भ्यालीका २६ विद्यालयमा ताला !


प्रकाशित मिति : बैशाख १३, २०७४ बुधबार

संयुक्त विद्यार्थी संगठनले बुधबार केहि निजि विाद्यालयमा तालाबन्दी गर्ने भएको छ ।

सरकारको तोकेको सिलिङ र सर्वोच्च अदालतले दिएको आदेश विपरीत शुल्क बढाएका निजी विद्यालयमा तालाबन्दीको सूचीमा राजधानीका २६ विद्यालय परेका जनाईएको छ ।

विद्यार्थी नेताहरुले काठमाडौं, ललितपुर र भक्तपुरका ठूला भनिएका २६ विद्यालयको तालाबन्दी गर्नका लागि सूची तयार पारेका छन् ।
हाल नाम गोप्य राखिएका ती विद्यालयहरुको लेखा र प्रशासन शाखामा तालाबन्दी गर्ने कार्यक्रम तय गरिएको जनाईएको छ ।

तालाबन्दी गर्नका लागि भ्यालीका २६ विद्यालयको लिष्ट बनाएको र ट्रष्टमा गएका सामुदायिक बाहेक शुल्क बढाएका विद्यालयहरु नछुट्ने जनाईएको हो ।

कतिपय निजी विद्यालयले सरकारले तोकिदिएको सिलिङभन्दा बढी शुल्क लिएको भन्दै कांग्रेस, एमाले, माओवादी केन्द्र, माले, जनमोर्चा लगायत दल निकट विद्यार्थी संगठनहरुले आन्दोलन गर्दै आएका छन् ।

मंगलबार देशभरका जिल्ला शिक्षा कार्यालय अगाडि धर्ना दिएका विद्यार्थी संगठनहरुले बिहीबार प्याब्सन र एनप्याब्सनको कार्यालयमा पनि तालाबन्दी गर्ने कार्यक्रम राखेका जनाईएको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com