रहस्यमय बन्दै भक्तपुरको सिङ्गो परिवार हत्या प्रकरण


प्रकाशित मिति : भाद्र २७, २०७७ शनिबार

भक्तपुरको मध्यपुरथिमि नगरपालिका–९ निकोसेरास्थित आफ्नै निवासमा कुकुरसहित एकै परिवारका तीनजनाको हत्या घटना थप रहस्यमय बन्दै गएको छ । महानगरीय प्रहरी वृत्त थिमिदेखि करीब ७०० मिटर पर निकोसेराबाट सिन्टिटार जाने सडकमै रहेको चारतले घरमा कुकुरसहित ३६ वर्षीय सुदीप अधिकारी, ३४ वर्षीया श्रीमती सम्झना र यस वर्ष मात्रै एसइई परीक्षामा ‘ए’ ल्याएर उत्तीर्ण गरेका १५ वर्षीय छोरा सुशान्तको हत्या प्रकरण रहस्यमय बनेपछि प्रहरीले विभिन्न कोणबाट अनुसन्धान थालेको छ ।

मथिनपा–६ कुण्डोल बस्ने मृतक सुदीपका भाइ सुनिल अधिकारी शुक्रबार अपराह्न दाजुको घरमा मासु पु-याउन जाँदा दाजुका सबै परिवार मृत देखेपछि घटनाबाहिर आएको थियो । सुनिलका अनुसार घरको मूल ढोका केही खुलेको थियो । बाहिरबाटै दाजुलाई बोलाउँदा नबोलेपछि भित्र गएका थिए । भित्र जाने बित्तिकै केही गन्ध आयो । घरको मूल ढोकाको ताल्चा साँचो ढोकाभित्रको प्यासेजमा राखिएको मोटरसाइकल माथि थियो ।

भाइ सुनिल माथि जाँदा दोस्रो तलाको भ-याङको प्यासेजमा सेतो कुकुर मरिरहेको थियो । दोस्रो तलाको दाजुको कोठामा हेर्दा भाउजू सम्झना खाटको ओछ्यानमा मृत देखेपछि आत्तिँदै माथिल्लो कोठामा जादा त्यहाँ पनि भतिज सुशान्त ओछ्यानमै मृत्यु भएको देखे ।

त्यसपछि माथि जाँदा भान्छाभन्दा बाहिर कौसीमा निस्कने ढोकाको प्यासेजमा घोप्टो परेर दाजु सुदीपको पनि शव देखे । गत आइतबार सोह्रश्राद्धमा सबै परिवार भेट भएको थियो । शुक्रबार दाजुको परिवारलाई मासु पु-याउन आएका भाइ सुनिलले दाजुको परिवार सबैलाई मृत देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

घटनास्थलमा खबर पाएलगत्तै अपराह्न ५ बजे नजीकै रहेको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलको टोली पुगेको थियो । प्रहरी परिसर भक्तपुरकी प्रमुख एवं प्रहरी उपरीक्षक तारादेवी थापा भने पौने ६ बजे मात्रै घटनास्थल पुगेका थिए।

घटना भएको क्षेत्रलाई प्रहरीले अनुसन्धानका लागि आफ्नो घेरामा लिएपछि महानगरीय अपराध महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक दीपक थापाको टोली र त्यसपछि केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख सहकुल थापाको टोलीसहित फरेन्सिक ल्याबको टोलीसमेत घटनास्थल पुगेको थियो । टोलीले राति ११ बजेभन्दा पछिसम्म अनुसन्धान गरी मचुल्का उठाएर शवपरीक्षणका लागि काठमाडौँ मेडिकल कलेज दुवाकोट पठाएको थियो ।

सुदीपले श्रीमती र छोराको हत्या गरेको केही दिनपछि विष सेवनबाट आफैँले आत्महत्या गरेका हुन् कि भन्ने प्रहरीको प्रारम्भिक अनुमान छ । सम्झना र शुशान्तलाई धारिलो हतियारको प्रहारले हत्या गरिएको छ । हत्यापछि सम्झनालाई भित्तापट्टि कोल्टो राखेर माथिबाट ओढ्ने ओढाइदिएको छ भने शुशान्तको पनि टाउको र घाँटीमा धारिलो हतियार प्रयोग गरेर हत्या गरेको पाइएको छ । हत्यापछि घोप्टो बनाएर माथि पहेँलो रामनामी कपडाले छोपेको अवस्थामा सुशान्तको शव भेटिएको छ । ओछ्यानदेखि भित्तामा समेत रगतको छिटाहरु छन् । रगत सुकिसकेको र दुवै शव गलेर गन्हाउनुका साथै घाउमा किरा पर्न थालेको थियो । सुदीपको शव भने गलेको र गन्हाएको पनि थिएन भने शरीरमा कुनै बाहिरी चोटपटक पनि छैन ।

