इम्बोस्डको प्रसङ्गमा भाषाको महत्व : भाषा रहे हामी रहन्छौं, हाम्रो अस्तित्व रहन्छ


प्रकाशित मिति : भाद्र २३, २०७७ मंगलबार

– डा. गोबिन्द रावत

नेपाली भाषाको कुरा गर्नु पर्दा १३१२ सालमा प्राप्त भएको ताम्रपत्रमा लेखिएको ‘…हाम्रा आलि अटली अटल करि अत्रर्‍या  छु …’ लाई अहिलेसम्मको नेपाली भाषामा उपलब्ध सर्वप्राचीन र पहिलो लेख्य नमूना मानिन्छ । यहीबाट हाम्रो लेख्या भाषाको इतिहास शुरु हुन्छ । सबैको बोलीचालीको भाषा नेपाली भएकोले आदिकवि भानुभक्तले रामायणलाई सबैले बुझुन भनेर नेपालीमा अनुवाद गरेका हुन ।

प्रारम्भदेखि नै नेपाली भाषा जनजिब्रोको भाषा रहँदै आएको छ । नेपालमा सबै जनजातिको  आआफ्नै मातृभाषा रहेको र सबैले बोलीचालीमा नेपाली भाषालाई माध्यम बनाएका छन् । नेपाली भाषा नेपालको राष्ट्रिय भाषा भएकोले सरकारी कामकाजको भाषा पनि नेपाली हुनेछ भनेर नेपालको संविधानको धारा ७ (१) मा उल्लेख गरिएको छ ।

नेपाली भाषा हामी सबैको साझा भाषा हो । नेपाली भाषाको उद्गम स्थल संस्कृत भाषा हो जसलाई अरु भाषाको माऊ भाषा पनि भनिन्छ । यसैमा हामीले गर्व गर्नु पर्छ ।

भाषाको इतिहास खोतल्यौ भने सुमेरियन भाषालाई लिखित भाषाको प्राचिन नमुना मानिन्छ र यसको समय ईपू ३३०० वर्षअगाडि हो । झण्डै लोप भईसहेको इजराईमा बोलिने हिब्रु भाषाको पनि लामो इतिहास छ । यस हिसाबले हाम्रो भाषा तेहैं शताब्दीदेखि मात्र चलनचल्तिमा आएको छ । तर पनि हाम्रो भाषा हामीलाई प्यारो लाग्छ ।

भाषा मानिसहरुका बीच संप्रेषणको माध्यम भएकोले हामी भाषा बिना समाजको कल्पनासमेत गर्न सक्दैनौं । हामी विश्वको जुन सुकै क्षेत्रमा रहे पनि भाषाकै माध्यमबाट एकअर्कालाई चिन्ने गर्छौ ।  भाषा हाम्रो प्राण हो भनेर भारतीय नेपालीहरुले भाषा आन्दोलन गरेर अन्ततः  भारत सरकारले नेपाली भाषालाई भारतीय संविधानको आठौं अनुसूचिमा राख्नै पर्यो ।

भाषा जनसरोकारको विषय हो । भाषा राष्ट्रको पहिचान पनि हो ।

भारतसँगै स्वतन्त्रता पाएको पाकिस्तानको बाङ्लाभाषीहरुको बाहुल्यता रहेको पूर्वी पाकिस्तानी सरकारले उर्दु भाषालाई राष्ट्रभाषा बनाए पछि बङ्गाली  भाषीहरु बसोबास गर्ने पूर्वी पाकिस्तान (बाङ्लादेश) को कामकाजीको भाषा बङ्गाली भाषालाई बनाउन अनुरोधबाट शुरु भएको भाषा आन्दोलनले एउटा बेग्लै इतिहास रचेको छ ।

२१ फरवरी १०५२ ई. का दिन ढाका विश्वविद्यालयको प्रङ्गणमा बङ्गाली भाषालाई मान्यता दिलाउन विश्वविद्यालयका विद्यार्थीबाट आयोजना भएको र्‍याली र आमसभामा अचानक पाकिस्तानी सैनिकले गोलीको वर्षा गर्दा धेरैनै विद्यार्थी नेताहरु मारिएका थिए भने सयौंको संख्यामा घाइते भएका थिए । यही भाषा आन्दोलनको सम्झनामा ढाका विश्वविद्यालयको प्राङ्गणमा भाषाका लागि सहीद भएकाहरुको सम्झनामा सहीद मिनार बनाइएको छ ।

