ब्याटलग्राउण्ड राज्य जर्जियामा ट्रम्प अगाडि
प्रकाशित मिति : आश्विन २६, २०७७ सोमबार

पछिल्ला चुनावी सर्वेक्षणहरुमा अधिकांश ब्याटलग्राउण्ड राज्यहरुमा राष्ट्रपतिको उम्मेदवार जो बाइडेन अगाडि देखिएका छन् । तर जर्जियामा भने डोनाल्ड ट्रम्पको अग्रता देखिएको छ । कैयन पुस्तादेखि रिपब्लिकनहरुकै नियन्त्रणमा रहँदै आएका जर्जिया अहिले ब्याटलग्राउण्ड राज्य भएको छ ।
जर्जियाको परिवर्तिन जनसंख्याका कारण पुराना श्वेत मतदाताहरुको संख्या कम हुँदै गएको छ भने आप्रवासीहरु बढ्दै गएका छन् । विगत ३० बर्षको इतिहासमा जर्जियामा डेमोक्र्याट्स र रिपब्लिकनहरुबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
अघिल्लो चुनावमा जर्जियाबाट ट्रम्पले नै जितेका थिए । तर चुनाव आउन केहीसाता बाँकी रहँदा यो राज्यमा बाइडेनको पनि प्रभाव राम्रो देखिएको छ । जर्जियाबाट राष्ट्रपति चुनावका लागि इलेक्टोरल कलेजमा १६ मत प्राप्त हुनेछ ।
जर्जियाको सर्वेक्षणमा बाइडेन र ट्रम्पबीच प्वाइन्ट प्रतिशतमा खासै धेरै अन्तरभने छैन । अमेरिकी राष्ट्रपति चुनाव जित्न २७० इलेक्टोलर भोटको आवश्यकता पर्ने भएकाले ट्रम्पलाई विजयी हुनका लागि जर्जिया र फ्लोरिडा जस्ता राज्यमा जित्न आवश्यक छ ।
मतदानका लागि योग्य नेपाली अमेरिकन झण्डै ५० हजार
यसपटकको चुनावमा झण्डै ५० हजार नेपाली अमेरिकनहरु मतदानका लागि योग्य रहेका छन् । त्यो बाहेक नेपाली अमेरिकन बाबुआमाबाट अमेरिकामा जन्मिएर मतदानका लागि योग्य भएकाहरुको संख्या पनि बढ्दो छ ।
अहिलेसम्म अमेरिकी नागरिकता लिने नेपालीको संख्या झण्डै ५० हजार पुगेको अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ ।
अमेरिकी सरकारको आप्रवास तथ्यांक कार्यालयका अनुसार सन् १९९० सम्ममा अमेरिकी नागरिकता पाउन सफल नेपालीहरुको संख्या जम्मा २६१६ मात्र रहेको थियो । त्यतीबेला सन् १९९० कै वर्षमा जम्मा ३७ जना नेपालीले अमेरिकन नागरिकता लिएका थिए । त्यो भन्दा अगाडि सन् १९८९ मा ३५ जना नेपालीले अमेरिकन नागरिकता लिएका थिए । त्यसैगरी सन् १९८८ मा जम्मा ३१ जनाले र सन् १९८७ मा २२ जनाले अमेरिकन नागरिकता लिएका थिए ।
सन् १९९१ मा अमेरिकन पाउने नेपालीको संख्या थोरै बढेर ५६ पुगेको थियो । सन् १९९२ मा ४४ जना नेपालीहरुले अमेरिकन नागरिकता पाए । सन् १९९३ मा ४६ जनाले , सन् १९९४ मा ७० जनाले, सन् १९९५ मा ६० जनाले , सन् १९९६ मा ११९ जनाले, सन् १९९७ मा ७८ जनाले र सन् १९९८ मा ८२ जना नेपालीले अमेरिकन नागरिकता पाए । सन् १९९९ मा १४३ जनाले, सन् २००१ मा २०५ जनाले, सन् २००२ मा २४७ जनाले,सन् २००३ मा ३१८ जनाले , सन् २००४ मा ४०८ जनाले अमेरिकन नागरिकता पाए ।
त्यस्तै सन् २००५ मा ४१७ जनाले, २००६ मा ५७५ जनाले, सन् २००७ मा ६३८ जनाले, सन् २००८ मा ९५३ जनाले, सन् २००९ मा १६३२ जनाले, सन् २०१० मा २१८५ जनाले र सन् २०११ मा २२३५ जनाले अमेरिकन नागरिकता लिएका थिए । त्यस्तै सन् २०१२ मा २४४८ जना नेपालीहरुले अमेरिकन नागरिकता लिएका थिए । सन् २०१३ मा अमेरिकन नागरिकता लिने नेपालीहरुको संख्या २७११ रहेको थियो । सन् २०१४ मा २८८८ नेपालीले अमेरिकी नागरिकता लिए भने सन् २०१५ मा ४२२५ जना नेपालीले अमेरिकन नागरिकता लिए ।
सन् २०१६ मा ५ हजार ४ जना नेपालीहरुले अमेरिकाको नागरिकता लिए । सन् २०१७ मा भने अमेरिकी नागरिकता लिने नेपालीहरुको संख्या ४५ सय ९ रहेको थियो । सन् २०१८ मा अमेरिकाभर ५२५२ जना नेपालीहरुले अमेरिकाको नागरिकता लिएका छन् । सन् २०१९ र त्यसपछि अमेरिकी नागरिकता लिने नेपालीहरुको संख्या झण्डै ७ हजारको हाराहारीमा रहेको छ ।