प्रहरीका अनुसार तीनवटै शव हेर्दा एकै दिन मृत्यु भएको होइन । सम्झना र सुशान्तको केही दिनअघि र सुदीपको केही दिनपछि मृत्यु भएको अनुमान प्रहरीको छ । महानगरीय प्रहरी परिसर भक्तपुरकी प्रमुख तारादेवी थापाले भने महाशाखाको टोलीले घटनास्थलको अनुगमन र अनुसन्धान गरेकाले आफूलाई यस बारेमा केही पनि थाहा नभएको प्रतिक्रिया दिइन् ।

महानगरीय अपराध महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक थापाले मृतकको शव र कुकुरको परीक्षणको रिपोर्ट आएपछि घटनाबारे थप कुरा थाहा हुने जानकारी दिइन् । उनले भनिन्, “मृतक तीन जनाकै पोष्टमार्टमको रिपोर्ट र पशु प्रयोगशालाबाट कुकुरको पनि पोष्टमार्टमको रिपोर्ट आउँछ, त्यसपछि घटनाका बारेमा थप भन्न सकिन्छ ।”

वरिष्ठ प्रहरी उपरीक्षक थापाले भनिन्, “सम्झना र सुशान्तको टाउकोमा गहिरो चोट छ । सुशान्तको शवसँगै ओछ्यानमा रगत लागेको मासु काट्ने फलामको दाप (चुप्पी) भेटिएको छ । शव गलिसकेको, गन्हाउन थालेको र घाउमा किरा पर्न थालेको छ तर सुदीपको शव गन्हाएको र गलेको छैन । सुदीपको शव नजीकै रहेको थालमा बान्ता गरेको छ । कुकुरको पनि त्यस्तै छ । भान्छामा साग र भात छ । प्रारम्भिक अनुसन्धानमा सुदीप र कुकुरको विष सेवनबाट मृत्यु भएको अनुमान छ । घरको ढोका खुलै भएकाले बाहिरी मान्छेको प्रवेश भएर हत्या भएको हो कि भन्ने आशङ्का रहे पनि घटनास्थल र अवस्था हेर्दा बाहिरको व्यक्ति प्रवेश गरेर हत्या गरेको हो भनेर यकिन गर्ने अवस्था छैन ।”

प्रहरीले सुदीपको बान्ता पनि परीक्षणका लागि प्रयोगशालामा पठाएको छ । थापाले भनिन्, “प्रहरीले अनुसन्धान जारी राखेको छ, आज बिहान पनि घटना भएको घरको बाहिर खेतमा खोजतलास गर्ने क्रममा सल्फर लेखिएको विषको दुईवटा बट्टा भेटिएको छ, थप सबुत प्रमाणको खोजी र अनुसन्धान जारी छ । विधि विज्ञान प्रयोगशालामा पठाएर अनुसन्धान भइरहेको छ ।”

घटनास्थलमा प्रहरीसहित फरेन्सिक विज्ञ टोलीसमेत खटिएको र प्रहरीले शवपरीक्षणसँगै भिसेरा परीक्षणसमेत गर्ने भएको छ । विष वा लठ्याउने अन्य कुनै औषधिको प्रयोगबाट मृत्यु भएको हो वा होइन भन्ने कुरा भिसेरा परीक्षणमार्फत पत्ता लाग्छ ।

मृतकका आफन्तले आज महानगरीय प्रहरी वृत्त थिमिमा घटनाको सत्यतथ्य छानिबिन गरी दोषीलाई कारबाही गर्न माग गर्दै जाहेरी दिएको थिमि वृत्तका प्रमुख एवं प्रहरी नायब उपरीक्षक कँडेलले जानकारी दिए । चार दिनअघि मृतकका परिवारले किराना पसल खोलेको र दिउँसोदेखि पसल बन्द रहेको जानकारी दिँदै स्थानीयवासीले निषेधाज्ञाका कारण उनीहरु बाहिर आए/नआएको याद नभएको भनाइ छ । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com