त्यसपछिका दिनहरुमा २१ फरवरीलाई भाषा आन्दोलन दिवसका रुपमा मनाउँदै आएको थियो । बाङ्लादेशको स्वतन्त्राका लागि शुरु भएको अभियानमा पनि भाषा आन्दोलनले ज्वाला थप्ने काम गरेको थियो । सन् १९७१ मा बाङ्लादेश गणतन्त्र घोषणा भएपछि २१ फरवरीलाई मातृभाषा आन्दोलनका रुपमा मनाउँदै आएको थियो । जसलाई युनेस्कोको  १७ नोभेम्बर १९९९ को सभाले अन्तर्राष्ट्रिय मातृभाषा दिवस्को रुपमा घोषणा गरेपछि अरु राष्ट्रमा पनि भाषा दिवसका रुपमा मनाउने चलन शुरु भयो ।

माथि लेखिएका पृष्ठभूमि मातृभाषाको महत्व देखाउनका लागि छोटो चर्चामात्र गरिएको हो । नेपाली भाषामा पनि विभिन्न चरणमा अतिक्रमण हुने गरेको इतिहास साक्षी छ । नेपाली भाषाको एकरुपताका लागि विद्वानहरुको प्रयासमा मानक नेपाली भाषा अन्तर्राष्ट्रिय अभियानको स्थापना भएको छ ।

प्रा. डा. खगेन्द्रप्रसाद लुइटेलको अध्यक्षतामा गठन भएको मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालले नेपालमा आदिकालदेखि मोटर गाडीको नम्बरप्लेटमा नेपाली भाषामा लेख्ने चलनका विरुद्ध नेपाल सरकारबाट अङ्ग्रेजी भाषामा इम्बोस्ड नम्बर राख्ने घोषणा भएदेखि यसका विरुद्ध आन्दोलन शुरु गरेको छ । यसमा  हामी सबैको ऐक्यवद्धता चाहिन्छ ।

किनभने नेपालको सर्वोच्च अदालतका प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबरासमेतको इजालसले नेपालमा चल्ने नम्बरप्लेटमा अङ्ग्रेजीभाषामा लेखिएका इम्बोस्ड नम्बरप्लेट हुनु पर्छ भनि नेपाली भाषामा नै फैसला सुनाएका छन् ।

नेपाली भाषा नेपालको राष्ट्रिय भाषा भएकोले सरकारी कामकाजको भाषा पनि नेपाली हुनेछ भनेर सरकारले संविधानमा लेख्ने तर प्रधानन्यायधीशले अङ्ग्रेजीको पक्षमा निर्णय सुनाउनु भयो । सम्भवतः नेपालमा पहिलोपटक राष्ट्रिय भाषालाई अमान्य गरी ६८ प्रतिशतमात्र साक्षरता रहेको मुलुकमा अङ्ग्रेजीभाषानै लेखिएको नम्बरप्लेट  राख्न आदेश दिएको होला ।

इम्बोस्ड नम्बरप्लेटले अन्र्तराष्ट्रिय मान्यता पाएको हुनाले नेपालमा पनि इम्बोस्ड नम्बरप्लेट राख्नु पर्छ भन्ने तर्क राखिए तापनि यो इम्बोस्ड नम्बरप्लेट अङ्ग्रेजीभाषामा नै राख्नु पर्ने चाहिँ किन ? नेपालीमा राख्दा हुँदैन र ! सर्वत्र यसको विरोध हुँदाहुदै सर्वोच्च अदालतका फैसला हुनु पर्ने कारण बुझिएन ।

विदेशी पर्यटकलाई सजिलोका लागि गरिएको भनेर फैसला गरेको भनौं भने नेपालको राहदानी बनाउने निकाय नेपाल सरकार हो । राहदानी विदेशमा जानका लागि बनाइन्छ र राहदानीमा नेपाली र अङ्ग्रेजीदुवै भाषा प्रयोग भएको छ ।

