एज आउट हुन लागेकालाई अमेरिकी आप्रवासी भिसामा छुट, डिभी २०२० बारे पनि थप स्पष्ट


प्रकाशित मिति : श्रावण १, २०७७ बिहीबार

अन्तत आज अमेरिकी सरकारको विदेश मन्त्रालयले डिभी लोटरी २०२० का सन्दर्भमा एक औपचारिक सुचनामार्फत नै स्पष्ट पारेको छ । आज जारी सुचनामा राष्ट्रपतिको घोषणाले डाइभर्सिटी भिसा जारी गर्नमा समेत रोक लगाएको उल्लेख गर्दै गत अप्रिल २३ सम्म भिसा जारी नभएका डिभी २०२० का आवेदकको भिसा जारी नहुने स्पष्ट पारेको छ ।

अमेरिकी विदेश मन्त्रालयले भिसाका लागि कसकसलाई छुट दिइनेछ भन्नेबारे थप स्पष्ट समेत पारेको छ । आवेदकहरु जो उनीहरुको आप्रवासी भिसा श्रेणी राष्ट्रपतिको कार्यकारी आदेश समाप्त हुनुअगाडि अर्थात् त्यसपछिको दुईहप्ताभित्र एजआउट हुने अवस्थामा छ, उनीहरुका लागि आप्रवासी भिसा जारी गरिने अमेरिकी विदेश मन्त्रालयले स्पष्ट पारेको छ । अर्थात् जसको आप्रवासी भिसा श्रेणी सन् २०२१ को जनवरी १५ अगाडि नै एजआउट हुँदैछ, उनीहरुले भिसा पाउनेछन् ।

त्यस्तै अमेरिकाको विदेश नीतिको उद्देश्य अनुरुप वा अमेरिकी सरकारको अनुरोधमा अमेरिकामा कामका लागि आउन लागेका कामदार भिसा एच र जेका निश्चित आवेदकलाई पनि भिसामा छुट दिइनेछ । कोरोना १९ सम्बन्धि कामका लागि आउन लागेकाहरुलाई कामदार भिसामा छुट दिइने अमेरिकी विदेशमन्त्रालयले जनाएको छ ।

पहिले नै फर्म स्वीकृत गरिसकिएका एच, जे, र एल भिसा आवेदकका दम्पत्ति र छोराछोरीहरुलाई पनि भिसामा छुट दिइने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । पहिले नै फर्म स्वीकृत भइसकेका अन्य निश्चित प्रकारका भिसा वाहकका दम्पत्ति र छोराछोरीहरुका लागि पनि भिसामा छुट दिइने भएको छ । तर अरु कुन कुन भिसा भन्नेबारे स्पष्ट पारिएको छैन ।

मुख्य आवेदक पहिले नै अमेरिकामा रहेकाहरुका वा अन्य सबै हिसाबले योग्य रहेका आफन्तहरुलाई एच, एल र जे श्रेणीका भिसा जारी गरिने पनि अमेरिकी विदेशमन्त्रालयको सुचनामा उल्लेख छ । तर राष्ट्रपतिको कार्यकारी आदेशको सबैभन्दा ठूलो मार भने डिभी विजेताहरुलाई पर्ने भएको छ । अन्य भिसा श्रेणीका व्यक्तिले डिसेम्बरपछि भएपनि भिसा पाउन सक्नेछन् तर डिभी २०२० का विजेताहरुले आगामी सेप्टेम्बरभित्र भिसा नपाउँदा डिभीका औचित्य समाप्त हुनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com