले फोन मार्फत कहिले पनि क्रेडिट कार्ड नम्बर नमाग्ने जनाएको छ । यदि कसैले आफू आईआरएसबाट भन्दै फोन गरेर प्रहरीबाट गिरफ्तार गराउने, डिपोर्ट गराउने वा लाइसेन्स खारेज गरिदिने धम्की दिन्छ भने त्यो आईआरएसको आधिकारिक फोन नभएको संकेत रहेको आईआरएसको भनाई छ ।

ठगहरुले नक्कली नाम र नक्कली आईआरएस ब्याज नम्बर प्रयोग गर्छन् । उनीहरुले आफूलाई चिनाउन सामान्यतया प्रचलित नामहरु वा थरहरु प्रयोग गर्छन् । ठगहरुले सोसल सेक्युरिटी नम्बरका अन्तिम चार अंकहरु भन्न पनि सक्छन् । ठगहरुले फोन आइआरएसबाटै भएको भान पार्न कलर आइडीमा आईआरएसको टोल फ्रि नम्बर देखिने प्रविधिको प्रयोग गर्छन् । ठगहरुले कहिलेकाँही पीडितलाई नक्कली इमेल पठाएर फोनमा कुरा गर्ने वातावरण समेत बनाउने गरेका छन् । पीडितहरुले पाश्र्वमा अरु यस्तै प्रकारका फोनकलको आवाज समेत सुन्न सक्छन् किनभने ठगहरुले पीडितलाई आश्वस्त पार्न पृष्ठभूमिमा त्यस्तो आवाज बनाएका हुन्छन् ।

यदि तपाईले आईआरएसबाट भन्दै त्यस्ता नक्कली फोनकल पाउनुभएमा आईआरएसमा सम्पर्क गर्नुहोला । यस्ता नक्कली फोनकलबारे तपाईले कर प्रशासनका लागि कोष अनुसन्धान अधिकारीको कार्यालयमा जानकारी गराउन सक्नुहुनेछ । तपाई आफू यसको शिकार हुनुभएको छ भने तपाईले फेडरल ट्रेड कमिशनमा सम्पर्क गर्न सक्नुहुन्छ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com