सरकार नै भाषाको विरुद्ध जानु कति न्यायोचित हुन्छ होला ।

मलाई सम्झना छ, चालिसको दशकमा आयोजना भएको एउटा सार्क सम्मेलनमा उपस्थित पत्रकारहरुले भनेका थिए – ‘हामी भारत अर्थात हिन्दुस्तानी हौं तर हाम्रो राष्ट्रिय धर्म निर्पेक्षता छ भने हामी हिन्दको हिन्दीभाषी भएर पनि अङ्ग्रेजीलाई राष्ट्रिय भाषा बनाएर बेलायतीप्रति वफदारी गर्दैछौं । तर नेपाल सानो राष्ट्र भएर पनि विश्वको एकमात्र हिन्दु राष्ट्र हो भने यहाँका मोटरहरुमा रहेको नेपाली नम्बरप्लेटले नेपाली भाषाको गरिमा बढाएको छ ।’

उनले नेपालीहरु स्वाभिमानी रहेको बताएका थिए । यो सुनेर गर्व नगर्ने नेपाली को होलान् ? तर नेपालको सर्वोच्च निकाय । सत्यको प्रतीक भनेर चिनिने सर्वोच्च अदालतबाट असान्दर्भिक तर्कसहीत पर्यटकहरुको लागि भनेर नेपालमा रहेका मोटर गाडीहरुको नम्बरप्लेटलाई अङ्ग्रेजी भाषामा इम्बोस्ड नम्बर राख्ने फैसला सुनाएको छ ।

यो निर्णयले भाषाप्रेमी सबैलाई निराश बनाएको छ । सर्वोच्यको तर्कलाई हेर्‍यौं भने  जो कोही पनि निर्णयकहरुले अध्ययन बिनानै फैसला सुनाएको अनुमान सजिलै गर्न सक्छन् । धेरै विदेशी पर्यटकहरु नेपालमा भ्रमण गर्न आउने भएकोले भन्ने जस्तो खुकुलो तर्क एकातिर छ भने अर्कोतिर नेपाली भाषामा आउने मात्रा आकार इकार उकारलाई नेपाली इम्बोस्डका लागि अर्घोलो देखेका छन् ।

विद्वानहरुले सार्क राष्ट्रका बाङ्लादेश, म्यानमार, अफगानिस्तान आदिमा आफ्नै राष्ट्रभाषामा इम्बोस्ड नम्बर राखेको देखेका रहेन छन् । विकसित राष्ट्रमा जापान, चिन, रसियामा पनि आफ्नै राष्ट्रभाषामा लेखिएका नम्बरप्लेट भएका मोटरहरु गुडी रहेको देखिन्छ भने नेपालमा नै किन अङ्रेजीमा राख्नु पर्ने ।

आजको विज्ञानले मानिसहरुका बीचको दुरीलाई समेत अन्त्य गरिसकेको छ भने बैठकआदिका लागि सभाकक्षको सट्टा घरबाटै भर्चुयल बैठक गर्न सकिने प्रविधिको विकास भएको बेला एम्बोस्ड नम्बरप्लेट नेपाली भाषामा राख्न नमिल्ने भन्नु कतिको युक्तिसंमत होला हामी सबैले विचार गर्ने हो ।

आज नम्बरप्लेटमा अङ्रेजी एम्बोस्डको कुरा आयो । भोली विदेशी पर्यटक अल्मलियो भनेर सडकको नाम अङ्ग्रेजीमा राखिएला । पर्सी फेरी साईनबोर्ड बुझिएन भनेर अङ्ग्रेजीमा राखिएला अनि यसरी हाम्रो मौनताले गर्दा काजकाजि भाषा विदेशीले समेत बुझ्ने गरी अङ्ग्रेजी हुनु पर्छ भनेर फैसला भयो भने त्यसबेला धेरै ढिलो हुन सक्छ ।

त्यसैले आजै हामी सबै जागौँ । आआफ्नो क्षेत्र र  संघ–संस्थामार्फत यसको विरोध गरौं । नेपाली भाषा र नेपाली भाषामा लेखिने सहित्यका लागि खोलिएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरु सबै एकजुट भएर राष्ट्रिय भाषाको लागि एक्यबद्धता जनाऔं ।

गाँउ गाँउ र बस्ती बस्तीबाट मात्र हैन विश्वभरीबाट उठेर यसको विरोधमा विज्ञप्ति निकालौं ।

राष्ट्रभाषाले तपाईहामीलाई गुँहार्दै छ । आऊँ मिलेर यसको विरोध गरौं ।

भाषा रहे हामी रहन्छौं, हाम्रो अस्तित्व रहन्छ ।

डा.  रावत हाल टोरन्टोमा छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com