टेक्सासमा अघिल्लो राष्ट्रपति चुनावको कुल मतदानभन्दा धेरै ९० लाख बढी अर्लि भोटिङ


प्रकाशित मिति : कार्तिक १४, २०७७ शुक्रबार

टेक्सासमा सन् २०१६ को राष्ट्रपति चुनावको कुल मतदानभन्दा धेरै मतदान अर्लि भोटिङमै भइसकेको छ । अघिल्लो राष्ट्रपति चुनावमा ८९ लाख ६९ हजार २२ सय २६ मत खसेको टेक्सासमा चुनावको मुख्य दिन आउनु अगाडि नै ९० लाख बढीले अर्लि भोटिङ गरिसकेका छन् ।

टेक्सासमा कुल मतदाताहरु झण्डै १ करोड ७० लाख रहेकोमा ५३ प्रतिशतले मतदान गरिसकेका छन् । सन् २०१६ को चुनावयता टेक्सासमा मतदाताको संख्या झण्डै १८ लाख बढेको छ । २०१६ को चुनावमा कुल मतदातामध्ये ५९ दशमलव ४ प्रतिशतले मतदान गरेको टेक्सासमा यो बर्ष भने ऐतिहासिक मतदान हुने देखिएको छ ।

८० लाख ६२ हजार भन्दा धेरैले मतदानस्थलमा नै उपस्थीत भएर मतदान गरेका छन् भने झण्डै साढे ९ लाखले हुलाकमार्फत मतपत्र पठाएर मतदान गरेका छन् । टेक्साससँग इलेक्टोरल भोट रहेका छन् । १९८० यताको राष्ट्रपति चुनावमा टेक्सासमा रिपब्लिकनले जित्दै आएका छन् ।

अमेरिकाको हरेक राज्यको इलेक्टोरल मत संख्या

१९७६ मा भने टेक्सासमा जिम्मी कार्टरले जितेका थिए । त्यो अगाडि रिचर्ड निक्सनले जितेको टेक्सासमा १९६०, १९६४ र १९६८ मा भने डेमोक्र्याट्सहरुले जितेका थिए । अहिलेको विभिन्न सर्वेक्षणहरुमा टेक्सासमा राष्ट्रपति उम्मेदबार डोनाल्ड ट्रम्प अगाडि देखिएका छन् ।

चुनावको मुख्य दिन आउनु अगाडि नै अमेरिकामा झण्डै साढे ८ करोडले अर्लि भोटिङ र हुलाकमार्फत मतपत्र पठाएर मतदान गरिसकेका छन् । क्यालिफोर्नियामा पनि ९१ लाख भन्दा धेरैले मतदान गरिसकेका छ् भने ब्याटलग्राउण्ड राज्य फ्लोरिडामा ७८ लाख भन्दा धेरैले मतदान गरिसकेका छन् ।

टेक्सासमा नेपालीहरुको संख्या पनि उल्लेख रहेको छ । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको तथ्यांक अनुशार अमेरिकी नागरिकता लिने नेपालीहरुमध्ये टेक्सासमा अमेरिकी नागरिकता लिने नेपालीहरुको संख्या न्युयोर्क र क्यालिफोर्नियापछि तेश्रो नम्बरमा रहेको छ । पछिल्लो चरणमा टेक्सासमा नेपालीहरुको उपस्थीति अझ बाक्लो हुँदै गएको छ ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com