ट्रम्पका सय दिन: २८ कार्यकारी आदेश


प्रकाशित मिति : बैशाख १८, २०७४ सोमबार

-किशोर पन्थी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेको ठ्याक्कै एकसयदिन पूरा भएको छ । ट्रम्पका यी सयदिन आप्रवासीहरुलाई तर्साउन र हल्लाखल्लामा नै बितेका छन् । यो एकसयदिनमा ट्रम्पले मिडियालाई गालीगलौजदेखि न्यायालयसम्मको अपमान गरेका छन् । एकसयदिनमा ट्रम्प र ट्रम्प प्रशासनले के के गरे ? हेर्नुहोस् ट्रम्पको एकसयदिने टाइमलाइन ।

जनवरी २० : डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतिका रुपमा सपथग्रहण गरे । त्यसैदिन ट्रम्पले रिटायर्ड मरिन जनरल जेम्स म्याटिस सेक्रेटरी अफ डिफेन्स हुने एउटा बिलमा हस्ताक्षर गरे । त्यसैदिन उनले अफोर्डेवल केयर एक्टका मापदण्डबारे एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरे । त्यसैदिन ट्रम्पकाबिरुद्ध वासिंटन डिसीमा प्रदर्शनकारीहरुले क्षति गरे । २१७ जना प्रदर्शनकारीहरु पक्राउ परेभने ९ जना घाइते भए ।

जनवरी २१ : ट्रम्प प्रशासनबिरुद्ध विश्वब्यापी प्रदर्शन भयो । कम्तीमा ४ मिलियन मान्छेहरु प्रदर्शनमा उत्रिए । त्यसैदिन राष्ट्रपति ट्रम्प सीआईए मुख्यालयमा पुगेर बोले । ह्वाइट हाउसका प्रेस सेक्रेटरी सिन स्पाइसरले ट्रम्पको पदस्थापनमा उपस्थीत संख्या कम देखाएको भन्दै मिडियाको कडा आलोचना गरे । त्यसैदिन दुईवटा अमेरिकी ड्रोनले यमनमा हमला गरे । ट्रम्पको कार्यकाल सुरु भएपछिको यो पहिलो ड्रोन आक्रमण थियो ।

जनवरी २२ : इजरायल र प्लोस्टाइनबीचको शान्ति प्रकृया, आइसीस र इरानबारे छलफल गर्न ट्रम्पले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतेनेहुलाई फोन गरे । अमेरिकामा आएको टोनार्डोमा कम्तीमा २० जनाको मृत्युहुनुका साथै १ दशमलव ३ बिलियनको क्षति भएकोमा ट्रम्पले दुख व्यक्त गर्नुका साथै सहयोगको घोषणा गरे ।

जनवरी २३ : ट्रम्पले अमेरिकामा मुख्य कम्पनीहरुका १२ जना सीईओहरुलाई भेटे । त्यसैदिन ट्रम्पले तीनवटा निर्देशिकामा हस्ताक्षर पनि गरे । पहिलो अमेरिका ट्रान्स प्यासेफिक पार्टनरसिपबाट फिर्ता हुनु थियो । दोश्रोले परिवारनियोजन सेवा अन्तरगत हुने गर्भपतनका लागि इन्टरनेशनल एनजीओहरुले प्राप्त गर्ने अमेरिकी सहयोग रोक्यो भने तेश्रोले अमेरिकामा संघीय कामदारहरु नियुक्ती ९० दिनका लागि रोक्यो ।

जनवरी २४ : भविश्यको निर्माण परियोजनाहरुका लागि वातावरणीय पुनावलोकन तीब्र पार्ने र स्वीकृति प्रदान गर्ने एउटा कार्यकारी आदेशमा ट्रम्पले हस्ताक्षर गरे । त्यसैदिन ट्रम्पले अरु चारवटा मेमोमा हस्ताक्षर गरे । एउटाले मेमोले तेलको पाइपलाइनबारे ओबामा प्रशासनले रोकेको एउटा परियोजनालाई उल्टायो । जनवरी २४ मा नै ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच कुराकानी भयो ।

जनवरी २५ : राष्ट्रपति ट्रम्पले मेक्सिको र अमेरिकाको सिमा क्षेत्रमा पर्खाल लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरे । सिमा क्षेत्रमा पर्खाल लगाउनका लागि डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीलाई निर्देशन दिने कार्यकारी आदेश थियो त्यो । त्यसैदिन ट्रम्पले अध्यागमन कानुनको कार्यान्वयनमा संघीय एजेन्सीहरुलाई सहयोग नगर्ने स्यांचुअरी सिटीहरुलाई संघीय सहयोग नदिने कार्यकारी आदेशमा हस्ताक्षर गरे । यो आदेशले गैरकानुनी रुपमा अमेरिकामा छिरेकाहरुलाई देशनिकालाका लागि मापदण्डमा पनि थप प्रावधानहरु ल्यायो ।

