KHASOKHAS ON GOOGLE NEWS Fact Checking Stories of Hope Resource Center Donate to Khasokhas KHASOKHAS MAGAZINE Terms of Service/Privacy Policy (English)

नेपाली टीपीएसवाहकको अमेरिकी अर्थतन्त्र र समाजमा उल्लेख्य योगदान रहेको महत्वपूर्ण सर्वेक्षण सार्वजनिक

प्रकाशित मिति : कार्तिक ५, २०७७ बुधबार

टेम्पोरेरी प्रोटेक्टेड स्टाटस टीपीएस पाएयता नेपाली टीपीएसवाहकले बढी सुरक्षित महसुस गरेको र उनीहरुले आफ्नो समुन्नतिको साथै अमेरिकी अर्थतन्त्र र समाजमा महत्वपूर्ण योगदान दिएको नयाँ सर्वेक्षणले देखाएको छ । टीपीएस अन्त्य गरेमा यो अनुत्पादक हुने र यसले धेरैको जीवनलाई जोखिममा पार्ने सर्वेक्षणको निष्कर्ष रहेको छ ।

यूनिभर्सिटी अफ क्यालिफोर्निया, सान डिएगोको युएस इमिग्रेशन पोलिसी सेन्टर, मानव अधिकार र समाजिक न्यायका लागि “अधिकार”, र सेन्टर फर अमेरिकन प्रोग्रेसको संयुक्त पहलमा उक्त सर्वेक्षण गरिएको हो । सर्वेक्षणले नेपाली टीपीएसवाहकको बसाईं र जीवनबारे गहिरो अध्ययन गरेको थियो ।

टीपीएसले सन् २०१५ देखि अमेरिकामा रहेका करिब १४ हजार ८०० नेपालीहरुलाई काम गर्ने अनुमति पत्र दिएको उनीहरुलाई देश निकाला हुनबाट बचाएको छ। यो नयाँ राष्ट्रिय सर्वेक्षणले अमेरिकाको ३१ वटा राज्य र प्रदेशहरुमा बसोबास गर्ने ३७२ जना नेपाली टीपीएसवाहकलाई समेटेको थियो।

फोन मार्फत गरिएको उक्त सर्वेक्षण जुन २३, २०२० देखि अगस्ट ३, २०२० सम्म संचालन गरिएको थियो। कोरोना भाईरसको संक्रमणको दौरानमा गरिएको सो सर्वेक्षणको बेलामा ट्रम्प प्रशासनले नेपाल लगायत अन्य देशहरुको टीपीएस अन्त्य गर्ने निर्णयको विरुद्ध केहि अदालती मुद्दाहरु पनि यथावत थिए।

अधिकांश नेपाली टीपीएस वालाहरुले यदि नेपाल फर्कन वाध्य भएमा आफ्नो सुरक्षाको धेरै चिन्ता गरेको सर्वेक्षणले देखाएको छ । अत्याधिक संख्या अर्थात् ८१ दशमलव ५ प्रतिशतले आफू नेपाल फर्कन परेमा आफ्नो र परिवारको सुरक्षा बारे चिन्ता व्यक्त गरेका छन् । यो सर्वेक्षणमा प्रतिकृया दिनेहरुमध्ये अमेरिकामा जन्मेका बालबच्चा भएकाहरुमा यो हिस्सा ८५ दशमलव ५ प्रतिशत सम्म पुगेको थियो।

टीपीएस नभएमा के गर्ने भनेर कति सोंच्नु हुन्छ भन्ने प्रश्नमा ६८ दशमलव ७ प्रतिशतले दिनमा एक पटक या सो भन्दा बढी भनेर जवाफ दिएका थिए भने ५४ दशमलव ३ प्रतिशतले दिनमा एक पटक या सो भन्दा बढी देश निकालामा परिने कुरा सोंच्ने जनाएका थिए । त्यस्तै ४१ दशमलव ४ प्रतिशतले दिनमा एक पटक या सो भन्दा बढी समय आफ्नो परिवारबाट छुटिनु पर्ने कुराबारे सोच्ने बताएका थिए ।

