विना मगरको नेतृत्वमा मेलम्ची आयोजना पुरा, मेलम्ची खोलाको पानी सुरुङमार्गमा पथान्तर


प्रकाशित मिति : असार २१, २०७७ आईतबार

आइतबार बिहानबाट मेलम्ची खोलाको पानी आयोजनाको सुरुङ मार्गमा पथान्तर गरिएको छ । सुरुङमार्ग भरिन केही दिन लाग्ने र त्यसपछि सुरुङको अन्तिम परीक्षण हुने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै मेलम्ची खानेपानी आयोजनाका प्रमुख तिरेशप्रसाद खत्रीले सुरुङमा पानी हालिसकिएकाले केही दिनमा नै २६ किलोमिटर लामो सुरुङ भरिने र त्यसपछि सुरुङ खाली गरी फेरि पानी हालेर उपत्यकामा पानी बितरणको प्रक्रिया सुरु गरिने बताए ।

पत्रकार सम्मेलनमा बोल्दै खानेपानी मन्त्री बिना मगरले मेलम्ची आयोजना सम्पन्न गरिएको जानकारी पाउँदा आफूलाई गौरव बोध भएको बताइन । मन्त्री मगरले भनिन्, ‘मेलम्चीबारे थुप्रै आशंकाहरु थिए । आम जनतामा निराशा थियो । मेलम्ची कतै दन्त्यकथा हुने त होइन भन्ने खालका चिन्ताहरु पनि थिए । तर, हामीले चुनौतीसँग जुध्यौं । ती सबै आशंकाहरु, अन्यौलताहरु, गलत प्रचारहरु हटाएर रातदिन काममा खटिरह्यौं । आज आयोजना सम्पन्न भएको छ । यो हाम्रा लागि ऐतिहासिक उपलब्धी हो ।’

मन्त्री मगरले आयोजना सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिइन् । मन्त्री मगरले भनिन्, ‘मेलम्ची आयोजना निकै लामो समयदेखि सुरु भएको आयोजना हो । मैले मन्त्रालयको नेतृत्व सम्हालेपछि निकै मेहेनतका साथ आयोजना सम्पन्न गर्न लागिरहें । आयोजना सम्पन्न गर्ने क्रममा थुप्रै चुनौतीहरु आए, अनेकौं गलत प्रचारहरु गरिए । तर, हिम्मत नहारिकन हामी अगाडि बढ्यौं । त्यसकै प्रतिफल आजको उपलब्धी हासिल गरेका छौं । यसले हामी सबै नेपालीको शीर उच्च भएको छ ।’

पत्रकार सम्मेलनमा बोल्दै खानेपानी मन्त्रालयका सचिव माधव बेल्बासेले निकै चुनौतीपूर्ण आयोजना सम्पन्न गरिएको बताए । उनले आयोजनाको निर्माण कार्य सम्पन्न भएको र अब छिटै उद्घाटन गरेर मेलम्चीको पानी काठमाडौं उपत्यकामा बितरण गरिने जानकारी दिए।

बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको निर्माण सम्पन्न भएको छ । आइतबार मेलम्ची आयोजनाको निर्माण सम्पन्न भएकोबारे जानकारी दिन खानेपानी मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै खानेपानी मन्त्री बिना मगरले मेलम्चीको उद्घाटन छिटै गरिने जानकारी दिइन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com