KHASOKHAS ON GOOGLE NEWS Fact Checking Stories of Hope Resource Center Donate to Khasokhas KHASOKHAS MAGAZINE Terms of Service/Privacy Policy (English)

मोबाइल स्क्रीन र नोटमा २८ दिनसम्म रहन सक्छ कोरोना भाइरस

प्रकाशित मिति : आश्विन २६, २०७७ सोमबार

कोभिड- १९ रोग गराउने कोरोनाभाइरस ब्याङ्क नोट, फोन स्क्रीन तथा स्टेनलेस स्टीलजस्ता सतहमा २८ दिनसम्म सङ्क्रामक रहन सक्ने अनुसन्धानकर्ताहरूले बताएका छन्।

अस्ट्रेलियाको राष्ट्रिय विज्ञान निकायले दिएको निचोड अनुसार यो भाइरस पहिले सोचेभन्दा लामो समय यसरी जीवित रहनसक्छ।

तर अनुसन्धानकर्ताहरूले यो प्रयोग अँध्यारो अवस्थामा गरेका हुन्। परावैजनी वा अल्ट्राभायोलेट किरणले भाइरसलाई मारिदिने देखिइसकेको छ।

तर कतिपय विज्ञहरूले भने वास्तविक जीवनमा सतहबाट हुने सङ्क्रमणको जोखिमबारे शङ्का प्रकट गरेका छन्।

यो भाइरस सामान्यतया मानिसहरूले खोक्दा, हाँच्छ्यू गर्दा वा बोल्दा सर्छ।

यसअघि प्रयोगशालाहरूमा गरिएका अध्ययनमा सार्स-कोभ-२ भाइरस ब्याङ्क नोट वा ग्लास सतहमा २ देखि ३ दिनसम्म अनि प्लास्टिक तथा स्टीलमा ६ दिनसम्म बाँच्न सक्ने देखिएको थियो। भिन्न भिन्न अनुसन्धानको नतीजा फरक देखिएका थिए।

अस्ट्रेलियाली निकाय सीसीरोले गरेको पछिल्लो अनुसन्धानमा भने भाइरस निकै जन्ड देखिएको हो। मोबाइल फोनको स्क्रीनजस्तो सम्म सतह अनि प्लास्टिक तथा पैसाका नोटमा २० डिग्री सेल्सियसको तापक्रममा भाइरस २८ दिनसम्म जीवित पाइयो।

तुलनात्मक रूपमा फ्लु भाइरस उस्तै अवस्थामा १७ दिनसम्म जीवित रहन्छ।

“सतहहरूमा भाइरस कत्तिको सक्रिय रहन्छ भनेर स्थापित गर्न सकिएको खण्डमा यसको सङ्क्रमणको अनुमान तथा नियन्त्रण गर्न सजिलो हुन्छ र मानिसहरूलाई जोगाउन सकिन्छ,” उक्त निकायका प्रमुख कार्यकारी डा ल्यारी मार्शलले बताए।

तर कार्डिफ विश्वविद्यालयका कमन कोल्ड सेन्टरका पूर्व प्रमुख प्राध्यापक रन एकल्सले उक्त अनुसन्धानको आलोचना गर्दै २८ दिनसम्म भाइरस बाँच्न सक्छ भनेर ‘आम मानिसमाझ अनावश्यक त्रास’ फैलने बताए।

“सतहहरूमा पनि भाइरस म्युकस भनिने खकार वा सिँगानका कण अनि फोहोर औँलाबाट सर्ने हो। यो अनुसन्धानमा भाइरस सार्ने यस्ता कणको अध्ययन गरिएको छैन,” प्राध्यापक एकल्ले भने।

“ताजा म्युकस भनेको भाइरसको निम्ति जोखिमपूर्ण वातावरण नै हो। त्यसमा हुने श्वेत कोषले उत्पादन गर्ने इन्जाइमले भाइरसलाई मार्छ। साथै त्यसमा भएका एन्टीबडी तथा अन्य रसायनले पनि भाइरसलाई निस्क्रिय पारिदिन्छ।”

“मेरो विचारमा सङ्क्रामक भाइरस सतहमा टाँसिएका म्युकसमा केवल केही घण्टा नकि दिन बाँच्न सक्छ।”

गत साता युनिभर्सिटी अफ क्यालिफोर्नियाकी मेडिसिन प्राध्यापक मोनिका गान्धीले कोरोनाभाइरस सतहहरूबाट नसर्ने बताएकी थिइन्।

