हिमाल चढ्न नेपाल आइपुग्यो बहराइनका राजकुमारको टोली
प्रकाशित मिति : भाद्र ३१, २०७७ बुधबार

हिमाल आरोहणका लागि बहराइन अधिराज्यका राजकुमार नासिर बिन हामिद अल खलीफा सहित १८ जनाको टोली काठमाडौं आइपुगेको छ । उनीहरु लोबुचे र मनास्लु हिमाल आरोहणका लागि आज काठमाडौं आइपुगेका हुन् ।
टोलीमा बहराइन रोयल गार्ड (डिफेन्स फोर्स) मा कार्यरत १५ जना समेत रहेका छन् । यस्तै अन्य २ जना रहेका छन् । बहराइनस्थित नेपाली दूतावासका अनुसार सो टोलीले लोबुचे र मनास्लु हिमालको आरोहण गर्ने उद्देश्य लिएको छ । टोली शेख इशा एयरबेसबाट विशेष विमानमा मंगलबार राति नेपालका लागि प्रस्थान गरेको थियो ।
उक्त टोलीले सगरथामा आरोहणका लागि लोबुचे र मनास्लु हिमाल आरोहणलाई पूर्वतयारीको रूपमा लिएको छ । सन् २०२१ मा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने तयारी यो टोलीको रहेको दूतावासले जनाएको छ । टोलीलाई परराष्ट्र मन्त्रालयका अधिकारीले विमानस्थलमा स्वागत गरेका छन् ।
टोलीलाई भदौ १४ गते बसेको मन्त्रिपरिषद्को बैठकले आरोहणका लागि नेपाल आउने अनुमति दिने निर्णय गरेको थियो। आरोहणमा सहभागी हुने सबै सदस्य र चालक दल १५ दिन क्वारेन्टिनमा बसेका थिए। उनीहरू सबैको पीसीआर परीक्षणको रिपोर्ट नेगटिभ आएको छ।