Follow @khasokhasmag

कोरोनामा आयुर्वेदिक औषधिको माग बढ्दो


प्रकाशित मिति : आश्विन २७, २०७७ मंगलबार

काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण बढिरहेका बेला मानव शरीरमा रोग प्रतिरोधी क्षमता बढाउने आयुर्वेदिक औषधिको माग बढ्न थालेको छ । सिंहदरबार वैद्यखाना विकास समितिका प्रबन्ध निर्देशक डा वंशदीप शर्मा खरेल आयुर्वेदमा रोग प्रतिरोधी क्षमता विकास गर्ने वनस्पति भनी व्याख्या गरिएका संस्कृत भाषामा अमृता भनिने गुर्जोबाट बनेको गुडुचो चिया स्क्वास, तुलसी चिया, जेठीमधु चूर्ण, शुद्ध अमलाबाट बनाएका आमालकी चूर्ण, रस्वगन्धा चूर्ण लगायत जडीबुटीबाट बनेका उत्पादनको माग विगत वर्षभन्दा चार गुणसम्म बढेको बताउँछन् ।

“विसं २०७६ चैतअघि तुलसी चियाको खपत वार्षिकरुपमा सरदर सात हजार २ सय ३१ पोका हुन्थ्यो, यस वर्ष सात महिनामै १३ हजार ६ सय ५७ पोका बिक्री भइसकेको छ, माग बढिरहेकाले अरु बनिरहेको छ, यसवर्ष पहिलोपटक बनाइएको गुर्जोको चिया गुडुची सात हजार ३ सय ४७ पोका बजारमा गइसकेको छ”, उनले भने ।

समितिबाट गत वर्ष अश्वगन्धा ८ सय १८ पोकामात्र बिक्री भएको थियो । यस वर्ष छ हजार ३ सय ८८ पोका गइसकेको छ । यसैगरी यस वर्ष माग भएर नयाँ बनाइएको ज्येष्ठवासादि चूर्ण चार हजार २ सय २ पोका बिक्री भइसकेको छ । गत वर्ष भण्डार रहेको बिक्री भइरहेको जेठीमधु चूर्ण पनि यस वर्ष दुई हजार २ सय ७१ पोका बिक्री भइसकेको छ । कात्तिक लागेसँगै समितिले रोग प्रतिरोधी क्षमता बढाउने च्यवनप्रास पनि बनाउने तयारी गरेको छ ।

मागअनुसार पूर्ति गर्न धौ–धौ भए पनि अहिलेसम्म समितिले बजारमा आवश्यकताअनुसार पूरा गर्न सफल भएको छ । कोरोना भाइरसको फैलावटसँगै गुर्जोका बिरुवा लगाउने बढे पनि अमलालाई भने बिर्सन थालिएकाले यसतर्फ पनि अभियानकर्मीको ध्यान जानुपर्ने प्रबन्ध निर्देशक खरेल बताउँछन् ।

“गुर्जोसँगै अमला पनि लगाउनुपर्छ, अमलालाई बिर्सनुभएन, गुर्जोसँगै अमला पनि आम्दानीको स्रोत बन्छ, अमला र गुर्जो पनि भयो भने रोग प्रतिरोधी क्षमता बढाउँछ, गुर्जो जुन बिरुवामा जान्छ, त्यसैको गुण लिने भएकाले गुर्जो र अमलासँगै लगाउनुपर्छ”, उनले भने ।

उपत्यकामा बागमतीलगायत नदी किनार, गोकर्ण लगायत स्थानमा धेरै सङ्ख्यामा गुर्जो रोपिए पनि अमला नरोपिनु उत्पादनका दृष्टिले समेत ठीक हुँदैन । व्यावसायिक रुपमा अमला खेती गरे समितिले सबै किनिदिने प्रतिबद्धता जनाएको छ । समितिले गुर्जोको चिया कोभिडपछि बनाएको हो । विगत वर्षमा अमलाबाट बनेका परिकारको माग पनि कम थियो । गुर्जो, अमलालगायत जडीबुटीबाट बनेका परिकार अनुसन्धानबाट प्रमाणित नभएसम्म कोरोनाकै औषधि भन्न नसकिए पनि रोग प्रतिरोधी क्षमता बढाउने उत्पादनका रुपमा उपयोग गर्नेको सङ्ख्या बढ्न थालेको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले जडीबुटीबाट बनेका विभिन्न परिकारले कोरोना नियन्त्रणमा कति सहयोग पु¥याउँछ भनी अनुसन्धान सुरु गरेको छ । परिषद्का प्रवक्ता मेघनाथ धिमाल अनुसन्धानका लागि तालीम सकी अरु काम अघि बढेको बताउँछन् ।