सन् २०२४ मा हुने चुनावसम्म यो संख्या तीनगुणा बढ्ने अनुमान गरिएको छ । किनभने हाल अमेरिकामा रहेका झण्डै एकलाख ग्रिनकार्डवाहक नेपालीहरु त्यतीबेलासम्म अमेरिकी नागरिकता प्राप्त गर्नका लागि योग्य हुनसक्नेछन् ।
बढी मत ल्याउनेले पनि हार्नसक्छ
अमेरिकी राष्ट्रपति चुनावको अनौठो पक्ष के छ भने चुनावमा बढी मत ल्याउनेले समेत चुनाव हार्नसक्छ । अमेरिकी इतिहासमा यस्तो कैयन पटक भएको छ ।
सन् २००० मा भएको राष्ट्रपति चुनावमा एल गोरले ५ करोड ९ लाख ९९ हजार ८ सय ९७ भोट ल्याए भने जर्ज बुसले ५ करोड ४ लाख ५६ हजार २ भोट ल्याए । बुसले भन्दा शुन्य दशमलव ५ प्रतिशत बढी भोट एल गोरले ल्याएका थिए । तर चुनाव जीते बुसले ।
त्यस्तै सन् २०१६ को राष्ट्रपति चुनावमा हिलारी क्लिन्टनले ६ करोड ५८ लाख ५३ हजार ५ सय १४ भोट ल्याइन् । तर ट्रम्पले त्यो भन्दा कम ६ करोड २९ लाख ८४ हजार ८ सय २८ भोट ल्याए । अर्थात् ट्रम्पले भन्दा हिलारीले झण्डै साढे २८ लाख बढी भोट ल्याइन् । तरपनि चुनाव भने ट्रम्पले नै जीते ।
यस्तो सन् १८८८ र १८७६ को चुनावमा पनि भएको छ । यस्तो घटना १८२४ मा पनि भएको थियो, तर त्यतीबेला ६ वटा राज्यहरुमा इलेक्टरहरु नियुक्त गरिएका कारण प्रकृया अलिकति फरक थियो ।
अमेरिकी राष्ट्रपति चुनाव पूर्णरुपमा प्रत्यक्ष चुनाव होइन । अमेरिकी चुनावमा मतदान गर्न योग्य अमेरिकीहरुले इलेक्टोरल मतका लागि इलेक्टरहरु छान्नका लागि अमेरिकी इलेक्टोरल कलेजका सदस्यहरुका लागि मतदान गर्दछन् ।
त्यस्ता इलेक्टरहरुले पहिले नै आफूले कुन उम्मेदवारका लागि मतदान गर्ने भन्ने सार्वजनिक गरिसकेका हुन्छन् । जनताबाट छानिएका इलेक्टरहरुले राष्ट्रपति र उपराष्ट्रपतिका लागि इलेक्टोरल मतदान गर्दछन् । मतदानपछि पूर्ण बहुमतप्राप्त उम्मेदवारलाई विजेता घोषणा गरिन्छ ।
यदि राष्ट्रपतिका लागि कसैले पनि पूर्ण बहुमत प्राप्त गर्न नसकेको खण्डमा प्रतिनिधीसभाले राष्ट्रपति छान्ने र उपराष्ट्रपतिका लागि कसैले पनि पूर्ण बहुमत प्राप्त गर्न नसकेमा सिनेटले उपराष्ट्रपति छान्ने व्यवस्था रहेको छ । जम्मा ५३८ इलेक्टोरल मतमध्ये विजेता हुनका लागि कम्तीमा २७० मतको आवश्यकता पर्छ ।
५० वटा राज्य र वासिंटन डिसीबाट जनसंख्याको अनुपातको आधारमा ५३८ इलेक्टोरल मतको तय गरिएको छ ।
सन् २०१२ को राष्ट्रपतीय चुनावमा बराक ओबामाले ३३२ इलेक्टोरल मत प्राप्त गरेका थिए भने मिट रोम्नीले २०६ इलेक्टोरल मत प्राप्त गरेका थिए ।
सन् २००८ को राष्ट्रपतीय चुनावमा भने ओबामाले ३६५ इलेक्टोरल मत प्राप्त गरेका थिए । त्यतीबेला उनका प्रतिस्पर्धी जोन म्याकनले १७३ इलेक्टोरल मत प्राप्त गरेका थिए । सन् २०१२ को चुनावसम्म आइपुग्दा ओबामाको लोकप्रियता कम भएको थियो ।
त्यस्तै सन् २०१६ को चुनावमा ट्रम्पले ३०४ इलेक्टोरल भोट पाएका थिए भने हिलारीले २२७ इलेक्टोरल भोट पाएकी थिइन् । डेमोक्रेटिक समर्थकहरुको बाहुल्य रहेका राज्यहरुमा हिलारीले भारी मतान्तरले ट्रम्पलाई पराजित गर्दा र रिपब्लिकिनका पकड भएका क्षेत्रहरुमा ट्रम्पले हिलारीलाई झिनो मतान्तरले पराजित गर्दा कुल मत बढी प्राप्त गर्दा पनि हिलारीले चुनाव भने जित्न सकिनन् ।
अझ रोचक त के छ भने इतिहासमा पपुलर भोट कम ल्याएर पनि अमेरिकी राष्ट्रपति हुनेहरु चारैजना रिपब्लिकन रहेका छन् ।
उसो त अमेरिकाको चुनाव प्रणाली परिवर्तन गर्नुपर्ने आवाज पनि नउठेको होइन । राष्टपति पपुलर भोटबाट निर्वाचित हुनुपर्ने व्यवस्थाको माग पनि हुने गरेको छ । तर अहिलेसम्म भने त्यसो हुन सकेको छैन ।