“महामारीको सुरुमा सतह वा निर्जीव वस्तुमार्फत् सङ्क्रमण सर्ने निकै त्रास थियो। तर अहिले हामीले यसको मुख्य कारण कुनै सतह छोएर अनि त्यसपछि आँखा छोएर सर्ने होइन रहेछ भन्ने थाहा पाएका छौँ। मुख्य कारण त थाहा नपाइकनै कसैले आफ्नो नाक वा मुखबाट निकालिरहेको भाइरसको नजिक पर्नु नै हो।”

बीबीसीका विज्ञान सम्वाददाता पल्लव घोष भन्छन् कोभिड १९ मुख्यतया हावाबाटै सर्ने हो। अध्ययनहरूले हावामा तैरने कणमा यो भाइरस ३ घण्टासम्म सङ्क्रामक रहन सक्ने देखाएका छन्।

तर यो ब्याङ्क नोट वा फोनका टचस्क्रीनबाट कति सर्छ भन्ने कुरा चाहिँ पूर्ण निश्चित् छैन।

उनी भन्छन् पछिल्ला अनुसन्धानबाट भाइरस कुनै कुनै सतहमा सोचिएभन्दा लामो समय बाँच्न सक्ने देखिएको छ तर ती अनुसन्धान भाइरसलाई अनुकूल हुने अवस्थामा गरिएका हुन् – जस्तो कि तापक्रम अनि आर्द्रता घटबढ नहुने र अँध्यारो कोठामा।

तर वास्तविक संसारमा भाइरस त्यति बलियो नहुन सक्छ।

तर पनि घोष भन्छन् यी अनुसन्धानका नतीजाले मानिसहरूलाई सङ्क्रमणको सम्भावना घटाउनका लागि बारम्बार हात धुन तथा फोनका टचस्क्रीन नियमित सफा राख्न आवश्यक छ भन्ने देखाउँछ।

अस्ट्रेलियाली निकायले गरेको अनुसन्धानमा बढी तापक्रममा भाइरस थोरै समय बाँच्ने देखाएको छ। ४० डिग्रीको तापक्रममा केही सतहमा २४ घण्टापश्चात् भाइरस निस्क्रिय भएको पाइयो।

साथै सम्म सतह तथा कुनै छिद्र नभएका सतहमा भाइरस लामो समय रह्यो। तर कपडाजस्ता स-साना छिद्र हुने वस्तुहरूमा भने भाइरस १४ दिनभन्दा बढी सक्रिय नरहेको पाइयो।

चिसा तापक्रममा स्टीलमा लामो समय भाइरस सक्रिय रहने आफ्नो नतीजाले कसरी कोभिड १९ मासु प्रशोधन तथा चिस्यान केन्द्रहरूमा फैलियो भन्नेबारे वर्णन गर्न सक्ने अनुसन्धानकर्ताहरूले बताएका छन्।

विश्वभरि त्यस्ता केन्द्रहरूमा हजारौँ कामदार सङ्क्रमित भएको पाइएका थिए।

त्यसको अन्य कारणमा भने काम गर्ने वातावरण, चिसो र ओसिलो अवस्था अनि मेशिनको आवाजका कारण एकआपसमा चर्को स्वरले बोल्नु पर्ने अवस्था पनि जिम्मेवार रहेको विगतमा बताइएका थिए।

अस्ट्रेलियाली अनुसन्धानकर्ताहरूले उनीहरूको नतीजाले पहिलेका अध्ययनले जस्तै भाइरस ताजा वा फ्रोजन (चिसोमा जमाइएका) खानामा पनि रहनसक्ने देखाएको छ।

विश्व स्वास्थ्य सङ्गठनले यसबारे भनेको छ: “कोभिड १९ खाना वा खानाको प्याकेजबाट सङ्क्रमण सरेको कुनै मामिला हालसम्म पुष्टि भएको छैन।” तर उसले सङ्क्रमण सर्नबाट रोक्न केही पूर्वसावधानीका उपायहरू भने सुझाएको छ। -बीबीसीबाट

KHASOKHAS EDITORIAL TEAM

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Editor (Business/US Politics) : Suresh Shahi
Multimedia Editor/Presenter : Kiran Marahatta
Europe Editor: Hari Krishna Panthi
Online Editors: Suraj Ghimire, Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

KHASOKHAS TEAM

Resource Person: Bishwa Bahadur Shah
Goodwill Ambassador: Yam Baral
Magazine Layout: Deel Gurung

Contact Us

© 2012-2020 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com