जनवरी २६ : कँग्रेशनल रिपब्लिकन नेताहरुलाई सम्बोधन गर्न ट्रम्पले फिलाडेल्फियाको भ्रमण गरे । त्यसैदिन प्रेस सेक्रेटरी सिन स्पाइसरले सिमा क्षेत्रमा लगाइने पर्खालको २० प्रतिशत मेक्सिकोबाट आयातहुने सामानबाट उठाइने बताए । पर्खाल सम्बन्धि विवादका कारण मेक्सिकोकय राष्ट्रपतिले ट्रम्पसँगको भेटघाट रद्द गरे । डोनाल्ड ट्रम्पको प्रशासनमा काम नगर्ने भन्दै अमेरिकी विदेशमन्त्रालयका केही उच्च अधिकारीहरुले राजिनामा दिए ।

जनवरी २७ : ट्रम्पले मेक्सिकन राष्ट्रपतिसँग उनको अमेरिका भ्रमण रद्द र दुईदेशबीचको सम्बन्धबारे फोनवार्ता गरे । बेलायती प्रधानमन्त्रीसँगपनि ह्वाइटहाउसमा भेटवार्ता गरियो । जनवरी २७ मा नै ट्रम्पले सात मुस्लिम बाहुल्य देशका नागरिकलाई अमेरिका छिर्नमा ९० दिन रोक लगाउने र शरणार्थी कार्यक्रम १२० दिन रद्द गर्ने यात्रा प्रतिबन्ध सम्बन्धि कार्यकारी आदेशमा हस्ताक्षर गरे ।

जनवरी २८ : रसियन राष्ट्रपति भ्लादिमिर पुटिन, जर्मन चान्सलर एंगेला मर्केल, जापानी प्रधानमन्त्री सिन्जो आबे, अष्ट्रेलियन प्रधानमन्त्री माल्कोम टर्नबुल, फ्रेन्च राष्ट्रपति फ्रान्कोइस लगायतका विदेशी नेताहरुसँग ट्रम्पले फोनवार्ता गरे । ह्वाइट हाउस छाडिसकेपछि राष्ट्रपतिय नियुक्तीका लागि पाँचबर्षसम्म लबिङ गर्न नपाउने लगायतका प्रावधान सहितको एउटा कार्यकारी आदेशमा पनि ट्रम्पले हस्ताक्षर गरे । यसैदिनदेखि यात्रा प्रतिबन्धबारेको आदेश कार्यान्वयन हुन थाल्यो ।

जनवरी २९ : ट्रम्पले साउदी राजासँग कुराकानी गरे । त्यस्तै कोरियाली नेतासँग पनि ट्रम्पको फोनवार्ता भयो । यसैदिन मासाचुसेट्स, भर्जिनिया र वासिंटनले ट्रम्पको यात्रा प्रतिबन्ध सम्बन्धि आदेश कार्यान्वयन रोक्नका लागि हस्ताक्षर गरे । ह्वाइटहाउसका अधिकारीले ग्रिनकार्ड भएको सात मुस्मिल बाहुल्य देशको नागरिकलाई अमेरिकामा फर्कन कुनै अप्ठ्यारो नहुने स्पष्ट पारे ।

जनवरी ३० : राष्ट्रपति ट्रम्पले महान्यायाधिवक्ता शेली एट्सलाई बर्खास्त गरे । उनले डिपार्टमेन्ट अफ जस्टिस अन्तरगतका कर्मचारीहरुलाई ट्रम्पको यात्राप्रतिबन्धबारेको आदेश कार्यान्वयन नगर्न भन्दै पत्राचार गरेपछि ट्रम्पले बर्खास्त गरेका थिए । त्यसैदिन कार्यवाहक महान्यायाधिवक्ता र आइसका लागि नयाँ कार्यकारी निर्देशकको नियुक्ती गरियो । ओबामाले समलिंगी र तेश्रो लिंगी कामदारहरुलाई संरक्षण गर्नेगरी हस्ताक्षर गरेको कार्यकारी आदेशलाई ट्रम्पले निरन्तरता दिने घोषणा गरे ।

जनवरी ३१ : राष्ट्रपति ट्रम्पले निल गोर्सचलाई सर्वोच्च अदालतलका एसोसिएट्स न्यायाधिसका रुपमा नियुक्त गरे । सन् २०१६ को फरबरीमा मृत्यु भएकी अन्टोनिनको रिक्त रहेको पदमा यो नियुक्ती गरिएको थियो । त्यसैदिन अमेरिकी सिनेटले एलाइन चाओलाई अमेरिकी सरकारको यातायातमन्त्रीका रुपमा नियुक्ती पारित गरिदियो ।