बालबच्चा भएका मध्ये ४५ दशमलव ९ प्रतिशतले आफ्नो बालबच्चा हुर्केको आफुले हेर्न नपाउने बारे चिन्ता लाग्ने जनाएका थिए भने अमेरिकामा जन्मेका बालबच्चा भएकाहरुमा यो संख्या ६६ दशमलव १ प्रतिशत सम्म पुगेको थियो । टीपीएसले समावेशिता, आधिकारिकता र अवसरहरुमा बढावा दिएको सर्वेक्षणले जनाएको छ ।

टीपीएसले गर्दा आफू अमेरिकाको भएको भावनामा बढावा दिनेमा ८४ दशमलव ९ प्रतिशतले सहमति जनाएका थिए । टीपीएसले गर्दा आफ्नो सुरक्षा र भलाईको कम चिन्ता लाग्ने वाक्यमा ९० दशमलव ४ प्रतिशतले सहमति जनाएका थिए ।

टीपीएसका कारण परिवारको सुरक्षा र भलाईको कम चिन्ता लाग्नेमा ८५ प्रतिशतले सहमति जनाएका थिए । २७ दशमलव २ प्रतिशतले टीपीएस पाएपछि आफू राजनैतिक शिक्षामा पनि बढी सकृय भएको बताए ।

करिब ३८ प्रतिशतले स्नातक तह या सो भन्दा माथिको डिग्री भएको बताए । टीपीएसका कारण पहिले पाउन नसकेको शिक्षाका अवसरहरुको फाईदा उठाउन सकेकोमा ४७ दशमलव ९ प्रतिशतले सहमति जनाएका थिए ।

नेपाली टीपीएस वालाहरुले अमेरिकी अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुराईरहेको सर्वेक्षणले जनाएको छ । ती मध्ये धेरै जनाले कोभिड १९ को संक्रमणकालमा डाक्टर, नर्स, ग्रोसरी पसलका कामदार, रेस्टुरेन्ट कामदार, तथा डेलिभरी र प्याकेजिङ्क जस्ता क्षेत्रमा अग्रपंक्तिमा अति आवश्यक कामदारका रुपमा काम गरेका थिए। यस अर्थमा नेपाली टीपीएस वालाहरुलाई अमेरिकी अर्थ तन्त्रमा योगदान गरि राख्नको लागि उनीहरुको काम गर्ने अनुमति पत्रले महत्वपूर्ण भूमिका खेल्ने सर्वेक्षणले निष्कर्ष निकालेको छ ।

९१ दशमलव ७ प्रतिशतले टीपीएस पाए पछि काम गर्ने अनुमति पत्र पाएको र सन् २०१५ को महाभुकम्प अगाडीदेखि नै अमेरिकामा काम गरि रहेकामध्ये ९४ दशमलव ३ प्रतिशतले टीपीएसले गर्दा काममा निरन्तरता पाएको बताए ।

टीपीएसले गर्दा अझ धेरै पैसा कमाउन सफल भएको र जसले गर्दा परिवारलाई आर्थिक सहयोग मिलेकोमा ७६ दशमलव ७ प्रतिशतले सहमत जनाए । ६२ दशमलव ७ प्रतिशतले टीपीएसले गर्दा आफ्नो शिक्षा र तालिम मुताविकको काम पाउन सफल भएको बताए ।

५९ दशमलव १ प्रतिशतले टीपीएस पाए पछि अमेरिकामा बैंकमा खाता खोलेको बताए भने ३१ दशमलव २ प्रतिशतले गाडी किनेको बताए । ४ दशमलव ६ प्रतिशतले घर किनेको बताए ।