केन्द्रका सबै संक्रमित निको भए

राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरमा आइसोलेसनमा राखिएका करिब ७ सय कोरोनासंक्रमित ठीक भएर घर फर्किएका छन् । केन्द्रमा ल्याइएको कोरोना संक्रमितमध्ये हालसम्म कसैको पनि निधन नभएको कार्यकारी निर्देशक राम आधार यादवले जानकारी दिए । केन्द्रमा राखिएका संक्रमितलाई बिहान योग, प्राणायामलगायत व्यायाम गराइन्छ । तिनलाई रोग प्रतिरोधी क्षमता बढाउने आयुर्वेदिक औषधि खुवाइन्छ । यहाँ आवश्यक परेको अवस्थामा अक्सिजनको व्यवस्था पनि गरिएको छ । केन्द्रमा २ सय जना संक्रमित राख्न सक्ने क्षमता छ ।

आयुर्वेद चिकित्सकका रुपमा करिब ४० वर्ष सेवा गर्नुभएका डा शेषराज आचार्य रुघाकै प्रकृतिको रोग भएकाले सम्पर्कबाट सर्ने भएकाले यस्ता रोगमा आयुर्वेद प्रभावकारी हुने बताउँछन् । रोग प्रतिरोधी क्षमता भएकामा यसले धेरै असर गर्दैन । संक्रमण भएमा सितोपलादि चूर्ण १ सय ग्राम, गोदन्दी भष्म १० ग्राम, अभ्रक भष्म १० ग्राम, गुर्जोको धुलो (गिलोय सत्व) ५० ग्राम मिसाएर बिहान, दिउँसो र बेलुका मन तातो पानीसँग खाएमा ठीक हुने उनले बताए ।

आयुर्वेद चिया ‘इम्युन टी’ सेवन गर्ने, सामान्य व्यायाम गर्ने, पानीको बाफ लिने गर्नाले निको हुने उनले बताए । कोरोनाका क्रममा १०३ देखि १०४ डिग्रीसम्म ज्वरो आएमा महामृत्युञ्जय वा त्रिसुन बटी नामको दुई गोली मन तातो पानीमा घोलेर खाएमा निको हुने हाल पनि चाबहिलमा शेष आयुर्वेद क्लिनिक चलाइरहेका आयुर्वेद विभागका पूर्व महानिर्देशक आचार्यले जानकारी दिए ।

गुर्जोको निःशुल्क वितरण तीव्र

राजधानीमा कोरोनाको फैलावटसँगै गुर्जोको बिरुवा, धुलो र चिया निः शुल्क वितरण गर्ने अभियान पनि तीव्र भएको छ । सशस्त्र प्रहरी बल सिनामङ्गलमा २ सय बिरुवाका साथै चिया र औषधिको धुलो प्याकेट वितरण गरिएको गुर्जो अभियानकर्मी एवं आन्तरिक राजश्व कार्यालय लाहानका प्रमुख कमलबहादुर राजलवटले जानकारी दिए । पतञ्जलि योग समितिको आयोजनामा काँडाघारी क्षेत्रका स्थानीयवासीलाई ५ सय, ललितपुर महानगरपालिका–२५ भैँसेपाटी ६ सय, नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालय २ सय, भक्तपुर क्यान्सर अस्पत्ताल ४ सय०, चन्द्रागिरी नगरपालिकालाई २ सय, महानगरीय प्रहरी वृत्त थानकोट २ सय बिरुवा हस्तान्तरण गरिएको छ ।

गुर्जोको बिरुवा वितरण गरिएका सबै स्थानमा गुर्जोलगायत जडीबुटीबाट बनेको चिया खुवाउने, चिया तथा धुलो औषधि वितरणसमेत गरिएको छ । वितरण गरिएका स्थानामा कोरोना देखिएका परिवारलाई गुर्जोको विशेष प्याकेटको व्यवस्था गरिएको छ । त्रिभुवन पार्कमा गुर्जो लगाउनसमेत निः शुल्क वितरण अभियानले सहयोग गर्ने भएको छ ।

यसैगरी ललितपूर महानगरपालिका–१० को ज्वागलस्थित बराह टोल सुधार समितिलाई २ सय, बूढानीलकण्ठ नगरपालिकाको वडा नम्बर १० र ११ मा २ सय, टोखा नगरपालिकालाई ६ सय बिरुवा हस्तान्तरण गरिएको अभियानकर्मी राजलवटले बताए ।

गुर्जोबाट बनेको सबै रोगमा उपयोगी हुने धुलो औषधि पनि बिरुवासँगै वितरण गरिएको छ । टोखा नगरपालिकामा मनमोहन मेमोरियल अस्पतालका विभागीय प्रमुख डा श्यामेन्द्रबहादुर सिंहलाई समेत बिरुवा र गुर्जोबाट बनेका औषधि वितरण गरिएको थियो । मेडिकल डाक्टर पनि गुर्जोको चिया तथा धुलो औषधिको नियमित सेवनकर्ता रहेको अभियानकर्मी राजलवटले बताए । रासस

© 2022 KHASOKHAS®. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com