फरबरी १ : अमेरिकी सिनेटले रेक्स टिलरसनलाई अमेरिकी विदेशमन्त्रीका रुपमा नियुक्त गर्यो । उनको पक्षमा ५६ र विपक्षमा ४३ मत खसेका थिए । राष्ट्रपति ट्रम्पले अष्ट्रेलियन प्रधानमन्त्रीसँग शरणार्थी कार्यक्रमबारे फोनवार्ता गरे । त्यस्तै ट्रम्पले फरबरी महिनालाई राष्ट्रिय अफ्रिकन अमेरिकन इतिहास महिना घोषणा गरे ।

फरबरी २ : राष्ट्रपति ट्रम्पले फरबरी महिनालाई अमेरिकी मुटु महिनाका रुपमा घोषणा गरे । इजरायलले पश्चिमी किनारामा निर्माण गरिरहेको नयाँ सेटलमेन्ट शान्तिसम्झौताका लागि सहयोगी नहुने ट्रम्पले चेतावनी दिए । त्यसैदिन अमेरिकी विदेशमन्त्रीले जर्मन विदेशमन्त्रीसँग भेटघाट गरे ।

फरबरी ३ : ट्रम्पले यो दिन पनि कार्यकारी आदेश र मेमा हस्ताक्षर गरे । साथै ट्रम्पले १३ जना इरानीहरु र १२ वटा कम्पनीहरुमा आर्थिक प्रतिबन्ध लगाउने कुरालाई संस्थागत गरे । यसैदिन वासिंटन राज्यका एकजना संघीय न्यायाधिसले यात्रा प्रतिबन्ध लगाउने ट्रम्पको कार्यकारी आदेश कार्यान्वयनमा रोक लगाए ।

फरबरी ४ : अमेरिकाको डिपार्टमेन्ट अफ जस्टिस अपिल कोर्टका न्यायाधिसहरुले यात्रा प्रतिबन्धबारे ट्रम्पको कार्यकारी आदेश कार्यान्वयनमा अस्थायी रोक लगाए । त्यसैदिन ट्रम्पले इटालियन प्रधानमन्त्री लगायतका केही विदेशी नेताहरुसँग कुराकानी पनि गरे ।

फरबरी ५ : यात्रा प्रतिबन्धबारे ट्रम्पको कार्यकारी आदेश कार्यान्वयनका लागि ट्रम्प प्रशासनले गरेको अपिल अमेरिकाको नाइन्थ सर्किट कोर्ट अफ अपिलले अस्वीकार गरिदियो । जसका कारण कार्यकारी आदेश कार्यान्वन गराउने ट्रम्प प्रशासनको प्रयास सफल हुन सकेन ।

फरबरी ६ : यात्रा प्रतिबन्ध लगाउने ट्रम्पको कार्याकारी आदेश कार्यान्वयन हुन नसकेपछि ट्रम्प प्रशासनमा तहल्का मच्चियो । ट्रम्पले ट्वीटमार्फत न्यायालयको समेत आलोचना गरे । डिपार्टमेन्ट अफ जस्टिसले नाइन्थ सर्किट कोर्ट अफ अपिललाई यात्राप्रतिबन्ध सम्बन्धी आदेश पुनर्जिवित गर्न अनुरोध गर्यो ।

फरबरी ७ : सिनेटले बेट्सी डेभोजलाई सेक्रेटरी अफ एजुकेशन नियुक्त गर्ने प्रस्ताव पारित गर्यो । नियुक्त गर्ने पक्षमा पचास र विपक्षमा पचास मत खसेपनि उपराष्ट्रपति माइक पेन्सले खसालेको एकमतले बेट्सी डेभोजलाई सेक्रेटरी नियुक्त गर्ने प्रस्ताव पारित गर्यो ।

फरबरी ८ : राष्ट्रपति ट्रम्पले आफ्नो मन्त्रिपरिषद्लाई पूर्णता दिएको घोषणा गरे । केही पदहरु हटाइयो केही माथि उठाइयो । फरबरी ८ मा नै ट्रम्पले चीनका राष्ट्रपतिलाई संक्षिप्त पत्र लेखे । त्यसैदिन अमेरिकी विदेशमन्त्रीले क्यानेडियन विदेशमन्त्रीलाई भेटे । सिनेटले महान्यायाधिवक्तामा जेफ सेसनको नियुक्ती पारित गरिदियो । नियुक्तीका पक्षमा ५२ र विपक्षमा ४७ मत खसेको थियो ।