कोभिड १९ को संक्रमणले सबै अमेरिकनहरुलाई जस्तै नेपाली टीपीएसवाहकलाई पनि नकारात्मक असर पारेको सर्वेक्षणले जनाएको छ ।
२५ देखि ६५ वर्ष उमेर भएका प्रतिकृया दिनेहरु मध्ये ७० दशमलव ४ प्रतिशतले हाल रोजगारमा रहेको बताए पनि ५८ प्रतिशतले संक्रमणको कारणले कामको समय घटेको बताए । बेरोजगार हुनेहरु मध्ये ६० दशमलव ९ प्रतिशतले संक्रमणको कारणले गएको तीन महिना भित्र जागिर गुमाएको बताए ।

बेरोजगार हुनेहरु मध्ये ११ दशमलव ९ प्रतिशतले आफ्नो घर परिवारको कसैले पनि संधिय सरकारले बाँडेको राहतको चेक नपाएको बताए ।
त्यस्तै २४ दशमलव ५ प्रतिशतले संक्रमणको कारणले घर भाडा या घरको किस्ता तिर्न गाह्रो भएको बताए ।

प्रतिकृया दिनेहरु मध्ये ३ दशमलव ५ प्रतिशतले घर निकालाको धम्कीको सामना गर्नु परेको बताए। गत तीन महिना भित्रमा जागिर गुमाउनेहरुमा भने यो दर बढेर ४ दशमलव ५ प्रतिशत पुगेको छ।

यूनिभर्सिटी अफ क्यालिफोर्निया, सान डिएगोका राजनैतिक शास्त्रका सहप्राध्यापक तथा सोहि विश्वविद्यालयका युएस इमिग्रेशन पोलिसी सेन्टरका संस्थापक निर्देशक तथा सेन्टर फर अमेरिकन प्रोग्रेसका सिनियर फेल्लो टम के वङले नपाली टीपीएसवाहकबारे यति धेरै सुव्यवस्थित सर्वेक्षण भएको पहिलो पटक भएको बताएका छन् ।

१० मध्ये ८ जनाले नेपाल फर्कन वाध्य भएमा उनीहरुले आफ्नो शारिरिक सुरक्षाको चिन्ता गर्नु पर्ने बताएका कारण यो तथ्यांकले नेपाली टीपीएसवाहकलाई सुरक्षित बनाउन निकै महत्वपूर्ण भूमिका खेलेको कुरा छर्लङ्ग पारेको उनले बताए । अमेरिकामा जन्मेका बालबच्चा या श्रीमान अथवा श्रीमतीको कुरा देखि लिएर यहाँ आफ्नो पेशा र व्यवसायहरु शुरु गरेको तथ्यलाई नियाल्दा यो तथ्यांकले टीपीएसवाहकले अमेरिकी समाजमा ‍गहिरो सम्बन्ध स्थापित गरेको कुरा प्रष्ट हुने उनले बताए ।

मानव अधिकार र सामाजिक न्यायको लागि “अधिकार” की कार्यकारी निर्देशक पवित्रा खाती बेन्जामिनले नेपाली समुदाय र यो देशको हालको जोखिमपूर्ण परिस्थितिमा नेपाली टीपीएसवाहकबारे यस्तो किसिमको पहिलो रिपोर्टको उद्घाटन गर्न पाउँदा धैरै नै गर्व लागेको बताइन् । यो देश भरि छरिएर बसेका नेपाली टीपीएसवाहकले आफ्नो जीवनको लागि यहाँ लगानी गरेका, परिवारहरु बसालेका, घर किनेका र अमेरिकामा आफ्नो भविष्यको परियोजना बनाएका तर गत सेप्टेम्बर १४ को नवौं सर्किट अदालतको फैसलाले यो देशलाई आफ्नो घर बनाएका हाम्रो समुदायका सदस्यहरुलाई जबरजस्ती देश निकाला हुन सक्ने र आफ्नो परिवारबाट छुट्टिन पर्ने जोखिममा पुराएको उनले बताइन् ।

