तर्क: किशोर नेपाल: महामारीबाट अस्तब्यस्त जन जीवनमा संयम नै हो बिकल्प


प्रकाशित मिति : आश्विन ७, २०७७ बुधबार

किशोर नेपाल

– किशोर नेपाल

काठमाडौं शहर आतंकित भएकोछ । तर, मनको यो आतंक कसैलाई देखाउन चाहँदैन उ । कोभिड – १९ को आतंक बाक्लिएकोछ । सरकारले शहरलाई फुक्काफाल छाडी दिएकोछ । संयम धराशायी भएकोछ । सडकमा निर्वाध चलेका छन गाडी । रेष्टुराँहरुमा मासु पोलिदैछ । मम, चाउमीन, धराने कालो बंगुरको सेकुवा, बारा, खाजासेट ः सबै तयारछ । खाने मान्छे त्यति छैनन् । ‘टेक अवे’ र ‘होम डेलिभरी’ खूब चलेकोछ । शहरमा सुरक्षा भन्नु केही छैन । मुखमा मास्क छ । त्यो मास्कको मेडिकल भ्यालु छैन । मानिस स्यानिटाइजरले हात सुद्ध गर्दछन कि रक्सीले ? पत्तो छैन । स्यानिटाइजर नै नक्कली बनाएर बेच्नेहरुको पनि कमी छैन । सरकारले तिनीहरुलाई समातेर कारवाही शुरु गरेकोछ ।

कोरोनाले बागमती प्रदेशका २१७२७ लाई समातेकोछ । यो मंगलवारको रिपोर्ट हो । निको हुने थोरै छन् – ५३४ मात्र । मर्ने धेरै छन् १५५ । काठमाडौ उपत्यकामा ५००० बढीलाई कोभिड – १९ को संक्रमण छ । यो संख्या केलाएर गर्नु के ? काठमाडौंमा सबभन्दा ठूलो अस्पताल छ संक्रामक रोगको । त्यहाँ पीसीआर जचाउँनेको भीड लाग्छ । जाँच्नु त प्राथमिक आबश्यकता हो कोभिडको । जाँच्दै नजाँची चिकित्सकले कसरी भन्नु र के भन्नु संक्रमणको अवस्था के छ ? जे देखिएकोछ त्यसले नै सामान्य मानिसको सातो लिएकोछ । कोभिड – १९ को मारमा परेका परिवारको चिल्लीबिल्ली छ । मानिसले परस्परमा सामाजिक दूरी यति घेरै कायम राख्न थालेकोछ कि एक मानिसले अर्को मानिसलाई चिन्ने त अवस्था नै छैन ।

कोरोना ब्याधिको यो पक्ष सामान्य पृष्ठभूमिमात्रै हो । यसभित्र असामान्य पीडा छन । स्वतन्त्र, सार्वभौम देश छ । तर, जनता न भोकबाट स्वतन्त्र छन, न रोगबाट । देशको जन–जीवन यति अस्तब्यस्त भएकोछ कि कसैले पनि त्यसको पूरक चित्र कोर्न सक्दैन । यो अस्तब्यस्त जीवनको एउटा मर्मान्तक उदाहरण हो – कोभिड – १९ बाट जोगिन भारतबाट लर्को लागेर देश फर्किएका नेपाली फेरि भारततिरै लागेका छन । फर्किनेको लर्को आउनेको भन्दा पनि चर्कोछ । पीसीआर, क्वारन्टाइनको कुरा छाडिदिउँ । सीमानाबाट सुपथ आरपार हुन पाए पुग्यो । देशका नेताहरुले भारतीय हस्तक्षेपको बिरोधमा राष्ट्रवादको जतिसुकै भावुक नारा लगाएपनि गाँसको खोजीमा नेपालीहरु भारत जानै पर्दछ । त्यसलाई हाम्रो नियति नै मान्नु पर्ला । देशमा रोजगारी छैन । भएका रोजगारीका स्रोत भत्किएका छन । भारत फर्किनेहरुको लर्को पश्चिमतिर लामो छ कि पूर्वतिर ? यसै भन्न सकिन्न । लर्को दुबैतिर छ । लर्कोले शासकहरुको अभिमानमाथि चर्को ब्यंग्य कसेकोछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पश्चिम नेपालको समृध्द शहर नेपालगन्जकै कुरागरौं । भारतबाट मानसरोवर यात्रामा जाने पर्यटकका लागि सहज मार्ग हो नेपालगन्ज । मानसरोवरका लागि बिकल्पमा अरु बाटाघाटा भएपनि नेपालगन्जको बिमानस्थलले सुविधाका कारण मानिस यही बाटो रोज्दछन । यसैलाई केन्द्रमा राखेर नेपालगन्जमा दर्जनभन्दा बढी स्तरीय होटल खुलेका छन । देशको प्रतिष्ठित होटेल सोल्टीले आफनो सेवा शुरु गरि सकेको हो । तर, कोरोना महामारीका कारण यहाँको होटल व्यवसाय सबैभन्दा बढी प्रभावित भएको छ । महामारी नियन्त्रणका लागि गरिएको तालाबन्दी र निषेधाज्ञाले होटल व्यवसायमा ७ अर्ब बढीको नोक्सानी भएकोछ ।

