पेन्सिलभेनिया र जर्जियामा बाइडेनको अग्रतासँगै ह्वाइट हाउस प्रवेशका लागि बाटो फराकिलो बन्दै


प्रकाशित मिति : कार्तिक २१, २०७७ शुक्रबार

ब्याटलग्राउण्ड राज्य पेन्सिलभेनिया र जर्जियामा डेमोक्रेटिक राष्ट्रपति उम्मेदबार जो बाइडेनले अग्रता कायम गरेसँगै ह्वाइट हाउस प्रवेशका लागि बाटो फराकिलो भएको छ । यी दुबै राज्यमा मतगणना कायम रहेकाले र अन्तर झिनोमात्र रहेकाले विजेता घोषणा हुन भने केहीसमय लाग्नेछ । दुईमध्ये एउटामात्र राज्य जितेपनि बाइडेन ह्वाइटहाउस प्रवेश गर्नेछन् ।

 

हिजोसम्म डोनाल्ड ट्रम्पको अग्रता कायम रेहेको पेन्सिलभेनियामा आज विहान ९ बज्न अगाडि बाइडेनले अग्रता कायम गरेका हुन् । यो समाचार तयार पार्दासम्म पेन्सिलभेनियामा बाइडेनले ५ हजार ६ सय ६ मतले अग्रता कायम गरेका छन् ।

त्यस्तै जर्जियामा राष्ट्रपति उम्मेदबार जो बाइडेनले अर्का उम्मेदबार डोनाल्ड ट्रम्पलाई उछिनेका छन् । जर्जियामा १०९७ मतले बाइडेन अगाडि रहेका छन् । १६ इलेक्टोरल मत रहेको जर्जियामा राष्ट्रपति चुनावमा सन् १९९६ देखि रिपब्लिकनले जित्दै आएका छन् । तर यसपटक जर्जिया ब्याटलग्राउण्ड राज्य भएको छ ।

सन् २००२ यता जर्जियामा रिपब्लिकन गभर्नरले जित्दै आएका छन् । त्यस्तै जर्जियाबाट सिनेटमा पनि रिपब्लिकनले जित्दै आएका छन् । तर हाउसमा भने मिश्रित प्रतिनिधित्व रहँदै आएको छ ।

जर्जियामा राष्ट्रपति चुनावको इतिहास ।

जर्जियामा बाइडेनले जितेको खण्डमा राष्ट्रपतिका रुपमा ह्वाइट हाउस प्रवेशको बाटो खुल्नेछ । जर्जिया नजितेको खण्डमा राष्ट्रपतिमा निर्वाचित हुन बाइडेनलाई नर्थ क्यारोलिना, पेन्सिलभेनिया र नेभाडामध्ये एउटा राज्य जित्नुपर्छ ।

 

त्यस्तै ट्रम्पले राष्ट्रपति चुनाव जित्नका लागि नेभाडासहित पेन्सिलभेनिया, नर्थ क्यारोलिना र जर्जिया समेत जित्नुपर्छ । अलास्कामा भने रिपब्लिकनको पकड भएकाले ट्रम्पलाई जीत्न खास गाह्रो छैन । तर नेभाडा सन् २०१६ मा हिलारी क्लिन्टनले जितेको राज्य हो ।

नर्थ क्यारोलिना र नेभाडाको अन्तिम चुनावी परिणाम आउन लामो समय लाग्ने अनुमान गरिएको छ । त्यसैले अहिले सबैको ध्यान जर्जिया र पेन्सिलभेनियातिर रहेको छ । नोभेम्बर ३ को पोष्टमार्क भएका र नोभेम्बर १२ सम्म हुलाकबाट आइपुगेका मतपत्रहरु समेत नर्थ क्यारोलिनामा गणना गरिनेछ ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com