लण्डनस्थित ब्रिगेडियर जनरल कुमार थापाको जिम्मेवारी रत्नबहादुर गोदारलाई


प्रकाशित मिति : श्रावण १५, २०७७ बिहीबार

लण्डनस्थित सैनिक सहचारी ब्रिगेडियर जनरल कुमार थापाको जिम्मेवारी रत्नबहादुर गोदारले लिने भएका छन्।

बिहीवार नेपाल सरकारले नेपाली सेनाका महासेनानीलाई विभिन्न मुलुकमा रहेका नेपाली राजदूतावासमा सहचारी र सैनिक सल्लाहकारमा नियुक्ति गर्ने निर्णय गरेसंगै गोदार लण्डन आउने भएका हुन् ।

सहायक रथी थापाको तीन वर्षे कार्यकाल आउँदो नोभेम्बरमा सकिंदै छ । आफ्नो कार्यकौशल र मिजासिलो स्वभावका कारण थापा बेलायतको नेपाली समुदायमा प्रिय सैनिक सहचारी मानिन्छन् ।

विशेषगरि बेलायत-नेपाल तथा दुई देशका सैनिकबीच सम्बन्ध अभिवृद्धि, सैन्य सहयोग र प्रशिक्षण आदानप्रदान, दुई देशका वरिष्ठ सैन्य अधिकारीहरुबीचको भ्रमण समन्वयमा थापाको भूमिका उल्लेख्य छ ।

ब्रिगेडियर जनरल थापाले गत बर्ष लण्डनस्थित नेपाली दूताबासमा मनाइएको सैनिक दिवसमा पहिलोपटक बेलायती रक्षामन्त्रीदेखि ब्रिटिश आर्मीका उच्च तहका सैनिक जनरल र नेपाली समुदायलाई निम्त्याएर दूताबासमा विशेष समारोह आयोजना गरेका थिए ।

नेपाली सैनिक प्रमुखको केही बर्षयता बेलायत भ्रमण नभएपनि गत फेब्रुअरीमा बेलायती आर्मी चिफको नेपाल भ्रमणमा थापाको समन्वयकारी भूमिका थियो ।

सैनिक सहचारीले सेनाको मात्र नभइ दुई देशको कूटनीति र सरकारहरुबीच सम्बन्ध निर्माणमा महत्वपूर्ण योगदान गर्न सक्ने धारणा थापाको छ । थापा विगत ३१ बर्षदेखि सैनिक सेवामा छन्।

अहिले ६ देशमा मात्र सैनिक सहचारी छन्। उनीहरुले सम्बन्धित देश र नेपालबीच सम्बन्ध प्रगाढ बनाउन र कूटनीतिमा बिशेष भूमिका खेल्ने भएकोले थप देशमा समेत विस्तार गर्नुपर्ने आवाज पनि उठ्ने गरेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com