सन् २०१५ देखि नै अधिकारले टीपीएस र यसबाट लाभान्वित करिब १५,००० नेपालीहरु र वहाँहरुको बालबच्चा र परिवारहरुको सुरक्षाको लागि लडिरहेको तथा नेपाली टीपीएस वालाहरुको आफ्नो परिवार सहित यहि देशमा बस्ने हक रहेको कुरालाई यो रिपोर्टले पुष्टि गरेको उनले बताइन् ।

सेन्टर फर अमेरिकन प्रोग्रेसको इमिग्रेशन टोलीकी सहनिर्देशक सिल्भा माथेमाले टीपीएसले आफ्नो जीवन बनाउने र समुदायमा योगदान पुर्याउने अवसर दिएर नेपाली टीपीएसवाहकलाई जिउने आधार उपलब्ध गराएको र ती मध्ये कतिपय अत्यन्तै आवश्यक कामदारहरु पनि रहेको बताइन् ।

यद्यपी नेपाली लगायत अन्य टीपीएसवाहकले आफ्नो परिवारको निकटता र अमेरिकामा आफुहरुले बनाएको जिन्दगी जोगाउन सँघर्ष गरिरहनु परेको तथा उनीहरुलाई यहाँबाट धपाउने कुरा क्रूर मात्र नभई उनीहरु बसोबास गरि रहेको समुदायको अर्थतन्त्रमा पनि नोक्सान पुर्याउने उनले बताइन् ।

अमेरिकी कँग्रेसकी सदस्य ग्रेस मेङले नेपाली समुदायको लागि टीपीएसको सुरक्षाको महत्व र फाईदा दर्शाउने ऐतिहासिक रेपोर्टको लागि अधिकार, सेन्टर फर अमेरिकन प्रोग्रेस तथा यूनिभर्सिटी अफ क्यालिफोर्निया, सान डिएगो को युएस इमिग्रेशन पोलिसी सेन्टरलाई बधाई दिइन् । टीपीएसले नेपालीहरुलाई काम पाउन, आफ्नो समुदायमा योगदान पुर्याउन र यो देशको शोभा बढाउन मद्दत गरेको उनले बताइन् । ट्रम्प सरकारको जातिवाद र अश्वेत जाति प्रतिको वैरभावमा आधारित आप्रवासको नितिहरुलाई यो रिपोर्टले कडा प्रत्युत्तर दिएको भन्दै उनले नेपाली समुदायको लागि निरन्तर साथ दिने बताइन् ।

“अधिकार” नेपाली भाषी समुदायलाई संगठित गरेर सबैको लागि मानव अधिकार र सामाजिक न्याय दिलाउने न्युयोर्कमा रहेको गैरनाफा मुलक संस्था हो । अधिकार कामदारहरु हक, आप्रवासीहरुको हक, सुलभ स्वास्थ्य सेवाको पहुँचको साथै भाषिक न्यायको लागि नेपालीभाषी समुदायलाई संगठित गरेर सेवा गर्ने एक मात्र महिला नेतृत्व भएको संस्था हो ।

सन् २००५ मा स्थापना भएको अधिकारले २०१५ मा नेपालको लागि टीपीएस प्राप्त गर्ने अभियानको नेतृत्व गरेको थियो । त्यस पश्चात टीपीएसको सुरक्षा र टीपीएसवाहकलाई स्थायी बसोबास दिलाउने मुद्दालाई अधिकारले राष्ट्रिय स्तरमा वकालत गर्दै आएको छ।

सर्वेक्षणको पूर्ण पाठ ।

KHASOKHAS EDITORIAL TEAM

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Editor (Business/US Politics) : Suresh Shahi
Multimedia Editor/Presenter : Kiran Marahatta
Europe Editor: Hari Krishna Panthi
Online Editors: Suraj Ghimire, Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

KHASOKHAS TEAM

Resource Person: Bishwa Bahadur Shah
Goodwill Ambassador: Yam Baral
Magazine Layout: Deel Gurung

Contact Us

© 2012-2020 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com