अस्ट्रेलियामा सात हजार बढी माइग्रेसन एजेन्ट, वकिलले पनि एजेन्टको काम गर्न पाउने


प्रकाशित मिति : श्रावण ७, २०७७ बुधबार

सन् २०२० को पहिलो सत्रसम्म अस्ट्रेलियाभर वैधानिक रूपमै ७ हजार २४९ माइग्रेसन एजेन्ट संचालनमा छन्। माइग्रेसन रजिष्ट्रेसन अथोरिटीमा दर्ता भएको सो संख्यामध्ये ३० प्रतिशत जति एजेन्टहरुले कानूनी सल्लाह पनि दिन पाउने छन्।पछिल्लो आप्रवासन सम्बन्धी नयाँ कानुनले वकिललाई माइग्रेसन एजेन्टको लागि छुट्टै दर्ता नगरिकन काम गर्न पाउने अधिकार प्रदत्त गरेको छ।

अस्ट्रेलियन सरकारको आप्रवास तथा सीमा सुरक्षा विभाग अन्तर्गत दर्ता भएका यी सात हजार भन्दा बढी एजेन्टलाई अफिस अफ दी माइग्रेसन रजिष्ट्रेशन अथोरीटी (ओमारा)ले प्रत्यक्ष रुपमा नियमन गर्छ।

भविष्यको सवाल रहेको शैक्षिक सेवामा बिना दर्ता अरूलाई आप्रवासन सम्बन्धी सल्लाह कानूनी रूपमा दिन मिल्दैन, यसो गरेमा कडा भन्दा कडा सजायको हकदार बन्नु पर्ने हुन्छ।

माइग्रेशन एजेन्ट खोल्नेहरुले अस्ट्रेलियाको नीति तथा नियमभित्र बसेर काम गर्नुपर्ने वाध्यता नरहेकोले पनि कतिपय अन्तर्राष्ट्रिय विध्यार्थीहरुले समस्या भोग्नुपरेको पीडित बताउँछन्। कतिपय पढ्नै नपर्ने विषय र आवश्यकता भन्दा बढी भार भिराइदिने समस्या पनि यस क्षेत्रमा देखिएको छ।

नेपालमा नर्सिङ पढेर ब्याचलर पढ्न आएकी एक विध्यार्थीलाई एक नेपाली एजेन्टले सर्टिफिकेट फर लिडिङ ब्याचलर कोर्समा पठाएको उदाहरण यसअघि नै देखिएको छ।

आइइएलटिएसमा राम्रो अंक रहेकी सो विध्यार्थी सिधै ब्याचलर पढ्न योग्य भएपनि एजेन्टले एक वर्षे सर्टिफिकेट फर लिडिङ भिराइदियो।जसका कारण आफूले एक वर्षको पढाइ, समय अनि ठूलो धनराशी खर्चनु परेको पीडित विध्यार्थीले बताइन्।

अस्ट्रेलियामा वर्क भिसामा काम गर्न पाइने भनेर बीस लाख रुपैयाँ लिइ टुरिष्ट भिसामा ल्याएर यता न उता पारेको दृष्तान्त दिँदै काठमाडौंका शिशिर केसीले यहाँ आएपछि अंग्रेजी कक्षामा भर्ना गरेर आर्थिक बोझमा फसाइदिएको तितो कहानी सुनाए। ‘नेपालमा कन्सलटेन्सी खोलेर बसेका कथित नक्कली एजेन्टको ठगीबाट बच्न जरुरी छ,’ केसीले भने।

‘ओमारामा दर्ता नगरी व्यवसाय चलाउने माइग्रेसन एजेन्टहरू सबैभन्दा डरलाग्दा हुन्छन्, शैक्षिक परामर्शको मात्र अधिकार पाएकाहरुले अघि सरेर माइग्रेशनको पनि काम हुन्छ भनेमा उनीहरुको योग्यता जाँच गर्नु जरुरी देखिन्छ’, ओपल कन्सलटेन्सीका निर्देशक तथा अध्यागमन एजेन्ट विवेक थापाले भने।

अस्ट्रेलियामा कार्यरत माइग्रेसन एजेन्ट दर्तावाल हुन कि होइनन् भनेर थाहा पाउन सबैभन्दा सजिलो र भरपर्दो उपाय भनेको ओमाराको वेबसाइट चेक गर्नु नै रहेको थापाले बताए।

अरु कोही एजेन्ट मार्फत काम गराउँछु भन्ने र आफ्नो योग्यता नभएपनि माइग्रेशनका कामहरु गर्नेहरुको बारेमा भने गम्भीर हुनु जरुरी रहेको उनको भनाइ छ। ‘यस्तो देखिएमा तुरुन्त ओमारामा उजुरी गरिहाल्नु पर्दछ’ थापाले सुझाब दिए।

पञ्जीकृत वा दर्ता भएका माइग्रेसन एजेन्टमाथि नियामक संस्था ओमाराको नजर रहिरहन्छ र उनीहरूले अस्ट्रेलियामा आचार संहिताको पालना गर्नुपर्ने हुन्छ। केही काम गर्नुअघि व्यक्ति र एजेन्टबीच करार हुनै पर्दछ।

अध्यागमन वकिलसँग सल्लाह सुझाबका लागि पनि सरकारले परामर्श फी तोकिदिएको छ। वकिलसँग ३०० डलरसम्म र कनिष्ठ एजेन्टसँग १०० डलर औसत रूपमा फी लाग्न सक्ने ओमाराको नियमनमा छ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com