तेश्रो कार्यकालका लागि पनि चुनाव लड्छु : ट्रम्प


प्रकाशित मिति : भाद्र १, २०७७ सोमबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोश्रो कार्यकाल जीतेमा तेश्रो कार्यकालका लागि पनि चुनाव लड्ने बताएका छन् । सोमबार विसकन्सिनमा बोल्दै ट्रम्पले आफ्नो पहिलो चुनावी अभियानमा जासुसी भएकाले त्यसको क्षतिपूर्तिस्वरुप तेश्रो कार्यकाल पनि चुनाव लड्ने बताएका छन् ।

सन् १९४७ मा अमेरिकी संसदबाट पारित अमेरिकी संविधानको २७ औं संसोधन अनुशार एउटा व्यक्ति कुल ८ बर्षका लागि २ कार्यकालका लागिमात्र चुनिन पाउने प्रावधान रहेको छ । यो संसोधन पारित हुनुभन्दा अगाडि फ्रंयाक्लिन रुजभेल्ट चारपटक अमेरिकाका राष्ट्रपति भएका थिए ।

राष्ट्रपति ट्रम्पले आफूले आगामी ४ बर्षका लागि चुनाव जित्ने दावी गर्दै त्यसपछि तेश्रो कार्यकालका लागि पनि चुनाव लड्ने बताएका हुन् । डेमोक्रेटिक राष्ट्रिय सम्मेलन सुरु हुनुभन्दा अगाडि ट्रम्पले तेश्रो कार्यकालका लागि पनि चुनाव लड्ने बताएर ध्यान मोड्ने प्रयास गरेका छन् ।

आगामी नोभेम्बर ३ मा अमेरिकामा राष्ट्रपतिका लागि चुनाव हुँदैछ । उक्त चुनावमा ट्रम्प डेमोक्रेटिक उम्मेदबार जो बाइडेनसँग भीड्दै छन् ।

 

यसरी हुन्छ अमेरिकामा राष्ट्रपति चुनाव

अमेरिकी चुनावमा मतदान गर्न योग्य अमेरिकीहरुले इलेक्टोरल मतका लागि इलेक्टरहरु छान्नका लागि अमेरिकी इलेक्टोरल कलेजका सदस्यहरुका लागि मतदान गर्दछन् । त्यस्ता इलेक्टरहरुले पहिले नै आफूले कुन उम्मेदवारका लागि मतदान गर्ने भन्ने सार्वजनिक गरिसकेका हुन्छन् । जनताबाट छानिएका इलेक्टरहरुले राष्ट्रपति र उपराष्ट्रपतिका लागि इलेक्टोरल मतदान गर्दछन् । मतदानपछि पूर्ण बहुमतप्राप्त उम्मेदवारलाई विजेता घोषणा गरिन्छ ।

यदि राष्ट्रपतिका लागि कसैले पनि पूर्ण बहुमत प्राप्त गर्न नसकेको खण्डमा प्रतिनिधीसभाले राष्ट्रपति छान्ने र उपराष्ट्रपतिका लागि कसैले पनि पूर्ण बहुमत प्राप्त गर्न नसकेमा सिनेटले उपराष्ट्रपति छान्ने व्यवस्था रहेको छ । जम्मा ५३८ इलेक्टोरल मतमध्ये विजेता हुनका लागि कम्तीमा २७० मतको आवश्यकता पर्छ ।

५० वटा राज्य र वासिंटन डिसीबाट जनसंख्याको अनुपातको आधारमा ५३८ इलेक्टोरल मतको तय गरिएको छ । धेरैजसो अमेरिकी राज्यले प्राय एउटै दलका उम्मेदवारहरुलाई जिताउने गरेपनि फ्लोरिडा, पेन्सिलभेनिया र ओहायोको महत्व भिन्न रहेको छ । यी राज्यहरुले राष्ट्रपतीय चुनावमा आफ्नो अभिमत बदल्दै आएका छन् । तीनको निर्णयले सबै चुनावी परिणाम बदल्न सक्ने भएकाले यी तीन राज्यलाई विशेष महत्वका साथ हेर्ने गरिन्छ ।

सन् २०१२ को राष्ट्रपतीय चुनावमा बराक ओबामाले ३३२ इलेक्टोरल मत प्राप्त गरेका थिए भने मिट रोम्नीले २०६ इलेक्टोरल मत प्राप्त गरेका थिए । सन् २००८ को राष्ट्रपतीय चुनावमा भने ओबामाले ३६५ इलेक्टोरल मत प्राप्त गरेका थिए । त्यतीबेला उनका प्रतिस्पर्धी जोन म्याकनले १७३ इलेक्टोरल मत प्राप्त गरेका थिए । सन् २०१२ को चुनावसम्म आइपुग्दा ओबामाको लोकप्रियता कम भएको थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com