बेलायतमा सेल्फ आइसोलेसन अवधि ७ दिनबाट बढेर १० दिन


प्रकाशित मिति : श्रावण १५, २०७७ बिहीबार

बेलायतमा कोरोना भाइरस संक्रमणका लक्षण देखिनेहरुले बस्नुपर्ने सेल्फ आइसोलेसनको अवधि लम्ब्याइएको  छ ।

अहिलेसम्म सात दिन रहंदै आएको उक्त अवधि बढाएर १० दिन पुर्याउने निर्णय बेलायत सरकारले गरेको छ ।

बिस्तारै ओरालो लाग्दै गरेको संक्रमण फेरि  फैलिन नपाओस् भनेर सेल्फ आइसोलेसनलाई थप लम्ब्याउने निर्णय गरिएको  बताइएको छ ।

बेलायत सरकारका चार जना चीफ मेडिकल अफिसरहरुले संयुक्त रुपमा नयाँ नियम सार्वजनिक गरेका छन् ।

विज्ञहरुका अनुसार कुनै पनि संक्रमित व्यक्तिमा  लक्षणहरु देखिनुपूर्व र संक्रमित भएको शुरुका केही दिनहरुमा अरुलाई सार्ने जोखिम उच्च रहन्छ । तर कतिपय केसहरुमा संक्रमण भएको ९ दिनसम्म पनि संक्रमण सार्न सक्ने खतरा पाइएको छ ।

यसअघि बेलायतले तोकेको सात दिनको सेल्फ आइसोलेसन पर्याप्त नभएको भन्दै आलोचना हुने गरेको थियो ।

विश्व स्वास्थ्य संगठनबाट १० दिनको निर्देशिका जारी हुँदा समेत बेलायतमा सात दिन नै राखिएको थियो ।

विश्वका धेरै देशहरुले भने  सेल्फ आइसोलेसनको अवधि यसअघि नै १० दिन बनाइसकेका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com