एक्सक्लुसिभ : आर्थिक बर्ष २०२० मा अमेरिकाबाट १७६ नेपालीलाई देशनिकालाको आदेश


प्रकाशित मिति : कार्तिक १२, २०७७ बुधबार

– किशोर पन्थी

आर्थिक बर्ष २०२० मा अमेरिकाका अध्यागमन अदालतबाट १७६ जना नेपालीहरुले देशनिकालाको आदेश पाएका छन् । एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युका अनुशार उनीहरु अमेरिकामा रहेका १६ राज्यहरुबाट देशनिकालामा परेका हुन् ।

१७१ जना नेपालीहरुले एसाइलम दावी गरेका थिए भने ५ जनालाई भने आपराधिक पृष्ठभूमिका कारण देशनिकालाको आदेश दिइएको थियो । देशनिकालाको आदेश पाउनेहरु न्युयोर्कमा सबैभन्दा धेरै ७७ रहेका छन् । न्युयोर्क सिटीको अदालतबाट ५३ जना, ब्रोडवेबाट ८ जना र भेरिक स्ट्रीटबाट ७ जनालाई देशनिकालाको आदेश दिइएको हो ।

न्युयोर्कपछि क्यालिफोर्नियाबाट २२, टेक्सासबाट १६, लुजियानाबाट १२, मिनिसोटाबाट ११, जर्जियाबाट ११, भर्जिनियामा ६ जनालाई नेपालीहरुलाई देशनिकालाको आदेश दिइएको छ । त्यस्तै मेरिल्याण्डमा ५, मासाचुसेट्समा ५, न्यु मेक्सिकोमा ३, कोलोराडोमा ३, वासिंटनमा १, न्युजर्सीमा १, पेन्सिलभेनियामा १, फ्लोरिडामा १ र इलिनोयमा १ जना नेपालीलाई देशनिकालाको आदेश दिइएको छ ।

गत आर्थिक बर्ष २०१९ मा ३७१ जना नेपालीहरुले अध्यागमन अदालतबाट देशनिकालकाको आदेश पाएका थिए । गतबर्षको तुलनामा यो बर्ष अदालतबाट देशनिकालाको आदेश पाउने नेपालीहरु कम रहेका छन् । यद्यपी कोरोनाको महामारीपछि मार्चको तेश्रोसातादेखि कोरोनाको महामारीका कारण अदालतमा हिराशतमा हुनेहरुबाहेक अन्यका सुनुवाईहरु स्थगित भएका छन् ।

अमेरिकाको इतिहासमा नै नेपालीहरुले सबैभन्दा धेरै आर्थिक बर्ष २०१९ मा अदालतबाट देशनिकालाको आदेश पाएका थिए । सन् २०१८ मा २३२ जना र सन् २०१७ मा १४९ जना नेपालीहरुले अमेरिकाबाट देशनिकालाको आदेश पाएका थिए ।

सन् २०१५ मा नेपालीहरुले टीपीएस पाएपछि आर्थिक बर्ष सन् २०१६ मा देशनिकालाको आदेश पाउने नेपालीहरु निकै कम रहेका थिए । त्यतीबेला जम्मा १२१ जना नेपालीहरुले देशनिकालाको आदेश पाए । किनभने टीपीएस स्वीकृत गरेको अवधि भन्दा अगाडि अमेरिकामा रहेका नेपालीहरुलाई देशनिकाला गर्न नपाइने भएकाले उनीहरु देशनिकाला हुनबाट बचेका हुन् ।

सन् २०१६ मा देशनिकालाको आदेश पाउने नेपालीहरु सन् २००४ पछिकै सबैभन्दा कम रहेका थिए । किनभने सन् २००५ मा १२७ जना नेपालीहरुले देशनिकालाको आदेश पाएका थिए भने त्यसपछि यो संख्या हरेक बर्ष बढेको थियो । सन् २००४ मा भने देशनिकालाको आदेश पाउने नेपालीहरु ९८ जना रहेका थिए ।

आर्थिक बर्ष २०२० मा देशनिकालाको आदेश पाउने नेपालीहरुको संख्या १७६ रहेपनि वास्तविक देशनिकाला हुनेहरु भने त्यो भन्दा कम रहेका छन् । देशनिकालाको आदेश पाइसकेपछि पनि पुनरावेदन गर्ने नेपालीहरु पनि रहेका छन् । त्यस्तै कतिपयले आइसकै हिराशतमा रहेका बेला देशनिकालाको आदेश पाएका छन् भने कतिपय स्वयंसेवी रुपमा अमेरिका छाड्नुपर्ने आदेश पाएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com