इन्टरनेट कम्पनी र प्राधिकरणको लापरवाहीले आतङ्कित बन्दै विद्यार्थी


प्रकाशित मिति : कार्तिक ३, २०७७ सोमबार

अनलाइन कक्षामा सहभागी हुँदै आएकी सूर्यविनायक–२ बालकोटस्थित माउण्ट भ्यू इङ्लिस स्कुलकी १० कक्षाकी छात्रा दिप्सोना गिरीको परीक्षा नै छुट्यो । दिउँसो २ बजे विद्युत् प्राधिकरण थिमि शाखाले विनासूचना विद्युत् लाइन काटेपछि परीक्षा दिँदै गरेकी छात्राको परीक्षा नै अड्कियो ।

हतारहतार मोबाइलबाट डाटा चलाउन खोज्दा पैसा काटियो तर डाटा स्लो हुँदा उनको आधा परीक्षा छुट्यो । ४ बजे विद्युत् आएपछि हतारहतारमा परीक्षामा बसेकी उनको समय सकिएको जानकारी गराउँदै स्कुलले परीक्षा रोकिदियो ।

चार दिनदेखि अनलाइन माध्यमबाट परीक्षा शुरु गरेको विद्यालयले आपत्कालीन अवस्थाका लागि अतिरिक्त व्यवस्था नगर्दा परीक्षा छुटेपछि छात्रा गिरी मात्रै होइन धेरै विद्यार्थी मानसिक तनावमा परेका छिन् । विद्यालयलाई विद्युत् गएर परीक्षा रोकिएको जानकारी गराउँदा सिस्टममै निर्धारित समयभन्दा बढी गए आफैँ काटिने भएकाले विद्युत् गए पनि परीक्षामा सहभागी हुन नपाउने जवाफ दिएको अभिभावक बताउँछन् ।

यो एउटा उदाहरण मात्रै हो, अचेल अनलाइन कक्षाका बहानामा विद्यालयलाई शुल्क उठाउन सजिलो भए पनि इन्टरनेट प्रदायक कम्पनी र विद्युत् प्राधिकरणको लापरवाहीका कारण अनलाइन कक्षामा सहभागी अधिकांश विद्यार्थी मानसिक तनावमा परेका छन् । कक्षा लिँदा होस् वा परीक्षा दिँदा बेलाबेलामा झ्याप्प झ्याप्प विद्युत् प्रवाह बन्द हुने र जुनसुकै कम्पनीका इन्टरनेट पनि अति स्लो हुने गर्दा अनलाइन कक्षामा अध्ययनरत विद्यार्थी थप मानसिक तनावमा परेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कक्षा १० मा अध्ययन गर्दै गरेका मध्यपुरथिमि कौशलटारका आयुश शर्माका पिता रामेश्वर शर्माले बेलाबेलामा विद्युत् आपूर्ति बन्द हुने र इन्टरनेट अति स्लो हुने भएकाले विद्यार्थीको पढाइ प्रभावकारी नभएको बताउँछन् । पछिल्लो समयमा विद्यालयले पूरा शुल्क लिने तर विद्यार्थीले सहज पढ्न नपाउने समस्या र गुनासो सबै अभिभावकसँग भएको उनको भनाइ छ । अनलाइन कक्षा सञ्चालन भएका विद्यार्थीका अधिकांश घरमा कुनै न कुनै कम्पनीका ४० देखि ६० एमबीसम्मका इन्टरनेट राखे पनि सबैले इन्टरनेट स्लो हुने गरेको गुनासो गर्ने गरेको बताउँछन् ।

इन्टरनेट कम्पनीले शुल्कअनुसारको सेवा नदिएर ठगी गर्दा पनि कारवाही नहुनु विडम्बना भएको बताउँछन्, उपभोक्ता मञ्च भक्तपुरका अध्यक्ष मनोज थापा । “ठगी गर्नेलाई कारवाहीमा ल्याउनु सरकारको दायित्व हो तर सरकारको यसमा ध्यान जान सकेको छैन”, उनले भने ।

मध्यपुरथिमि नगरपालिका– १ लोकन्थलीकी सुरुची कार्कीको गुनासो पनि उस्तै छ । कक्षा १० मा अध्ययनरत उनी बेलाबेलामा झ्याप्प झ्याप्प जाने बत्ती र अति स्लो हुने इन्टरनेटका कारण पढाई प्रभावकारी नभएको बताउँछिन् । उनी भन्छिन्, “अनलाइन कक्षाका लागि नयाँ ल्यापटप ल्याइयो, घरमा ६० एमबीको इन्टरनेट जोडियो, केही दिन त ठिकै थियो, अहिले त बेलाबेलामा बत्ती जाने र इन्टरनेट अति स्लो हुने गर्दा पढ्नै सकिएन, खै कसरी एसइई परीक्षा दिन सकिएला ?”

विशेषगरी कक्षा १० मा अध्ययनरत विद्यार्थी पछिल्लो समयमा निकै मानसिक तनावमा परेका छन् । सरकारले एसइईको परीक्षा कसरी सञ्चालन गर्ने हो भन्ने टुङ्गो लागेको छैन, अनलाइन कक्षाका नाममा विद्यालयले वैशाखदेखि साउनसम्मको आधा शुल्क र साउनदेखि पूरै शुल्क लिएर अनलाइनबाट पढाइरहेका छन् तर पढाइ प्रभावकारी नहुँदा विद्यार्थी मारमा छन् ।

अनलाइनमा पढ्दा कहिले सर्भर ह्याङ हुने समस्या त छँदैछ, अधिकांश विद्यार्थी र अभिभावकको गुनासो पढाइको गुणस्तरीयतामा पनि कमी आएको छ । अधिकांश विद्यालयका अनलाइन कक्षामा एउटै विषयमा फरक दिनमा फरक शिक्षक आउने भए पनि विद्यार्थी झन अन्यौलमा पर्ने गरेको अभिभावकदेखि विद्यार्थीसम्मको गुनासो छ ।

विद्यालयले तलब नदिएकै कारण धेरै विद्यालयका शिक्षकले छाडेपछि अचेल अधिकांश विद्यालयले एउटै शिक्षकबाट फरकफरक विषयको अध्यापन गराइरहेका छन् । सरकारले अनलाइन कक्षाको नियमन नगर्दा, स्थानीय सरकारले बेवास्ता गर्दा र अभिभावक सङ्घले चासो नदिँदा शुल्क उठाउन पाएपछि विद्यालय सञ्चालक शान्त बने पनि विद्यार्थी र अभिभावक भने सधैँ तनावमा रहने गरेका छन् । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com