फरबरी ९ : ट्रम्पले डिपार्टमेन्ट अफ जस्टिसमा उत्तराधिकारीसम्बन्धि प्रकृया बदल्ने एउटा कार्यकारी आदेशमा हस्ताक्षर गर्नुका साथै सिमाक्षेत्रमा पर्खाल लगाउने लगायतका कार्यकारी आदेशको कार्यान्वयन सन्दर्भमा थप आदेश जारी गरे । त्यसैदिन नाइन्थ सर्किट कोर्ट अफ अपिलले यात्रा प्रतिबन्धबारेको आदेश कार्यान्वयनको माग गर्दै ट्रम्प प्रशासनले हालेको अपिल अस्वीकार गरिदियो । त्यसैदिन चीनका राष्ट्रपति सि जिङपिङसँग ट्रम्पले कुराकानी गर्दै एकचीन नीतिलाई निरन्तरता दिने सहमति जनाए ।

फरबरी १० : राष्ट्रपति ट्रम्प र जापानी प्रधानमन्त्रीबीच ह्वाइटहाउसमा छलफल भयो । छलफलपछि दुबै नेताहरु ट्रम्पको फ्लोरिडामा रहेको रिसोर्टमा पुगे । त्यसैदिन एयरफोर्स वानमा पत्रकारहरुसँग कुराकानी गर्दै ट्रम्पले आफू यात्रा प्रतिबन्धबारेको नयाँ आदेशको तयारीमा रहेको जानकारी दिए ।

फरबरी ११ : फ्लोरिडामा रहेको ट्रम्प नेशनल गल्फ क्लबमा राष्ट्रपति ट्रम्प र जापानी प्रधानमन्त्री गल्फ खेले । दुई नेताबीच अमेरिका र जापानको सम्बन्धको भविश्य, विश्व र क्षेत्रको भविश्यका साथै उत्तर कोरियाले परिक्षण गरेको मिसाइलका बारेमा कुराकानी भयो ।

फरबरी १३ : ह्वाइटहाउसमा क्यानेडियन प्रधानमन्त्री जस्टिन ट्रोदेउ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भेटवार्ता भयो । त्यसैदिन रुसमाथिको नाकाबन्दीबारे रुसी राजदूतसँग कुराकानी गरेको अभियोगमा ट्रम्पको सुरक्षा सल्लाहकारले राजिनामा दिए र नयाँ सुरक्षा सल्लाहकार नियुक्त भए । सिनेटले सेक्रेटरी अफ द ट्रेजरीमा स्टीभ मन्चिनको नियुक्ती सदर गर्यो ।

फरबरी १४ : ट्रम्पले अमेरिकामा पीडा कम गर्न प्रयोग हुने औषधीको दुरुपयोगबारे न्युजर्सीका गभर्नर क्रिस क्रिस्टीसँग छलफल गरे । त्यसैदिन ट्रम्पले तेल, ग्यास र खानीको ब्यापारिक विकाशमा गरिएको खर्च सार्वजनिक गर्नुपर्ने एउटा कानुनमा हस्ताक्षर गरे ।

फरबरी १५ : ट्रम्प र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतेनेहुबीच ह्वाइटहाउसमा भेटवार्ता भयो । त्यसैदिन सेक्रेटरी अफ लेबरका लागि एन्डु्र पुज्डरले नाम फिर्ता लिए ।

फरबरी १६ : राष्ट्रपति ट्रम्पले ७५ मिनेट लामो पत्रकार सम्मेलन आयोजना गरे । जसमा उनले आफूले गरेका कामको प्रतिरक्षा गर्नुका साथै संचारमाध्यमहरु इमान्दार नभएको भन्दै जमेर विरोध गरे । त्यस्तै उनले आफ्नो रुससँगको सम्बन्धको पनि खण्डन गरे । त्यसैदिन आप्रवासीको महत्व दर्शाउनका लागि अमेरिकाभर आप्रवासी विनाको एक दिनको नारासहित प्रदर्शन गरियो ।

फरबरी १८ : ट्रम्पले फ्लोरिडामा एउटा र्यालीको आयोजना गरे । जसमा उनका झण्डै ९ हजार समर्थकहरु भेला भएका थिए । त्यहाँ उनले आफ्ना कामको प्रतिरक्षा गर्नुका साथै संचारमाध्यमहरुको आलोचना गरे ।

फरबरी २१ : ट्रम्प प्रशासनले अध्यागमन इन्फोर्समेन्टमा थप १५ हजार जना थप्ने घोषणा गर्यो । कागजपत्रविहिनलाई डिपोर्टेशनको प्रकृया तीब्र पार्ने उद्देश्यका साथ यस्तो घोषणा गरिएको थियो । अपराधमा संलग्न कागजपत्रविहिनलाई देशनिकाला गर्ने सन्दर्भको मेमो पनि ट्रम्प प्रशासनबाट जारी भयो ।

