काम गुमाएकाहरुलाई साप्ताहिक ६ सयको सुविधा बढाउन संसदलाई ट्रम्पको आब्हान


प्रकाशित मिति : श्रावण १५, २०७७ बिहीबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोनाको महामारीका कारण काम गुमाएकाहरुलाई संघीय सरकारका तर्फबाट प्रदान गरिदै आएको अतिरिक्त साप्ताहिक ६ सय डलरको सुविधा अस्थायी रुपमा बढाउन आग्रह गरेका छन् । अप्रिलको पहिलो सातादेखि प्रदान गरिदै आएको यो रकमको म्याद सकिनै लाग्दा ट्रम्प अस्थायी रुपमा ६ सय डलरको सुविधा बढाउनुपर्ने पक्षमा देखिएका हुन् ।

ट्रम्पले कति समयका लागि यो सुविधा बढाएको आफूले चाहने भन्नेबारे केही बताएनन् । तर उनले सहमतिको गाँठो फुक्न नसक्नुका पछाडि डेमोक्र्याटहरुलाई दोष लगाए । ह्वाइट हाउसका तर्फबाट आयोजित कोरोना ब्रिफिङमा ट्रम्पले अतिरिक्त बेरोजगारी सुविधा बढाउनका लागि केही रिपब्लिकनहरुले संघर्ष गरेको भन्दै प्रशंसा समेत गरे ।

रिपब्लिकनका तर्फबाट सार्वजनिक गरिएको हिल्स एक्टमा भने अतिरिक्त ६ सय डलरको बेरोजगारी विमा सुविधा हटाइएको छ । उक्त बिलमा काम गुमाएकाहरुलाई पहिले प्राप्त गरेको ज्यालाको ७० प्रतिशतसम्म रकम क्षतिपूर्ति हुनेगरी अतिरिक्त २ सय डलरसम्म प्रदान गरिने सकिने उल्लेख गरिएको छ । डेमोक्र्याट्सहरु अतिरिक्त ६ सय डलरको सुविधा जनवरीसम्म बढाउनुपर्ने पक्षमा छन् ।

रिपब्लिकनहरुले दोश्रो चरणको १२ सय डलरको राहत चेकको व्यवस्थासहित ल्याएको हिल्स एक्ट पारित भएमा पहिलो चरणमा भन्दा धेरैले रकम प्राप्त गर्ने भएका छन् । राहत चेकका सन्दर्भमा पहिलेको केयर्स एक्टमा गरिएका व्यवस्था र हिल्स एक्टका व्यवस्थाहरु अधिकांश मिल्दोजुल्दो भएपनि केही व्यवस्था भने परिमार्जन गरिएको छ ।

अघिल्लो राहत चेक अन्तरगत १७ बर्षभन्दा कम उमेरका डिपेन्डेन्टका लागिमात्र अतिरिक्त ५ सय डलर प्राप्त हुने व्यवस्था गरिएको थियो । तर हिल्स एक्टमा १७ बर्षभन्दा माथिका डिपेन्डेन्ट हुनेहरुले पनि हरेक डिपेन्डेन्टको ५ सय डलरका दरले रकम प्राप्त गर्ने व्यवस्था गरिएको छ ।

१७ बर्षभन्दा माथिका सबै डिपेन्डेन्ट कलेज विद्यार्थीहरु पनि ५ सय डलरका लागि योग्य हुनेछन् । त्यो बाहेक अन्य बयस्कहरुपनि कसैको ट्याक्स फाइलमा डिपेन्डेन्टका रुपमा रहेको खण्डमा ५ सय डलरका लागि योग्य हुनेछन् । ड्राफ्टमा कतिजना डिपेन्डेन्टसम्मले अतिरिक्त ५ सय डलर प्राप्त गर्ने भन्नेबारे कुनै सिमाबन्दी समेत तोकिएको छैन ।

ट्याक्स फाउण्डेशनका अनुशार यो प्रावधान अनुशार विगतको तुलनामा अतिरिक्त साढे २ करोडभन्दा बढी व्यक्ति डिपेन्डेन्टका रुपमा अतिरिक्त ५ सय डलरका लागि योग्य हुनेछन् । रिपब्लिकनहरुले यो प्रावधान दोश्रो राहत चेकका सन्दर्भमामात्र लागु गर्न खोजेका छन् ।

हिल्स एक्टमा पनि सोसल सेक्युरिटी नम्बर नभएका गैर अमेरिकी नागरिकसँग विवाह गरेर संयुक्त रुपमा ट्याक्स फाइल गरेकाहरु राहत चेकका लागि योग्य हुनेछैनन् । यसअगाडिको केयर्स एक्टले पनि सोसल सेक्युरिटी नम्बर नभएका गैर अमेरिकी नागरिकसँग विवाह गरेर संयुक्त ट्याक्स फाइल गरेकाहरुलाई राहत चेक पाउनबाट वञ्चित गरेको थियो ।

हिल्स एक्टमा राहत चेक पाउनेहरुको आम्दानीको मापदण्डमा कुनै परिवर्तन गरिएको छैन । बार्षिक ७५ हजारसम्म आम्दानी भएका एकलले र बार्षिक १ लाख ५० हजारसम्म आम्दानी भएका संयुक्त ट्याक्स फाइल गरेका दम्पत्तिहरु पूरै रकमका लागि योग्य हुनेछन् । पहिलो चरणमा धेरैले बैंक एकाउन्टको विवरण आईआरएसमा बुझाइसकेकाले दोश्रो चरणको रकम छिटो र सहज ढंगले प्राप्त हुने देखिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com