लद्दाखमा पुगेका मोदीले भने- ‘विस्तारवादको युग अन्त्य भइसक्याे’


प्रकाशित मिति : असार १९, २०७७ शुक्रबार

सेना प्रमुखसहित शुक्रबार बिहान लद्दाखको लेह पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विस्तारवादको युग सकिएको बताएका छन् ।

सीमामा तैनाथ सैनिकलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भने, “१४ कोरको बहादुरी दुनियाको हरेक ठाउँमा फैलिएको छ । तपाईंहरु जुन सेवा गरिरहनुभएको छ त्यसको बराबरी विश्वमै कोही छैन ।”

उनले चीनतर्फ संकेत गर्दै भने, “अब विस्तारवादको युग सकिएको र अब नयाँ विकासको युग सुरु भइसकेको छ । इतिहास साक्षी छ कि विस्तारवादीहरु या त पराजित भएका छन् अथवा आफ्नो नीति परिवर्तन गरिसकेका छन् ।”

भारत-चीनबीच तनाव बढिरहेका बेला एकाएक उत्तरी सीमाको ११ हजार फिटमा रहेको लेह पुगेका प्रधानमन्त्री मोदीले लद्दाख भारत र भारतका एक अर्ब ३० करोड नागरिकको गर्वको प्रतीक भएको बताएका छन् ।

उनले भने, “हामी ती नागरिक हौं, जहाँ भगवान् श्रीकृष्ण बाँसुरी बजाएका थिए । हामी तीनै नागरिक हौं, जहाँ श्रीकृष्णले सुदर्शन चक्र चलाएका थिए ।”

१५ जुनमा भारत-चीनबीच लद्दाखको गलवान भ्यालीमा भएको हिंसात्मक झडपमा २० भारतीय सैनिक मारिएका थिए । उक्त भिडन्तमा मारिएका चिनियाँ सैनिकको तथ्यांक भने सार्वजनिक गरिएको छैन ।

प्रधानमन्त्री मोदीसँगै भारतीय सेना प्रमुख जनरल मनोजमुकुन्द नरवणे र सीडीएस विपिन रावतसमेत गएका थिए ।

प्रधानमन्त्री मोदीले त्यहाँ एयर फोर्स र आईटीबीसँग छलफल गरेका छन् । प्रधानमन्त्री मोदी र त्यहाँका सैनिकबीचकाे छलफलले सीमामा सैनिकको हौसला बढेको रक्षा मन्त्री राजनाथ सिंहले ट्विटरमार्फत् जनाएका छन् ।

यसअघि भारतीय रक्षामन्त्री लेह पुग्‍ने योजना थियो तर, बिहीबार उक्त योजना रद्द गरिएको थियो । शक्रबार प्रधानमन्त्री मोदी सेना प्रमुख मनोजमुकुन्द नरवणेसहित आफैं पुगेका हुन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com