राष्ट्रपति उम्मेदवारबीचको बिहिबारको बहस रद्द, भोलि ह्वाइटहाउसको बाल्कोनीबाट ट्रम्पको सम्बोधन


प्रकाशित मिति : आश्विन २३, २०७७ शुक्रबार

अमेरिकाका राष्ट्रपति उम्मेदवार डोनाल्ड ट्रम्प र जो बाइडेनबीच आगामी बिहिबार हुने तय भएको बहस रद्द भएको छ । राष्ट्रपतीय बहस आयोगले बिहिबार उक्त बहस नहुने स्पष्ट पारेको हो । बहसको संरचनाबारे असहमति भएपछि बहस नै रद्द गरिएको हो ।

गत शुक्रबार कोरोना संक्रमण पुष्टी भएका राष्ट्रपति डोनाल्ड ट्रम्पले भोलि ह्वाइटहाउसको बाल्कोनीबाट भींडलाई सम्बोधन गर्ने भएका छन् । ट्रम्पले यसैसाताबाट सार्वजनिक कार्यक्रममा सहभागिता जनाउने भएका छन् ।

ट्रम्पले आफूले भर्चुअल बहसमा भाग नलिने बताएका थिए भने बहसको मिति सार्ने ट्रम्प पक्षको प्रस्ताव बाइडेन पक्षले अस्वीकार गरेका थिए ।

कम्प्युटर अगाडि बसेर आयोजकले जतिबेला काट्न मनलाग्यो त्यतीबेला काट्ने बहसमा आफू सहभागी नहुने ट्रम्पले घोषणा गरेका थिए । ट्रम्प पक्षले बहसहरु एकसाता पछाडि सार्न सुझाव दिएपनि बाइडेन पक्षले यस्तो सुझाव सिधै अस्वीकार गरेको थियो ।

बिहिबारको बहस फ्लोरिडामा तय भएको थियो । त्यसपछि अन्तिम बहस अक्टोबर २२ मा टेनेसीमा तय भएको छ । राष्ट्रपतीय बहस आयोगले मायामीमा हुने बहस टाउन हलजस्तो हुने र सहभागीहरुले आआफ्नो स्थानबाट सहभागिता जनाउने बताएलगत्तै ट्रम्पले यस्तो बहसमा सहभागी भएर समय बर्बाद नगर्ने बताएका थिए ।

राष्ट्रपति ट्रम्पमा कोरोना संक्रमण देखिएकाले सहभागीहरुको स्वास्थ्य र सुरक्षाका लागि भर्चुअल बहस गर्ने आयोजकले बताएका थिए । बाइडेन पक्षले भने भचुअल बहसका लागि पनि सहमति जनाएका थिए । अक्टोबर १५ र २२ को बहस अक्टोबर २२ र २९ मा सार्नेबारे छलफल भइरहेको थियो । तर बाइडेनभने सार्ने कुरामा सहमत थिएनन् ।

उम्मेदवारहरुबीच फरक फरक ठाउँबाट बहसमा भाग लिने प्रचलन नयाँ भने होइन । सन् १९६० को चर्चित बहसमा जोन अफ केनेडी र रिचर्ड निक्सनले फरकफरक ठाउँबाट भाग लिएका थिए । केनेडी न्युयोर्कमा थिए भने निक्सन लस एन्जलसमा थिए ।

अमेरिकाको राष्ट्रपति चुनाव आउन अब २५ दिनमात्र बाँकी रहँदा चुनावी सरगर्मी पनि निकै बढेको छ । बाइडेन ट्रम्पलाई देशब्यापी रुपमा ११ प्रतिशत प्वाइन्टले उछिनिरहेका छन् ।

सर्वेक्षणहरुमा बाइडेनको पक्षमा ५३ प्रतिशत र ट्रम्पको पक्षमा ४२ प्रतिशत देखिएको छ । पेन्सिलभेनियामा ८ प्वाइन्ट, विसकन्सिन र मिसिगनमा ७ प्वाइन्ट, एरिजोना र फ्लोरिडामा ३ प्वाइन्टले बाइडेन अगाडि छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com