फरबरी २२ : ओबामा प्रशासनले तेश्रो लिंगी विद्यार्थीहरुका सन्दर्भमा ल्याएको ट्वाइलेट प्रयोगबारेको नीति ट्रम्प प्रशासनले रद्द गरिदियो । त्यसैदिन अमेरिकी विदेशमन्त्रीले अष्ट्रेलियाका विदेशमन्त्रीलाई भेटे भने अमेरिकी विदेशमन्त्री दुईदेशबीचको सम्बन्धबारे छलफल गर्न होमल्याण्ड सेक्युरिटीका सेक्रेटरीसहित मेक्सिको पुगे ।

फरबरी २३ : राष्ट्रपति ट्रम्पले विभिन्न उत्पादनकम्पनीका २४ जना सीईओहरुलाई ह्वाइटहाउसमा भेटे । त्यसै दिन ह्वाइट हाउसमा रहेका ६ जना कर्मचारीहरुले एफवीआईको पृष्ठभूमी परिक्षण उत्तिर्ण गर्न नसकेपछि हटाइएको जानकारी सार्वजनिक भयो ।

फरबरी २४ : अमेरिकी राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसको ओभल अफिसमा पेरुका राष्ट्रपतिलाई भेटे । त्यसैदिन उनले मेरिल्याण्डमा एउटा सम्मेलनलाई सम्बोधन गरे । सम्बोधनका क्रममा उनले अध्यागमन, आईसीस लगायतका विषयमा बोले भने संचारमाध्यमको विश्वसनीयताबारे पनि प्रश्न उठाए । उनले संचारमाध्यमलाई अज्ञात श्रोतहरुको प्रयोगमा सिमितता ल्याउन सुझाव दिए । त्यसैदिन न्युयोर्क टाइम्स, सीएनएन, बीबीसी लगायतका संचारमाध्यमलाई ह्वाइट हाउसको प्रेस ब्रिफमा जान प्रतिबन्ध लगाइयो ।

फरबरी २५ : राष्ट्रपति ट्रम्पले बशन्त ऋतुका बेलामा हुने ह्वाइट हाउस हेर्ने पत्रकारहरुको डिनरमा सहभागी नहुने घोषणा गरे । त्यसैदिन ट्रम्पले अफोर्डेबल केयर एक्टका बारेमा पनि छलफल गरे ।

फरबरी २७ : ट्रम्पले अमेरिकी सैन्य खर्च १० प्रतिशत बृद्धि गर्ने प्रस्ताव गरे । तर १२० जना भन्दा धेरै सेबानिबृत्त उच्च सैन्य अधिकारीहरुले ट्रम्पको यस्तो प्रस्तावको आलोचना गरे । ट्रम्प प्रशासनले संचारमाध्यम र धर्मप्रति अपनाएको रवैयाको अमेरिकी पूर्व राष्ट्रपति जर्ज बुसले आलोचना गरे ।

फरबरी २८ : सदनमा बोल्नु अगाडि ट्रम्पले समाचार वाचकको टोलीलाई भेटेर लाखौं कागजपत्रविहिन तर अपराध नगरेका आप्रवासीहरुलाई कानुनी हैसियत प्रदान गर्ने कानुन ल्याउन इच्छुक रहेको संकेत दिए । त्यसैदिन संसदमा ट्रम्पले अध्यागमन, सिमा सुरक्षा, आतंकवाद लगायतका कैयन विषयमा बोले । त्यसदिन पनि ट्रम्पले केही कानुन र कार्यकारी आदेशमा हस्ताक्षर गरे ।

मार्च १ : राष्ट्रपति ट्रम्पले मार्च महिनालाई महिलाको ऐतिहासिक महिना घोषणा गरे । त्यसैदिन डिपार्टमेन्ट अफ जस्टिसले सन् २०१६ मा महान्यायाधिवक्ता सेसनले रुसी राजदूतलाई दुईपटक भेटेको पुष्टी गरिदियो । त्यस्तै मार्च १ मा नै ट्रम्पले आफ्नो सन् २०१७ को ब्यापार नीति सम्बन्धी एजेण्डा सार्वजनिक गरे ।

मार्च ४ : मेक्सिकोले अमेरिकामा रहेका आफ्ना देशका नागरिकलाई सघाउन अमेरिकाका विभिन्न राज्यमा रहेका पचास वटा कन्सुलेट कार्यालयमा कानुनी सहयता केन्द्र खोल्यो । अमेरिकाको अध्यागमन नीतिबाट प्रभावितहरु क्यानडातिर छिरेका कारण आफूहरुले सिमा सुरक्षामा कडाई नगर्ने क्यानडाका सार्वजनिक सुरक्षा मन्त्रीले बताए ।