नेपालगन्जका बरिष्ठ पत्रकार सिराज खान भन्दछन :  झण्डै छ महिना नेपालगन्जका सानाठूला गरि चार हजार होटल बन्दहुँदा व्यवसायीलाई ७ अर्ब भन्दा बढीको नोक्सानी भयो । होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भीम कँडेलले दिएका हुन यो तथ्याङ्क । तालाबन्दीले गर्दा साना ठुला सबै होटल र रेष्टुरेन्ट पूर्ण रुपमा बन्द रहेकोले पन्ध्र हजार युवा युवती बेरोजगार बनेका छन ।

यसले गर्दा सरकारलाई उपलब्ध भइरहेको ठूलो परिमाणको राजस्व गुमेकोछ । बैंक तथा वित्तिय क्षेत्रबाट भएको २० अर्ब र व्यक्तिगत हिसाबले गरिएको १० अर्बको लगानी चोकेमा परेकोछ । होटल व्यवसायी महासंघका प्रादेशिक अध्यक्ष भाष्कर काफ्लेले मानसरोवर यात्राको ट्रान्जिट प्वाइन्ट, पश्चिम नेपालको पर्यटनव्दार तथा नेपाल भ्रमण वर्षलाई लक्षित गरेर बाँकेमा ठुला ठुला होटल निर्माण भएको थियो । अहिले ती धराशायी भएका छन । धरापमा परेको होटल व्यवसायलाई माथि उठाउन सुझाव दिनेहरुको कमी छैन । तर, सुझाव कसलाई दिने ? सरकार सुझावसुन्ने मूडमा नै छैन । पहिले सरकारले कोरोनालाई ख्यालख्याल सम्झिएको थियो । औषधि उपकरणको खरीदलाई अतिरिक्त आम्दानीको स्रोत बनाएको थियो । अहिले कोरोनाको चौतर्फी असर देखिएपछि के गर्ने ? सरकारले नै ठम्याउन सकेको छैन ।

ब्यबसायीहरुले होटलहरुको घरभाडा, बिजुली र पानीको महसुलमा छूट तथा टेलिफोन इन्टरनेटमा पनि बिशेष सहुलियतको मांग गरेका छन । आन्तरिक पर्यटन प्रवध्र्दन र नेपाली पर्यटनको प्रचार–प्रसार नियमित मांग नै भयो । कोभिड – १९ नेपाल केन्द्रीत महामारी होइन । यो बिश्वब्यापि महामारी भएकाले यसको आतंक नसकिएसम्म न आन्तरिक पर्यटनको प्रवध्र्दन सम्भव छ न बैदेशिक पर्यटनको ।

कोभिड – १९ महामारीले नेपालजस्ता गरीखाने जनताको देशलाई जुन दुर्गतितिर धकेलेकोछ त्यो वर्णनातीत छ । यो महामारीबाट बिश्वको मुक्ति कहिले हुने हो ? कसैले भन्न सक्दैन । यो महामारीमा न कुनै देश र महादेशबाट सहयोगको आशागर्न सकिन्छ न आफै कुनै प्रयत्नगर्न सकिन्छ । सरकार सकेसम्म जनताको असुविधा बढाएर बिचौलियाहरुको आर्थिक लाभको लागि काम गरी रहेकोछ । यस्तोमा जनताले आफैंमा संयम धारण गर्नुको के बिकल्प छ र ?

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com