पोर्चुगलका नेपाली उबर व्यवसायी भन्छन्, ‘कोरोनाले उडायो व्यवसाय’


प्रकाशित मिति : असार ३१, २०७७ बुधबार

पर्वतका टिकाराम सुबेदी अहिले पोर्चुगलमा छन् । उनको आफ्नै उवर (सुविधासम्पन्न यातायातको साधनमार्फत यात्रुलाई गन्तब्यमा पुर्याउने) व्यवसाय छ । विगत दुई बर्षदेखि उनि यही व्यवसायमा रमाउँदै आएका छन् । पोर्चुगलका विभिन्न सडकहरुमा उबर चलाएर उनले सबै खर्च कटाएर आम्दानी पनि राम्रै गर्थे ।

तर अहिले विगतको जस्तो आम्दानी छैन उनको । विश्वभर फैलिएको कोभिड–१९ अर्थात कोरोना संक्रमणको कारण व्यवसाय निकै खस्केको उनि बताउँछन् । ‘विगतमा दिनभर फुर्सद नै हुँदैनथ्यो । तर अहिले हाई काढेर बस्नुको विकल्प छैन् ।’ उनले भने, ‘कोरोनाअघि दैनिक एक सय ५० देखि दुई सय यूरो कमाई हुन्थ्यो, तर अहिले ४० देखि ५० युरोमै चित्त ब्ुझाउनुपरेको छ ।’ उनले २५ हजार युरोको लगानीमा २ वटा सवारीका साथ व्यवसाय अघि बढाउँदै आएका थिए ।

पोर्चुगलमा सुवेदी मात्रै होइन धेरै नेपाली उबर व्यवसायीको समस्या उस्तै छ । कोरोना भाइरसको संक्रमण अघि मनग्य कमाएकाहरु अहिले समस्यामा छन् । तनहुँ घर भएकी विनु बस्नेत पनि सुवेदीको जस्तै समस्या सुनाउँछिन् । उनले पनि विगत एक बर्ष अघिदेखि उबर व्यवसाय सुरु गरेकी हुन् । दुई वटा सवारी किनेर व्यवसाय थालेकी बस्नेतले दैनिक कमाई विगतको तुलनामा निकै घटेको दावी गर्छिन् । ‘उबरबाट पहिले दैनिक दुई सयको हाराहारीमा कमाई हुन्थ्यो, तर अहिले अवस्था निकै गम्भिर छ ।’ उनले भनिन, ‘लगानी ३५ हजार युरोको वरिपरी छ, तर कमाई भने छैन् ।’

यस्तै बिराटनगर घर भएका संचारकर्मी समेत रहेका बासु सत्यालको पिडा पनि त्यही नै छ । उनि यस व्यवसायमा भर्खरै प्रवेश गरेका हुन् । ‘अरुको काम गर्नुभन्दा आफ्नै केही गरौं भनेर लगानी गरें ।’ उनले भने, ‘व्यवसाय सुरु हुनेबित्तिकै कोरोनाका कारण चौपट भयो ।’ सत्यालले ३२ हजार युरो लगानीका साथ नयाँ व्यवसायमा प्रवेश गरेका हुन् ।

अहिले पोर्चुगलमा करिव १५/१६ जना उबर व्यवसायी छन् । यतिखेर उनिहरु सबैको व्यवसाय चौपट छ । उनिहरु कोभिडको आतंक साम्य भएपछि व्यवसायले पुनः गति लिनेमा आशावादी छन् । यही पेशामा संलग्न दोलखाका विनोद मगर, सप्तरीका समिर आर्यष, झापाका महेन्द्र गवाजु अनि गोरखाका सूर्य थापा व्यवसाय घटेकोमा चिन्ता व्यक्त गर्छन् । ‘आफ्नो र परिवारको गाँस कटाएर अनि नपुगेको ऋण धन गरेर व्यवसायमा लगानी गरियो ।’ उनिहरु भन्छन्, ‘आफ्नो पिरमर्का कसलाई सुनाउने, कसलाई भन्ने । अब कोरोनाको संक्रमण घटेपछि व्यवसाय पुरानै बाटोमा फर्किने आशामा छौं ।’

नेपालीको आफ्नै उबर

पोर्चुगलमा रातो पासपोर्टको सपना बोकेर आएका अधिकांश नेपालीको आफ्नै व्यवसाय छ । उनिहरु सुरुमा साहुकोमा काम गरेपनि पछि आफ्नै व्यवसायमा फर्किएका ह्न् । नेपालीहरुले पोर्चुगलमा रेष्टुरेन्टदेखि बार्बरसम्मका व्यवसायमा हात हालेका छन् । तिमध्ये १५/१६ नेपाली मोबाइल एप्सबाट संचालन हुने उबर व्यवसायमा जोडिएका हुन । देख्दा सामान्य भएपनि यो व्यवसाय लगानी, जिम्मेवारी, ज्ञान अनि प्रविधीका हिसाबले निकै गाह्रो पनि छ । जोखिम भएपनि युरोपमा रहेर नेपाली यातायात व्यवसायीले पोर्चुगलका नागरिक र सरकारलाई सहयोग गरेका छन् ।

के हो उबर व्यवसाय ?

उबर व्यवसाय यातायात सेवासँग सम्बन्धित छ । र उबर थाहा नपाउने पनि सायद कमै भेटिन्छन् । यो व्यवसाय मोबाइल एप्लिकेशनमार्फत गर्न सकिन्छ । सरकारको मापदण्ड अनुसारको सवारी खरिद गरेर मोबाइल एप्लिकेशनमार्फत यो व्यवसाय गर्न सकिन्छ । सरकारले उबरलाई टिभीडिए अन्तर्गत राखेको छ । यसमा उबर, बोल्ट, क्याप्टेन र क्याबिफाइलाई समाबेश गरेको छ । गन्तब्यमा हिँडेकाहरुले मोबाइल एप्लिकेशनमार्फत लाग्ने रकम, गाडीको प्रकार र सवारी चालकको सबै जानकारी पाउन सक्छन् । पोर्चुगलमा उबर, बोल्ट लगायतका सवारी साधनको माग बढ्दो छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com