मार्च ६ : राष्ट्रपति ट्रम्पको यात्रा प्रतिबन्धबारेको पहिलो कार्यकारी आदेश कार्यान्वयन हुन नसकेपछि मार्च १६ देखि लागु हुने गरी पुनरावलोकन गरिएको नयाँ आदेशमा ट्रम्पले हस्ताक्षर गरे । नयाँ आदेशमा प्रभावित हुने देशको सुचीबाट इराकलाई हटाइयो भने अमेरिकाको ग्रिनकार्ड लिएका व्यक्तिलाई यात्रा प्रतिबन्धले असर नपार्ने स्पष्ट पारियो । अध्यागमन कानुन कार्यान्वयनका सन्दर्भमा त्यसैदिन ट्रम्पले निर्देशिका पनि जारी गरे ।

मार्च १० : राष्ट्रपति ट्रम्पले प्यालेष्टाइनका राष्ट्रपतिसँग फोनवार्ता गर्दै ह्वाइटहाउसमा निम्ता दिए । त्यसैदिन ओबामा प्रशासनले नियुक्त गरेका अटोर्नीहरुलाई राजिनामा दिन राष्ट्रपति ट्रम्प र महान्यायाधिवक्ता सेसनले आदेश दिए ।

मार्च १३ : राष्ट्रपति ट्रम्पले संघीय सरकारको खर्च कटौती गर्ने सम्बन्धमा एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरे । प्रेस सेक्रेटरी स्पाइसले राष्ट्रपति ट्रम्पको वायरटेपबारेको ट्वीट सम्बन्धमा स्पष्टीकरण दिए । ट्रम्पले यसका लागि ओबामा प्रशासन जिम्मेबार हुने बताएको तर ओबामा व्यक्तिगत रुपमा जिम्मेबार हुने कुरा नगरेको स्पाइसरले स्पष्ट पारे ।

मार्च १४ : एउटा अज्ञात श्रोतले अनुसन्धानमुलक पत्रकार डेभिड केलाई पठाएको ट्रम्पको ट्याक्स रिर्टन बारेको फर्म टेलिभिजन पत्रकार रसेल मेडोले सार्वजनिक गरिदिए । ह्वाइट हाउसले यसरी फर्म सार्वजनिक गरिदिनु गैरकानुनी कार्य रहेको भन्दै आलोचना गर्यो ।

मार्च १५ : यात्रा प्रतिबन्धबारे ट्रम्पको दोश्रो कार्यकारी आदेश कार्यान्वयनमा आउनु केही घण्टा अगाडि नै संघीय न्यायाधिस वाट्सनले आदेश कार्यान्वयनमा देशब्यापी अस्थायी रोक लगाउदै निरोधक आदेश जारी गरे ।

मार्च १६ : ट्रम्प प्रशासनले सन् २०१८ का लागि प्रस्तावित बजेटको ड्राफ्ट सार्वजनिक गर्यो । जसमा विवेकका आधारमा प्रयोग गरिने ग्लोबल फण्ड गत बर्षको भन्दा शुन्य दशमलव ३ प्रतिशतले घटाउने प्रस्ताव गरिएको छ । बजेटमा रक्षा खर्च बढाउने प्रस्ताव गरिएको छ भने विदेशी सहयोग कटौती गर्ने प्रस्ताव गरिएको छ ।

मार्च १७ : बेलायती खुफिया एजेन्सीले ट्रम्प टावरको वायरटेप गरेको आरोप अस्वीकार गर्यो । साथै यस्तो आरोप नदोहोराउने कुराको सुनिश्चितताका लागि ट्रम्प प्रशासनले औपचारिक रुपमा क्षमा माग्नुपर्ने समेत माग गर्यो । त्यसैदिन यात्रा प्रतिबन्धबारेको दोश्रो कार्यकारी आदेश कार्यान्वयनमा लगाइएको अस्थायी रोकबिरुद्ध ट्रम्प प्रशासनले पुनरावेदन गर्ने घोषणा गर्यो ।

मार्च २० : राष्ट्रपति ट्रम्पले रुससँग मिलिभगत गरेको भन्दै आफूमाथि लगाइएको आरोप निराधार रहेको भन्दै ट्वीट गरे । त्यसैदिन एफबीआईएका निर्देशक जेम्स कोमेले अमेरिकी चुनावमा रुसले प्रभाव पार्न खोजेकोबारे आफूहरुको अनुसन्धानले रुस र ट्रम्पको चुनावी अभियानबीचको सम्बन्ध बारे पनि समेट्ने बताए । साथै उनले ट्रम्पबिरुद्ध वायरटेप गरेकोबारे एफबीआईसँग कुनै प्रमाण नरहेको स्पष्ट पारे ।

