के गोकुल बास्कोटालाई तथ्य प्रमाणको आधारमा उन्मुक्ति पाउने छुट छैन ?


प्रकाशित मिति : भाद्र १०, २०७७ बुधबार

– राधाकृष्ण देउजा

नेपालको एक लोकप्रिय संचार माध्यममा गोकुल बास्कोटालाई उन्मुक्ति दिंदै अख्तियार भन्ने शीर्षकको समाचार पढन पाइयो ।

मलाई शीर्षक नै अलिक अनौठो लाग्यो । किनभने अख्तियारले आफ्नोमा मुद्दा परेको जोसुकैको विरुद्ध छानविन गर्छ । त्यस दौरान प्रमाण नपुगेमा उन्मुक्ति दिन्छ वा प्रमाण पुगे मुद्दा दर्ता गर्छ । र निज वा निजहरु विरुद्ध मुद्दा चलाउँछ , जुन सामान्य प्रक्रियागत कुरा हुन् ।

गोकुल बास्कोटा हुन् वा अरु कोही, उनीहरुले गल्ती गरेको पुष्टि भयो भने उनीहरु विरुद्ध कारवाही हुनुपर्छ । तर सार्वजनिक चासोको मुद्दा भयो भन्दैमा कोही कसैलाई प्रमाण नपुगे पनि कारवाही हुनुपर्छ भन्ने आसयको अभिव्यक्तिचााही किमार्थ मान्य हुँदैन ।

जहाँसम्म गोकुल बास्कोटालाई उन्मुक्ति दिने भन्ने विषयमा आएको समाचार छ त्यो तथ्य कम ज्यादा अनुमानमा आधारित देखिन्छ । रे का आधारमा समाचार लेखिएको छ ।

मानौँ, गोकुल बास्कोटालाई उन्मुक्ति दिन लागियो रे भन्ने अनुमान नै सहि भन्ने मानौं, । त्यसमा चित्त नबुझे त्यस सम्भाव्यताको विरोध पनि गरौँ । तर जे जसो भएपनि गोकुलले उन्मुक्ति पाउनु हुदैन भन्ने शैलीमा प्रस्तुत त हुन भएन नि ।

बरु विदेशी कम्पनीका नेपाली एजेन्ट रहेका व्यक्तिले आफुले भने अनुसार काम नभएको झोंकमा एजेन्ट र गोकुल बास्कोटाबीचको संवाद भन्दै सार्वजनिक गरिएको अडियो वाहेक अन्य कुनै तथ्य वा प्रमाण गोकुल बास्कोटाको खिलाफमा प्राप्त छ भने त्यो संचार माध्यमहरु ले प्रस्तुत गर्नुपर्थ्यो । स्वत प्राप्त हुन नसकेको हो भने खोजेर ल्याउनु पर्थ्यो । त्यो वाहेक केहि प्राप्त नभएको हो भने त्यो कुरा पनि प्रष्ट रुपमा राख्नुपर्थ्यो ।

जब कुनै घटनामा कोही कसैको नाम जोडियो भने जोडिएर आएको व्यक्ति र नाम जोड्ने दुवैको पृष्ठभूमि , वर्तमान र लागे वा लगाइएको आरोपमा के कति सत्यता छ भनेर खोज्ने काम पनि संचार माध्यमहरुको हो । तर गोकुल बास्कोटाको हकमा संचार माध्यमहरुले ‘सत्तरी करोड , सत्तरी करोड’ भन्ने हौवा फैल्याउने वाहेक अन्य कुरामा ध्यान दिइएको देखिएन ।

आफूमाथि आरोप लागे पछि तत्काल मन्त्री पदबाट राजिनामा दिएर गोकुल बास्कोटाले एउटा उदाहरण मात्रै प्रस्तुत गरेका थिएनन्, उनले आफ्नो बारेमा कुरा उठेको दिन भनेका थिए – ‘म बिरुद्धमा कुरा उठेको छ । गल्ति भए मैले भोग्ने हो । जेल जानु परे मै जाने हो ।’

सामान्यतया भन्दा त्यो उनको एउटा साहस नै थियो । हामीजस्ता उहाँको विगत बुझेकाहरुको निम्ती त्यो उहाँले गल्ती गर्नुभएको छैन । र त्यस्तो बोल्न सक्नुभयो भनेर मान्ने आधार थियो ।

