प्रथम महिला भएपनि शिक्षण पेशा जारी राख्ने जिल बाइडेनको योजना
प्रकाशित मिति : कार्तिक २७, २०७७ बिहीबार
नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनकी पत्नी जिल बाइडेनले प्रथम महिला भएपनि आफ्नो शिक्षण पेशा जारी राख्ने योजना बनाएकी छिन् । यसो भएमा जिल बाइडेन ह्वाइटहाउसबाहिर तलबी काम जारी राख्ने अहिलेसम्मकै एकमात्र प्रथम महिला हुनेछन् ।
डाक्टर जिल बाइडेन नर्थन भर्जिनिया कम्युनिटी कलेजमा पूर्णकालिन अँग्रेजी प्राध्यापक हुन् । उनले हालैको एक अन्तरवार्तामा प्रथम महिला भएपनि आफ्नो अध्यापन पेशा भने जारी राख्ने बताएकी थिइन् । उनले आफू ह्वाइटहाउसमा रहँदा पनि पढाउने काम नछाड्ने बताएकी थिइन् ।
मान्छेहरुलाई शिक्षकको महत्व र उनीहरुको योगदान थाहा दिनका लागि तथा पेशाको गरिमा बढाउनका लागि शिक्षण पेशा नछाड्ने जिल बाइडेनले बताएकी थिइन् । ओहायो युनिभर्सिटीकी प्रोफेसर क्याथरिन जेलिसनले डाक्टर जिल बाइडेन ह्वाइटहाउसमा रहँदा पनि बाहिर तलबी जागिर खाने एकमात्र प्रथम महिलामात्र नभई डाक्टरेट डिग्री हासिल गरेकी अहिलेसम्मकै एकमात्र प्रथम महिला हुने बताएकी छिन् ।
जिल बाइडेनले उपराष्ट्रपति पत्नीहुँदा पनि कम्युनिटी कलेजमा पढाउने काम जारी राखेकी थिइन् । बराक ओबामा राष्ट्रपति हुँदा जो बाइडेन उपराष्ट्रपति र जिल बाइडेन दोश्रो महिला रहेका थिए । जिल बाइडेनले आफ्नो परिचय ट्वीटरको प्रोफाइलमा समेत आजिवन शिक्षकका रुपमा राखेकी छिन् ।
आफूले कैयन शरणार्थी र आप्रवासीहरुलाई पढाएको उनले बताएकी छिन् । आफूले उनीहरुका कथाहरु मन पराउने गरेको र उनीहरु जो हुन् त्यही रुपमा माया गर्ने गरेको जिल बायडेनले बताएकी छिन् । प्रथम महिलाको हैसियतमा आफूले कम्युनिटी कलेज ट्युसन निशुल्क बनाउने पक्षमा वकालत गर्ने उनले बताइन् ।