मार्च २५ : टर्की, एजिप्ट, मोरक्को, जोर्डन, युएई, कतार, साउदी अरब र कुवेतबाट अमेरिकामा यात्रा गर्दा ह्याण्डक्यारीमा स्मार्टफोनभन्दा ठूला विद्युतीय उपकरण बोक्न नपाइने नियम कार्यान्वयन सुरु भयो । जस अन्तरगत यात्रुहरुले क्यामेरा, ल्यापटप जस्ता उपकरण लगेजबाहेक ह्याण्डक्यारीमा बोक्न नपाउने भए ।

मार्च २९ : राष्ट्रपति ट्रम्पले लागुऔषधको कुलत र औषधीको दुरुपयोगबिरुद्धको कार्यकारी आदेशमा हस्ताक्षर गरे । मार्च २९ मा नै ट्रम्पकी छोरी इभान्कालाई ट्रम्पको अवैतनिक सहयोगीका रुपमा ह्वाइटहाउसमा नियुक्त गरिएको बताइयो ।

मार्च ३० : राष्ट्रपति ट्रम्पले डेनिस प्रधानमन्त्रीलाई ह्वाइटहाउसमा भेटे । त्यसैदिन डिपार्टमेन्ट अफ जस्टिसले एक वक्तब्य जारी गर्दै यात्रा प्रतिबन्धबारे दोश्रो कार्यकारी आदेश कार्यान्वयन रोक्ने न्यायाधिसको आदेशको आलोचना गर्यो । साथै आदेश सकृय बनाउन कानुनी लडाई लड्ने बतायो ।

मार्च ३१ : विदेशी ब्यापारको दुरुपयोग रोक्ने उद्देश्यले ट्रम्पले दुईवटा कार्यकारी आदेशमा हस्ताक्षर गरे । त्यसैदिन राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति पेन्सले पूर्व विदेशमन्त्री कोन्डोलिजा राइसलाई ह्वाइटहाउसमा भेटे । यसैबीच डिपार्टमेन्ट अफ ट्रेजरीले उत्तर कोरियाबिरुद्ध नयाँ प्रतिबन्धको घोषणा गर्यो ।

अप्रिल ३ : राष्ट्रपति ट्रम्पले रुसी राष्ट्रपति पुटिनलाई फोन गरेर सेन्ट पिटर्सबर्ग मेट्रोमा भएको हमलाको निन्दा गर्दै सहयोग सन्देश दिए । त्यसैदिन ट्रम्पले ४ वटा कानुनमा हस्ताक्षर गरे, जसमध्ये एउटा इन्टरनेट प्रयोगकर्ताका इन्टरनेट प्रयोगका सन्दर्भमा भएका तथ्यहरु सेवा प्रदायकले प्रयोगकर्ताको जानकारी विना नै अर्को पक्षलाई बेच्न पाउने रहेको थियो । त्यस्तै अप्रिलमा ३ मा प्रेस सेक्रेटरी सिन स्पाइसरले ट्रम्पको पहिलो त्रैमासिक पूरै तलब ७८ हजार ३ सय ३३ डलर नेशनल पार्क सर्भिसलाई दान दिइने घोषणा गरे ।

अप्रिल ४ : सिरियामा भएको रासायनिक हतियारको आक्रमणको निन्दा गर्दै ट्रम्पले रासायनिक हतियारको नियन्त्रणमा उचित कदम नचालेको भन्दै ओबामा प्रशासनको आलोचना गरे । यो रासायनिक आक्रमणमा कम्तीमा ७४ जनाको ज्यान गयो भने ५५७ जना घाइते भए । बेलायत, अमेरिका, टर्की, फ्रान्स लगायतले आक्रमणका लागि सिरियन राष्ट्रपतिलाई दोषी ठहराएपनि सिरियाले भने रासायनिक आक्रमण नगरेको बतायो । त्यसैदिन उत्तर कोरियाले जापानी समुन्द्रमा मध्यदुरीको ब्यालेष्टिक मिसाइल प्रक्षेपण गर्यो ।

अप्रिल ५ : राष्ट्रपति ट्रम्पले राष्ट्रिय सुरक्षा परिषद्बाट स्टिभ ब्याननलाई हटाए । त्यसैदिन ट्रम्पले जोर्डनका राजा अब्दुल्लाहसँग संयुक्त पत्रकार सम्मेलन गर्दै जोर्डनबाट आतंकबादी उन्मुलन गर्न सघाउने प्रतिबद्धता जनाए ।