यद्यपी उहाँका समर्थक शुभेच्छुकले के भन्छन् वा ठान्छन् भन्ने नसोचिकनै गोकुलले गरेका गल्तीहरुको खोजीनीति गरेर उनलाई कोही कसैले चाहेर छोडन नसक्ने , उन्मुक्ति दिन नमिल्ने बनाउन सक्नु पर्थ्यो । तर दुखका साथ भन्नै पर्छ त्यस्तो केही हुनसकेन ।

त्यतीमात्र होइन, गोकुल बास्कोटाले आर्थिक लालच प्रदर्शन गरेको भनेर दावी भएको कुनै सम्झौता नभएको , दावी गरेको जस्तो कुनै सम्झौता नै नभएको भन्ने गोकुलको दावी अनि आफुलाइ सम्वन्धित देशको एजेन्ट दावी गर्दै गोकुलको अडियो सार्वजनिक गर्ने व्यक्ति उनले दावी गरे अनुसारको एजेन्टनै नरहेको भन्दै सम्वन्धित देशको स्पष्टिकरण समेतको विस्तृत अध्ययन गर्ने र त्यसलाई महत्व दिने काम पनि भएको देखिएन ।

म माथी लगाइएको आरोप सहि थियो वा थिएन भनेर विद्यमान कागजपत्रसहित अन्य सवै आवश्यक अध्ययन गरिएको छैन भन्दै जोसुकैलाई निस्पक्ष छानविनको चुनौती दिंदै गोकुलले अभिव्यक्त गरेका धारणाहरुलाई चुनौती दिएर ‘ल त हेरौं के कसो रहेछ’ भन्ने साहस कसैले गरेको देखिएन ।

सम्पूर्ण घटनाक्रम हेर्दा यस्तो लाग्छ कि केही मान्छेहरुलाई कुनै तथ्य , प्रमाण , अध्ययन अनुसन्धान गर्नु नै छैन । उनीहरु ‘जे जसो होस् गोकुल दोषी हो’ भन्ने शैलीमा अगाडि बढेका छन् । तर यो चिन्तन र व्यवहार राम्रो हैन ।

तथ्य प्रमाणले गल्ति पुष्टि भयो भने गोकुललाई जेल मात्रै हैन ,कानूनले दिए फाँसीमा लड़काए पनि हुन्छ । तर अध्ययन , अनुसन्धान केही हुनु पर्दैन उनलाई जसरीपनि दोषी ठहर गरिनु पर्छ भन्न र सोही अनुसार व्यवहार गर्न मिल्दैन । त्यो किमार्थ न्यायोचित हुँदैन ।

त्यसमाथी कुनै निकायले कुनै विषयमा निर्णय गर्नु अगाडि नै अनुमानको भरमा यस्तो निर्णय हुँदैछ भनेर हौवा पिटाउने कामले कोही कसैको हित गर्दैन । बरु कहीं कतै कसैको दवाव प्रभावमा परेर सम्वन्धित निकायबाट कुनै निर्णय हुन नपाओस भनेर गरिएको सुनियोजित खेलको छनक दिन्छ ।

गोकुल बास्कोटालाई उन्मुक्ति दिँदै अख्तियार भन्दै समाचार छापेर कहीं कतै गोकुल बास्कोटालाई जे जसरि पनि समाप्त पार्नुपर्छ भनेर लागेका हुन सक्नेहरुको नजानिँदो ढंगले सेवा गरिएको त हैन भन्ने सवाल खडा हुन्छ ।

गोकुल बास्कोटा वा जो सुकै भएपनि उनीहरुलाई गल्ती अनुसारको सजाय हुनुपर्छ । तर कोही कसैलाई पनि तथ्य प्रमाणले अन्यथा प्रमाणित गर्नै पाउँदैन, आरोपकै भरमा दोषी ठहर गरिनु पर्छ भन्ने संस्कार मूर्दावाद । अनि सकारात्मक सोच भएका तमामलाइ सोध्न चाहन्छु – ‘के गोकुललाइ तथ्य प्रमाणको आधारमा उन्मुक्ति पाउने छुट छैन ?’

(यी लेखकका नीजि विचार हुन् । यससँग खसोखासको सम्पादकीय सम्बन्ध छैन ।)

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com