अप्रिल ६ : राष्ट्रपति ट्रम्पले सिरियामा अमेरिकी हमलाको आदेश दिए । रासायनिक हतियारको आक्रमणको प्रतिशोध स्वरुप अमेरिकाले मिसाइल आक्रमण गर्यो । सिरियामा युद्ध सुरु भएयता त्यहाँको बाथिस्ट सरकारी फौजमाथि अमेरिकाले हमला गरेको यो पहिलो पटक हो ।

अप्रिल ७ : राष्ट्रपति ट्रम्प र चीनका राष्ट्रपतिबीच फ्लोरिडामा दुईदेशबीचको ब्यापार र उत्तर कोरियाका सन्दर्भमा कुराकानी भयो । त्यसैदिन राष्ट्रसंघको सुरक्षा परिषदको आपतकालिन बैठकमा अमेरिकी दूत निक्की हेलले सिरियामाथि अमेरिकाले थप कारवाही गर्ने तयारी गरिरहेको चेतावनी दिइन् । उनले बसर अल असदको सरकारलाई सहयोग गरेको भन्दै इरान र रुसको पनि आलोचना गरिन् ।

अप्रिल १० : राष्ट्रपति ट्रम्पले सिरियामा भइरहेको युद्धबारे बेलायती प्रधानमन्त्री र जर्मन चान्सलरसँग कुराकानी गरे ।

अप्रिल ११ : गलत सुचनाको प्रयोगबाट रुसले सिरियामा भएको रासायनिक हतियारको लुकाउने प्रयास गरिरहेको आरोप ह्वाइट हाउसले लगायो । यसैबीच अमेरिकी विदेशमन्त्रीले रुसभ्रमणको अगाडि सिरियामा असद परिवारको शासन समाप्तीको दिशातिर गइरहेको घोषणा गरे ।

अप्रिल १२ : अमेरिकी विदेशमन्त्रीले रुसका विदेशमन्त्री सगेई लाभारोभलाई मस्कोमा भेटे । संयुक्त पत्रकारसम्मेलनमा दुई नेताले दुईदेशबीचका समझदारी र असमझदारीबारे बोले । अमेरिकी विदेशमन्त्रीले पछि रुसी राष्ट्रपति पुटिनलाई पनि भेटे ।

अप्रिल १३ : राष्ट्रपति ट्रम्पले उत्तर कोरिया समस्याका रुपमा रहेको र त्यसको पनि हेरविचार गरिने बताए । उनले चीनका राष्ट्रपतिले समस्या समाधान गर्ने विश्वास समेत व्यक्त गरे । ट्रम्पले पछि ट्वीट गर्दै यदि चीनले समस्या समाधान नगरे अमेरिका र उसका गठबन्धनले समस्या समाधान गर्ने बताए ।

अप्रिल १८ : राष्ट्रपति ट्रम्पले एचवान बी भिसाको दुरुपयोग हुनबाट रोक्न एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरे । यो कार्यकारी आदेश एचवान बी भिसाको दुरुपयोग रोक्न र अमेरिकी उत्पादनलाई बढावा दिनका लागि ल्याइएको थियो ।

अप्रिल २४ : अमेरिकाका ट्रेजरी सेक्रेटरीले सिरियाबिरुद्ध नयाँ आर्थिक नाकाबन्दीको घोषणा गरे । अप्रिल ४ मा भएको रासायनिक हतियारको हमलाको जवाफ स्वरुप यस्तो प्रतिबन्धको घोषणा गरिएको हो ।

अप्रिल २५ : राष्ट्रपति ट्रम्पले अमेरिकामा कृषि र ग्रामिण समृद्धिको प्रवद्र्धनका लागि भन्दै कार्यकारी आदेशमा हस्ताक्षर गरे । यो कार्यकारी आदेशले ग्रामिण अमेरिकाको समृद्धिका लागि नीति परिवर्तन गर्न कृषिमन्त्रीलाई निर्देशन दिन्छ । त्यसैदिन अमेरिकी डिस्ट्रिक्ट न्यायाधिस विलियम ओरिक तृतियले स्यांचुअरी सिटीलाई संघीय सहयोग नगर्ने ट्रम्पको आदशेमाथि प्रारम्भिक निषेधाज्ञा जारी गरे । ट्रम्पले पक्राउ परेका आप्रवासी कानुनी हैसियतबारे संघीय एजेन्सीसँग समन्वय नगर्ने सिटीहरुलाई सघंीय सहयोग रोक्का गर्ने आदेश जारी गरेका थिए ।

अप्रिल २६ : ट्रम्पले दुईवटा कार्यकारी आदेशमा हस्ताक्षर गरे । जुन आदेशले आन्तरिकमामलाबारेका सेक्रेटरीले प्राचिन ऐन अनुरुप सन् १९९६ यता बनेका स्मारकहरुको पुनरावलोकन गर्न आदेश दिएको छ । अर्को आदेश शिक्षा सम्बन्धि रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com